कला/साहित्य

सुनसरी यात्राका स्मृतिहरू

नेपालको पर्यटकीय क्षेत्रमध्ये सुनसरी जिल्लाको विभिन्न क्षेत्र प्रसिद्घ गन्तब्य स्थलको रूपमा लिइन्छ । यस स्थानमा आन्तरिक तथा बाह्य पर्यटकहरूको लर्को नै लाग्ने गर्दछ । सुनसरीको बारेमा सञ्चार माधयममा धेरै नै सुनिन्छ । मलाई पनि त्यस भूमिमा गएर स्पर्श गर्न अति नै धोको थियो–बिद्यालय स्तरमा पढ्दादेखि नै । तर घुमफिर गर्ने अबसर जुटेको थिएन । बिद्यालयस्तर अध्यापन गर्दा वनभोजका लागि जिल्लाका विभिन्न पर्यटकीय एवम् धार्मिक स्थलसम्म पुगेका थियौ । शैक्षिक भ्रमण त केवल रातमा देखिने सपना मात्र लाग्दथ्यो ।

त्यस्तै कुरा २०५५ सालतिरको हो । नुवाकोट  आदर्श बहुमूखी क्याम्पसमा अध्यन गर्ने व्रmममा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट म सभापति पदमा निर्वाचित भएको थिए । स्वबियू निर्वाचनमा विद्यार्थी सामू गरेको प्रतिबद्घता अनुसार हामीले विद्यार्थीहरूलाई शैक्षिक भ्रमण लग्ने निर्णय ग¥यौ । नेपालको विभिन्न भूमी हँुदै दार्जलिङगसम्म नौ दिने शैक्षिक भ्रमण । खर्च जुटाउनका लागि हामीले मेहनत ग¥यौ । सहयोगी हातहरू जुट्यो ।

वि.सं. २०५६ बैशाख १३ गते बिहान ६ः०० बजे नै जम्मा भयौ हामी क्यामपसको गेटमा । रिजर्भ गरेको बसमा शैक्षिक भ्रमणको ब्यानर टाग्यौँ । ४५ जना बिद्यार्थीहरू भ्रमणमा जान सहभागी भएका थियौ । दूरिको हिसाबले नुवाकोटबाट गल्छि हुँदै जानका लागि वmम समय लाग्ने तर मोटर बाटोको असुबिधाले गर्दा काठमाडौँ भई लाग्नु पर्ने । नुवाकोट, त्रिशूलीको बाटो त हो साँघूरो, भीरैभीर कहाली लाग्दो । जम्मा ७२ कि.मी. को दूरीलाई बसको यात्रा गर्दा लाग्छ साढे–तीन घण्टा । घूमाउँरो र ठाउँठाउँमा खाल्टा खुल्टीले गर्दा उफार्ने थचार्ने । जे होस् बल्लतल्ल आइपुग्याँे काठमाडौँ । काठमाडाँै पुग्दा बिहानको १२ः ०० बजि सकेको थियो । बसपार्कको एक होटलमा खाना खाएर केही समय होटलमा आराम ग¥यौ । बसका चालकले बस स्टार्ट ग¥यो । सबैजना बसमा आ–आफ्नो सिटमा बस्यौ । सिट भन्दा यात्रुको सङ्ख्या बढी भएकोले ५÷६ वटा मुढा समेतको ब्यबस्था ग¥यौ । काठमाडौको बाटो त हो । ठाउँ ठाउँमा जामले गर्दा पट्यार लाग्ने । बस एक्कासी रोकियो । अगाडि पछाडि गाडिको लाइन । बसका खलासीले बुझें । बस र ट्याक्सी एक आपसमा ठोकिनाले विवाद भएछ । एक घण्टाको समयपछि बल्लतल्ल जाम खुल्यो ।

विद्यार्थी साथीहरूको सरसल्लाह अनुसार सुनसरी जिल्लाको विभिन्न ठाउँ घुमेर मात्र अन्यत्र जाने तय भयो । लामो बसको यात्रा पछि धरान आइपुग्यो । रातको समय बजार सुस्ताउदैं थियो । घरका झ्याल, ढोका र बत्तीहरू निम्दै थियो । गाँस र बासको समस्याले पिरल्यो । गेष्ट हाउस खोज्दै गर्दा समय घट्कियो । चार वटा गेष्ट हाउसमा बाडिएर रात बिताउने सरसल्लाह भयो । भाद्र महिनाको गर्मीले सतायो । सुत्ने कोठामा फ्यान चलाउदा पनि तातो वाफले सुत्नलाई समस्या । आँखा चिम्म गरेर भए पनि रात बिताउन विवश भयौ । बिहानी पख अपुग निद्रा र थकानका कारणले ढिलाई उठ्यौ हामी । विहान ढिलै उठेर फ्रेस भएर बिहानको नास्ता लिएर बजार घुमफिर गर्न निस्क्यौ– हामी सबै ।

धरानको  इतिहास विजयपुर राज्यसँग जोडिएको रहेछ । वि.सं. १९५८ मा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले जङ्गल फडानी गर्न लगाई बस्ती बसाल्न लगाएँ । जुन वस्तीको नाम धरान हो । इस्ट इण्डिया कम्पनीलाई काठ आपूर्ति गर्न धरान हालेर चारकोसे जङ्गल फडानी गरिएकोले यस ठाउाको नाम धरान रहन गएको हो । वि.सं.२०१७ सालमा धरान नगर पालिका घोषणा भएको हो । वि.सं २०२२ सालमा भारत सीमाको जोगवनीबाट विराटनगर हँुदै कोसी राजमार्ग बनेपछि धरानले सहरको रूप लिएको हो । बेलायत सरकारले वि.सं.२०१० सालबाट ब्रिटिस आर्मीको भर्तिकेन्द्र धरानलाई केन्द्र विन्दु बनाएका थिए । लिम्बु र राई समूदायका युवाहरू ब्रिटिस आर्मीमा बाक्लै सङ्ख्यामा भर्ति भएका छन् । धरानमा ब्रिटिस आर्मीका परिवारहरूको बसोबास बाक्लै देखिन्छ । धनकुटा, तेह्रथूम, सोलुखुम्बु भोजपुरजस्ता पहाडी जिल्लाको प्रवेशद्वार नै धरान हो । सबै जिल्लाको ब्यापारिक केन्द्र विन्दुका रूपमा धरान पर्दछ । सतीदेवीको दन्त पतन भएको स्थल धरान नै रहेको धार्मिक किवदन्ती रहेको छ । तत्कालीन राजा रणबहादुर शाह र मुखिया भीमसेन थापाले पिण्डेश्वर मन्दिरमा चढाएको घण्टाले गर्दा यस ठाउँको पुरातात्विक महत्व उच्च रहेको छ । धरान बजारको प्रमूख केन्द्र भानुभक्त चोक रहेछ । आदिकवी भानुभक्त आचार्यको उच्च सम्मान गर्दै अर्दकदको मूर्ति सडकको बीचमा स्तम्भ राखिएको छ । भानुभक्त चोकमा पार्कका साथै घण्टाघर पनि रहेको छ । पूर्व र पश्चिमबाट आएका लामा दुरिका बस यही रोक्ने गर्दो रहेछ । यसबाट धनकुटा, भेडेटार, हिले, पाख्रीबास, तेह्रथूम जाने साधन छुट्दा रहेछन् । लोकल यातायतको अब्यवस्थित पार्किङले गर्दा बजार अस्तव्यस्त देखियो ।

बिहानी समय नेपालीहरूको संस्कारै हो धर्मकर्ममा लिप्त हुने । धरानमा पाहिला राख्ने बित्तिकै प्राय सबै जना मन्दिर धाउँछन् । बुढासुब्बा मन्दिर । विजयपुरमा रहेको उक्त मन्दिर धरानबाट नजिकै अर्थात् १५ मिनेटको दूरिमा पुगिने रहेछ । किराती धर्मालम्वीहरू लागि महत्वपूर्ण मानिदो रहेछ – बुढासुब्बा मन्दिर । यो मन्दिर एक हजार वर्ष पुरानो मानिदो रहेछ । फराकिलो ठाउँमा रहेको मन्दिरको भित्र दुईवटा माटाका ढिस्काहरू रहेछ । त्यही ढिस्कालाई वुढासुव्वा र बुढी सुब्बेनीको रूपमा पूजिदो रहेछ ।  बाह्रैमास पूजापाठका लागि धर्मलम्वी धाउने मन्दिरमा बिशेष गरेर शनिवारको दिन ठूलो भीड लाग्ने गरिन्छ । मनोइच्छा पुरा गर्नका लागि भाकल गर्ने र पूरा भएपछि त्यहाँ धाउने गरिन्छ । भाकलको रूपमा कुखुराको भाले र सुँगुरको बली दिइन्छ । मन्दिरमा पूजारीको रूपमा मगर जातिको ब्यक्ति हुने चलन रहेको छ । मन्दिरको नजिकै बाँसको घारीमा धागो बाँधिने गरिन्छ । धागो बाधेमा प्रेमी प्रेमिका बीचको प्रेम सफल हुने विश्वास रहेछ । धागो बाध्नेहरूको भीड मन्दिर परिशरमा बाक्लै देखिन्थ्यो ।

पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्दा मारिएको किराती राजा बुद्घिकर्ण रायको चिहान स्थलको रूपमा मानिएको र तीनै राजा रायको संझनामा बुढासुब्बालाई लिएर मन्दिर स्थापना गरिएको हो भन्ने भनाइ सुनियो । त्यस्तै, शिव र पार्वतीलाई खेवासाङ्ग र युवा साङ्गको रूपमा किरात राजा र रानी भई शिकार गर्ने व्रmममा विजयपुर आइपुगेका थिए । धनुषहरू राखी तपस्या गरे । त्यस बेला कलियुग प्रारम्भ भई अन्तर ध्यान भएको हो । त्यस घटनालाई किरात भाषामा बुढासुब्बा भनिएको धार्मिक कथन सुनिन्छ । इतिहासकार इमानसिह चेम्जोङका भनाई अनुसार विजयपुरका राजा विजयनारायणका पालामा किरात राज्यको राजधानी थियो । विजयपुर सेन राजा विजय सेनको नामबाट राखिएको हो ।

बुढासुब्ब र उनकी बहिनी सुब्बिनी पहाडमा गुलेली र मट्ङ्ग्राले सिकार खेल्ने गर्थे । एकदिन उनीहरूले गुलेलीले कागलाई ताक्दा बाँसको टुप्पोलाई मट्याङ्ग्राले लाग्यो । त्यस दिनदेखि बाँसको टुप्पो नदेखेका र उक्त गुलेली माटोमा दबाएर बुढासुब्बा त्यही ध्यान गरे भन्ने भनाई सुनियो ।

०००

विजयपुरमा पिण्डेश्वर महादेव मन्दिरमा चहलपहल ब्यापक हुन्छ । अन्य दिनमा भन्दा साउन महिना भरी तीर्थयात्रीको भीड बाक्लै लाग्छ । पौराणिक कालमा देवता र दानव मिलि समून्द्र मन्थन गर्दा निस्केको अमृतका भरि घडालाई दानवबाट जोगाएर यस ठाउँमा लुकाई राखेको भन्ने भनाई छ । मन्दिर गुठी संस्थान अन्र्तगत सञ्चालित छ । सन्तान प्राप्तिका लागि पिण्डेश्वर महादेवको दर्शन गर्न भक्तहरू आउने गर्छन् । मन्दिरमा फूलपाती, गाईको दूध र नैबेध प्रसादको रूपमा ग्रहण गरिन्छ । महाआरतीको लागि भक्तजनहरू भारतको बनारस जाने गर्दथे तर अहिले यसै पूण्यभूमिमा नेपाली भक्तजनहरू महाआरती गर्ने गर्दछन् । साउन महिना भरि माछामासु नखाई पहेलो बस्त्रमा हजारौको सङ्ख्यामा कोशी नदीमा स्नान गरी कोशीको जल लगेर पिण्डेश्वर महादेवलाई चढाई दर्शन गर्ने गर्दछन् ।

धरानको पहिचानको रूपमा वी.पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान रहेको छ । वि.सं. २०५० मा स्थापना भई २०५५ मा विश्वविद्यालयमा परिणत भएको थियो । संसदमा वि.सं.२०४९ माघ ५ गते वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन पारित गरिएको थियो । वि.सं. २०५० फनगुज २६ मा ३५० शैयाको एक अस्पताल र ५० जनालाई स्थान दिन सकिने मेडिकल कलेज बनाउन सहमति पत्रमा नेपालको तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र भारतीय प्रधानमन्त्री चन्द्रशमशेरबीच हस्ताक्षर भएको थियो । २०५१ कार्तिक २ मा अस्पतालको शीलान्यास गरी एम.ए.बी.बी.एस कक्षा सञ्चालन गरिएको थियो । स्वशासित, स्वतन्त्र, स्वास्थ्य विश्वविधालयमा एम.बी.बी एस. कार्यव्रmम नेपाल, श्रीलङ्का र भारतका मेडिकल काउन्सिलद्वारा पूर्ण मान्यता प्रदान गरिएको रहेछ । एम.बी.बी.एस. पढ्नका लागि नेपाल बाहेक दक्षिण एसिया राष्ट्रका विद्यार्थीहरूको लागि सात वटा स्थान र दक्षिण एसिया क्षेत्र बाहिरबाट आउने मुलुकका विद्यार्थीहरूका लागि सात वटा स्थान छुट्याइदो रहेछ । नेपाली विद्यार्थीहरूका लागि बझाङ, बाजुरा, दार्चुला, डोल्पा, हुम्ला, जाजरकोट, जूम्ला, कालिकोट, मनाङ, मुगु, मूूूस्ताङ, रूकूम र सोलुखुम्बु जिल्लालाई प्राथमिकतामा राखिएको रहेछ । त्यस्तै महिलाहरूका लागि पहाडी जिल्लालाई विशेष प्राथमिकता दिईने व्यवस्था रहेछ । एम.बी.बी.एस. पढ्नका लागि तीन समूहमा विभाजन गरिएको छ । शुल्कको सवालमा तीन समूहमा निर्धारण गरिएको रहेछ । पहिलो न्यूनतम, दोस्रो आंशिक र तेस्रो पूरै शुल्क लिने व्यवस्था गरिएको रहेछ । अस्पतालमा इन्डोस्कोपी, सिग्माइडोस्कोपी, स्वचलित रक्त ग्यांस, इलेक्ट्रोलाइट एनालाइजर विधिहरू, हेमोङइलाइसिस, ट्रेडमिल स्टेट, कलरडप्लर इको, कार्डियोलजी, एन्जियोथ्रापी, अल्ट्रासोनी ग्राफी, अडियो मेट्री, इपी एसजस्ता अत्याधुनिक उपयोगी संयन्त्रहरू राखिएको छ । सेवाको विभिन्न निकायहरूको कक्ष पनि देखिन्छ । जस्तै बेहोसी सम्बन्धी पूर्व जाँच सेवा, सघन उपचार कक्ष, मुटुरोग सघन उपचार कक्ष, वाल बालिका शिशू सधन कक्ष, मात्रीसेवाका लागि मात्री सघन उपचार कक्ष, जस्ता सेवाको विस्तार गरिएको देखिन्छ । त्यस्तै, मासु परीक्षण, जनरल प्राक्टिस अटो एनालाइजर सेवा, रक्तश्राप सम्बन्धित रोगहरू एच.आइ.भी. प्रयोगशाला, आँखाका नानी प्रत्यारोपण गर्ने शल्यव्रिmया, सीटी स्क्यान, एम.आर.आइ., ब्लड बैक रक्त दान सम्बन्धी सेवा, विरामीका रगत, मूलमत्र, वीर्य खकार जस्ता प्रयोगशाल समेत ब्यवस्था गरिएको रहेछ । एशिया कै नमूना अस्पतालको रूपमा स्थापित भएको देखिन्छ ।

चतरागद्दिबाट २ कोश उत्तर पश्चिम सप्तकोशी र कोका नदी दोभानमा बराह क्षेत्र रहेको छ । यस क्षेत्रको प्रमाणित अभिलेख भेटिएको छैन । यहाँको अस्तित्व इसाको पाँचौ शताब्दी भन्दा अगाडि भएको बुझिन्छ । यस क्षेत्रमा बराह भगवान पान्त र लक्ष्मी, इन्द्रबराह, नागेश्वर बराह, कोका बराह, गुरू बराह, सूर्य बराह र बदरी मुक्तेश्वर हुन् । यीमध्ये भगवान बराह, भगवान पान्त र लक्ष्मी एकै ठाउँमा बिराजमान छन् ।

चतरागद्दी बिजयपुरबाट पाँच कोश पशिचम सप्तकोशीको किनारमा रहेको छ । यो सेन राज्यको पालामा स्थापना भएको हुन सक्ने अनुमान गरिएको छ । चतरागद्दीको बारेमा किम्वदन्ती यस्तो छ – परापूर्वकालमा एक जना सिद्घ कोशी नदीमा तपस्या गरेर बसेका थिए । पुत्र अभावका कारण एक सेन राजा बराह क्षेत्र आए । राजाले सिद्घका आश्रम तिर गए । सिद्घले आफूले आडेको कपडा एउटा कुनामा थुपारे । राजा र सिद्घ सिकारी जस्तो लागेर राजाले त्यो थुप्रो के हो भनी सोधें । एक्कासी त्यो थुप्रोमा राजाले हात लगाउन खोज्यो । सिद्घले राजाप्रति आव्रmोशित हुँदै त्यहाँ हात नलगाउ । हात लगाएमा तिमीलाई अनिष्ट आइपर्ने छ भने । अटेर गरेर कपडाको थुप्रो राजाले खोतल्यो । आखिर केही थिएन । राजालाई ज्वारो आई थरथर काम्न लाग्यो । राजा डराउँदै के आश्चर्य भयो भनेर सोधे । मलाई ज्वारो आइसकेको थियो । त्यो पछ््यौरामा औलिया ज्वरो राखेको थिए । तिमी आयौ मैले त्यो  कपडा कुनामा राखे । नछोउ भनेको मानेनौ व्यर्थमा समस्या निम्त्यो सिद्घले भने । राजाले अनुनय विनय गरे पश्चात सिद्घले ज्वरो निकालेर फ्यालिदिएँ । राजाले सिद्घको पाउ ढोगे । त्यहाँबाट राजा आफ्नो बासस्थान फर्के । राजालाई चार छोरा प्राप्ति भयो । जेठा छोरालाई लिएर राजा सिद्घकहाँ पुगे । सिद्घले राजाको जेठो छोरालाई आफूसँग राखें । माहिला विजयपुर, साहिला चौडण्डीको राजा भए र कान्छोलाई वावुको उत्तराधिकारी थाम्ने आर्शिवाद दिए । राजा प्रशन्न भई घर फर्की सिद्घको आर्शिवादले पूर्णता पायो । जेठोलाई पनि सिद्घले चतराको राजा बनाए । जेठोले विवाह गर्न र राजगद्दीमा बस्न मानेन । उनले सिद्घको पुरानो कपडा लगाई गद्दीमा राखी चलाए । तसर्थ यस राज्यको नाम औलिया वावा नामले पुजियो । राजाको जेठा छोरा विरक्तीका कारण उत्ताराधिकार चेलाको हातमा परेको कारण गद्दी मठमा परिणत भयो । बाँकी रहेको राज्य अर्थात् गोरखाका राजा पृथ्वीनारायण शाहले हात पा¥यो ।

यो मन्दिरको स्थापनाको बारेमा अन्यौलता छ । गीवार्णयुद्वविव्रmम शाहको पालामा वि.सं. १८६८ अषाढ बदि ११ रोज १ र स १८६८ अषाढ बदि ७ रोज ५ को थमौतीको ताम्रपत्रबाट थाह हुन आउछ कि यो शाहकाल भन्दा अगाडि स्थापना भएको हुन सक्छ । पिण्डेश्वर महादेवको मन्दिर नजिकै अष्टभुजा महिषर्दिनी भगवतीको मूर्ति छ । यो मूर्ति ज्यादै कलात्मक छ । मन्दिरको स्वर्ण गजुर स. १८४९ मा रणबहादुर शाहको नाम लेखिएको अभिलेख भेटिएको छ । वि.सं. २००७ सालसम्ममा यस मन्दिरमा गई पूजापाठ र दर्शन गर्ने आँट कसैको थिएन । त्यहाँ गएमा भष्म हुने अन्धविश्वास थियो । २००८ सालमा त्यो भ्रमलाई तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले तोड्ने काम गरे । त्यहाँ रहेका मूर्तिहरू १४ औ शताब्दी अर्थात सेन वंशीय कालका हुन सक्ने अनुमान गर्न सकिन्छ ।

०००

धरानबाट चतरा हुँदै ४० कि.मी. पश्चिम दक्षिण दिशामा कोशी टप्पु वन्यजन्तु आरक्षण पुगिदो रहेछ । वि.सं. २०३२ सालमा स्थापना भएको आरक्षण १७५ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । सुनसरीका साथै सप्तरी र उदयपुपर जिल्लाको भूभाग फैलिएको आरक्षण कोशी नदीको तटमा रहेको छ । यो आरक्षण नेपालको सबैभन्दा सानो हो । विश्वमा नै दुर्लभ मानिएको चराचुरूङ्गीहरू यहाँ पाइन्छ । विशेष गरेर ४०९ प्रजातीका चराहरू, २१९ को दुर्लभ अर्ना र १२÷१२ वटा दूर्लभ डल्फीन यहाँ पाइन्छ । ती दूर्लभ चराहरूमा ठूलो धनेश, स्वाम्प प्याराडाइज, फिसिङ इगल, टफटेड, सोभ लरङक केस्टेट , कान्डेर रेल किङ फिसर हुन् । नदीका तटमा र आकाशमा पानीहाँस, सारस, क¥याङकुरूङजस्ता चराहरूको बथानका बथान मोहक दृश्यले मनलाई आनन्द तुल्याउँछ । जाडो महिनामा रूसको साइबेरिया, मंगोलिया, अफगनिस्तान, तिब्बत, स्पेन, इरान, काजकस्तान आदि देशहरूबाट पनि बसाई सरेर यहाँ आउने गर्दो रहेछ । आरक्षण भित्र सिसौ, खयर, सिमल, पोर्थाजस्ता बोटविरूवा रहेकोछ । पशुको हकमा जङ्गली भैसी, हरिण, नीलगाई, मगर, गंगा आरक्षणमा भेटिन्छ । चराचुरूङी र बन्यजन्तु हेर्नका लागि बाक्लै मात्रामा विदेशी तथा स्वदेशी पर्यटकहरूको आगमन हुने गर्दछ । शैक्षिक, अध्ययन, अनुसन्धानका लागि आउने जमात पनि भेटिन्छ । आरक्षण घुम्नका लागि हात्ती सवारीको पनि व्यवस्था छ । पर्यटकहरूको सुविधाका लागि सफारी प्याकेज कार्यव्रmमको पनि सञ्चालन गरेको छ । आयोजकले नै खाना, बास र मनोरन्जन प्रबन्ध मिलाउदछ । प्रायःजसो पर्यटकहरू धरानबाट बिहान गएर बेलुकी धरान मै बास बस्न आउदो रहेछ । तमोर, अरूण, दूधकोशी, तामाकोशी, सुनकोसी, लिखु, इन्द्रावती मिसिएर सप्तकोशी नदी बनेको छ । गहिरिएर बगेको सप्तकोशी नदीमा हिडडुल गर्दा चिप्लिएर धेरै मान्छेहरूले अनाहाकमा ज्यान गुमाउनु परेको छ । कोशी नदीमा ८० प्रतिशत माछाहरू छन् । कोशी टापु बन्य जन्तु आरक्षण मूलत घासे मैदान हो । धरानबाट ३६ कि.मी. उत्तर मूलघाट भएर ¥याफिङ्गको मज्जा लिन पाइने रहेछ । ¥याफटिङको सिजन भने मंसिरदेखि बैशाख महिनासम्म रहेछ ।

धरान आसपासमा रहेको देवालयमध्ये रामधुनी मन्दिर प्रसिद्घ रहेको रहेछ । धरानदेखि ७ कि.मी. उत्तर भागमा यातायातको साधनले सजिलोसँग पुग्न सकिने रहेछ । घना जङ्गलको बीचमा रहेको मन्दिरले एक हजार बिगाहा जमिन ओगटेको छ । जङ्गलमा साल र आँपका ठू–ठूला वृक्ष देखिन्छ । ती रूख काट्न लाग्दा रगत बगेको भन्ने स्थानीय भनाई छ । रामनवमी, विवाह, पञ्चमी र बालचतुदर्शीका दिन यहाँ ठूलो मेला लाग्दो रहेछ । मेला भर्न नेपाल, भारत र भूटानका तीर्थयात्री आउने गर्दो रहेछ । मन्दिरमा धुनी समेत रहेको छ । त्रेतायुगदेखि धुनी नियमित रूपमा बाल्दै आएको बताइन्छ । त्रेतायुगमा भगवान राम बनाबास जाँदा एक रात यही बास बसी धुनी लगाएर बसेका थिए । रामले प्रयोग गरेका एकजोर खराउ, रथका पाङ्ग्रा र सीताले प्रयोग गरेको जातोलगायतको ऐतिहासिक बस्तुहरू हेर्न पाइने रहेछ । भगवान राम त्यहाँ आउदा राजकुमारी विदिन्यूलाई भेटेको भन्ने धार्मिक कथन सुनिन्छ । धुनी जगाउन साजको मूढालाई बालिदो रहेछ । बलेको खरानीलाई देवप्रसादको रूपमा तीर्थयात्रीहरू टीका लगाउदो गरिन्छ । सो धुनी निभेको खण्डमा पिण्डेश्वर मन्दिरमा रहेको अखण्ड दीपबाट प्रज्वालित गरिदो रहेछ । रामधुनी मन्दिरमा पूजा पाठ गर्ने र त्यहाँको विगुल लगाएमा मनको इच्छा पूरा हुने जनविश्वास छ । मन्दिरमा चन्द्र, शिवलिङ्ग, दुर्गा र सिंहका मूर्तिहरू छन् भने मन्दिरको उत्तर छेउँमा गोलाकारको पोखरी रहेको छ । पोखरीमा पानी कहिले नसुक्ने कथन पनि सुनियो ।

चतराधामलाई प्राचीन स्थलको रूपमा लिइन्छ । सप्तकोशी नदीको किनारामा रहेको छ । नेपालको चारधाममध्ये चतरालाई एक धामको रूपमा लिइन्छ । धरानबाट ६ कि.मी. को दूरि तय गरेपछि पुगिने चतुराधामलाई भगवान नारायणको क्षेत्र मानिन्छ धार्मिक ग्रन्थमा । पहाडको फेदीमा मुख्यत औलीया वावा मठ र जगद्गुरू पीठ गरी दूई धार्मिक स्थल मानिन्छ । औलिया वावा मठ क्षेत्रमा भैरव, शिव, काली, शिवगणेश, हनुमानका मूर्ति र मन्दिर छन् । यहाँ कार्तिक पूर्णिमामा ठूलो मेला लाग्दछ । चतराधाममा १२÷१२ वर्षमा कुम्भ मेला र ६÷६ वर्षमा अर्धकुम्भ मेला लाग्दो रहेछ । मेलामा हजारौ सङ्ख्यामा भक्तहरूको घुँइचो लाग्नेगर्छ । नेपाल र भारतबाट साधु सन्यासीहरूको बाक्लो सङ्ख्यामा आगमन हुने रहेछ । त्यस क्षेत्रमा दर्शन गर्दा भगवान नारायणको अप्रत्यक्ष रूपमा दर्शन मिलेको आभाष हुन्छ भनिन्छ । यहाँ बृद्घाश्रम, वेद विद्यालय, कुम्भ स्मारक, आयुवेदिक बिद्यालय, धर्मशाला, गौशाला, यज्ञशाला र अन्य मठ मन्दिर निर्माणको व्रmममा रहेछ । चतराधाम जङ्गल सफारी, नौकाशयरको दृष्टिले महत्व मानिन्छ । चतरालाई भारतमा रहेको प्रसिद्घ हरिद्वारसँग तुलन गरिन्छ । बराह क्षेत्र घूम्न आउने पर्यटकहरू कोशीको माछाको परिकार खान लालहित हुन्छन् । दोलालघाटबाट आउने ¥याफ्टिङको अन्तिम गन्तव्य स्थल नै चतरा हो ।

नेपालमा रहेको ८४ वटा शक्ति पिठमध्ये विजयपुरको डाँडामा रहेको दन्तकाली मन्दिर पनि एक हो । प्यागौडा शैलीको तीन तले दन्तकाली देवीलाई कालिकाको नामले पनि चिनिदो रहेछ । यस मन्दिर क्षेत्र उच्च ठाउँमा रहेको हुँदा यहाँ बाट धरान बजार, मोरङ, सुनसरी, सप्तरी, उदयपुरजस्ता जिल्लाका केही भूभाग स्पष्टसँग देखिदो रहेछ । समून्द्री सतहबाट ३४९ मिटर उचाइमा रहेको मन्दिरको वातावरण स्वच्छ सफा देखिएको हुँदा आनन्द प्राप्ति पाउनु स्वभाविकै हो । सत्ययुगमा प्रजापतिले लगाएको यज्ञमा भगवान शङ्करको निन्दा भएका कारण सतीदेवी उक्त यज्ञमा हामफाली प्राण त्याग गरिन । भगवान शङ्करले सतीदेवीको मृत शरिर काँधमा हालेर भौतारिदै हिड्दा सतीदेवीको दाँत खस्न पुगेकोले यस ठाउँमा दन्तकाली मन्दिरको स्थापना हुन गयो । सतीदेवीको दाँत आकारको प्रशस्तर राखेर पुजापाठ गरिदै छ । सत्ययुगमा भगवान शङ्करकी पत्नी सतीदेव मृत्यूपछि शक्ति पिठ उत्पन्न भएको हो । उक्त किम्वदन्ती स्वस्थानी व्रतकथामा पनि उल्लेख गरेको छ । मन्दिरमा आई देवीको दर्शन र भाकल गरेमा मनोइच्छा पुरा हुनाका साथै शक्ति र प्रभावशाली बनिरहने जनविश्वास रहेको छ । देवीलाई बलिको रूपमा बोका र रागा बलि दिइने चलन छ । तीज, स्वस्थानी पूर्णिमाका साथै शक्ति पिठ भएकाले माघ महिना भरी बिशेष मेला लाग्दो रहेछ । मेलाको बखत धर्मालम्वीहरूको भीडभाडले मन्दिर परिसरको जमीन कमी देखिन्छ । नेपालका साथै भारतबाट भक्तजनहरू यहाँ आउने गर्दो रहेछ । नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी सहितको बिशेष उपस्थितिमा हर्षउल्लास बदाइ र सलामीका साथ सप्तमीका दिन यस मन्दिरमा फुलपाति भित्र्याई दशैको शुभारम्भ गरिन्छ । विजयपुर राज्यका सेन बंशीहरूको इष्टदेबीको रूपमा लिएको रहेछ । मन्दिर सञ्चालनका लागि गुठि जग्गा पनि ब्यबस्था गरिएको रहेछ । लामो समयदेखि खनाल थरका पूजारीलाई पूजापाठ र मन्दिरको रेखदेख गर्ने जिम्मेवारी पाएका रहेछन् । गुठीबाट प्राप्त अन्नपात र मन्दिरमा भक्तजनहरूले चढाएको अन्न, भेटी पूजारीका लागि हुने रहेछ । वि.सं. १८५६ मा राजा गिर्वाणयुद्घ विव्रmम शाहले पूजारीको जिम्मा खनाल थरका व्यक्तिलाई जिम्मा लगाई एक ताम्रापत्र पनि हस्तान्तरण गरिएको बताइन्छ ।

झरनालाई प्रवृmतिको उपहारको रूपमा लिइन्छ । जलको स्रोत नै झरना मानिन्छ । धरानमा पानीको अभाव छ । नजिकमा पानीको स्रोतहरू छैनन् । काकाकुल अबस्था गुज्रिएको धरानबाट चार कि.मी.को दूरिमा पानी छ्यालफाल नै छ । शिवजट्टा झरना । बाह्रै महिना छङछङ बगेर बगिरहेको छ । यहाँ रहेको ठूलो खोला सेउतीको शिर नै शिवजट्टा हो । धरानबाट त्यस ठाउँमा जानका लागि कच्ची बाटो रहेको छ । चारपाङ्ग्रे सानो गाडी र मोटरसाइकलबाट सेउती खोलासम्म पुगिन्छ भने त्यहाँ बाट १० मिनेटको पैदल यात्रा तय गरे पछि पुगिन्छ–शिव जट्टा झरना । पैदल हिड्दा बाटो अप्ठ्यारो भएको हुँदा सावधानी अपनाउनु पर्ने देखिन्छ । यस झरनाको धार्मिक किंवदन्ती भगवान शिवसँग जोडिएको कथा रहेछ । भगवान शिवले सतीदेवीको शव बोकेर भौतारिदै हिड्दा सडेर गलेर शवको सबै अङ्ग पतन भयो । शिवजीलाई होस् खुल्दा आफ्नो शरिरमा फोहर भई गनाएको हुँदा त्यसै झरना नुहाए । नु्वाउने क्रममा शिवजीको जट्टा झरेकोले झरनाको नाम नै शिवजट्टा रहन गएको भनाई छ । झरनाको पानी जमेर सानो पोखरी जस्तो बनेको छ । त्यसलाई शिवपार्वती कुण्ड भनिदो रहेछ । अझ पृथ्वी तालमा झर्न लाग्दा गंगाको बेगलाई भगवान शिवको जट्टाले अडाएर राखेको ठाउँको रूपमा लिइदो रहेछ । तसर्थ, काठमाडौँको पशुपति र सुनसरी कै बराह क्षेत्र जतिकै महत्वपूर्ण पूण्य भूमिको रूपमा शिवजट्टा भूमिलाई मानिदै आएको छ । झरना अवलोकन र नुवाउनका लागि नेपाल र भारतबाट मान्छेहरू आउने व्रmम बढेको देखिन्छ । झरनामा नुवाएपछि शरिरमा रहेको रोगहरू निको हुने भनाई छ । झर्नाको नजिक शिवालय मन्दिर रहेको छ । शिवरात्रीको दिन भारतीय सन्यासीहरू आई धुनी जगाएर महिनौ महिना दिनसम्म बस्ने पनि गर्दो रहेछ ।

धार्मिक पुण्य भूमी बराहक्षेत्रमा सूर्यकुण्ड रहेको छ । चतरा र धरानको मङगबारे हुँदै पुगिन्छ । ऐतिहासिक , धार्मिक र सास्कृतिक महत्व बोकेको सूर्यकुण्डमा आवश्यक पूर्वाधारका कार्यव्रmमहरू हुन नसक्नाले ओझेलमा परेको छ । कुण्डका पानी शान्त देखिन्छ ।  पानीका मूलहरू देखिदैन । कुण्डका नजिकै बोट बिरूवाहरू प्रशस्तै देखिन्छ । ती बोटविरूवाहरू तत्कालीन प्रधानमन्त्री जङ्गबहाखुर राणाको अग्रसरतामा रोप्ने काम भएको जानकारी प्राप्त भयो । भूगोलको हिसाबले कष्टकर रहेको हुँदा त्यहाँ कमै मात्रमा मान्छेहरू पुगिने रहेछ । यसै कारणले यहाँ केबलकार सञ्चालन गर्ने कुरा उठान भएको हल्ला समेत सुनियो । सूर्यकुण्डको उत्पत्ति बारे यस्तो धार्मिक कथन रहेछ– “प्रजापति र दीतिका छोरा दैत्य हिरण्याक्षले व्राम्हण्डमा अत्याचार पु¥याई पृथ्वीलाई रसातलमा पु¥याएँ । भगवान बिष्णुले बराहको अबतार लिएर पृथ्वी घुम्ने व्रmममा पहिलो पटक सूर्यले बराहको दर्शन गरेको हुनाले नै यस कुण्डको नाम सूर्यकुण्ड रहन गयो ।” पौराणिक कथन अनुसार सूर्यकुण्ड गाउँमा रानीले गाईको दूध माग्दा गाउँलेले नदिएको हुँदा रिसले चुर भएका रानीले श्राप दिएकाले गाउँ भरि नै गाइले दूध कम दिने गरेको स्थानीय भनाई छ । सूर्यकुण्डमा एकरात स्नान गरी जाग्राम बसेमा त्यस व्यक्तिले स्वर्गलोक प्राप्त गर्ने विश्वास छ । व्रम्ह पूराणमा वर्णन गरिएको कुषजाम्र नामक तीर्थ कोकाखोलाको फाँटमा पर्दछ । यो फाँट सूर्यकुण्ड नजिक पर्दछ । सूर्यकुण्डको आसपासमा किराती राई जातिको बाक्लो बसोबास रहेको छ । सूर्यकुण्डको नजिकको गाउलाई सूर्यकुण्ड गाउले पनि चिनिन्छ ।  यस जातिको मौलिक पहिचानले पर्यटकहरूलाई अध्ययन अबलोकन गर्न सकिने देखिन्छ । किराती राई जातिको उधौली र उभौंंली पर्व प्रमूख चाड हो । यस चाडमा सूर्यकुण्डमा हुलका हुल किराती राईहरू जम्मा हुन्छन् ।  बसन्त ऋतुमा बालीनाली राम्रो होस्, दैवीप्रकोप तथा विपत्ति नआओस्, सबैलाई सुख शान्ति मिलोस भनी प्रवृmतिको पूजापाठ गरी नाचगान गरिदो रहेछ । यो नाच नाच्दा आफ्नै पहिरनमा नाचिन्छ । नाचमा सहभागी पूरूषले कालो कोट, दौरासुरूवात, बुकी फूल सिउरने, खुकुरी कम्मरमा भिर्ने, नेपाली टोपी लगाउने गर्छन् भने महिलाहरूले चौबन्दी चोली, फरिया, पटुका र शरिरका विभिन्न अङ्गमा पहेलाम्मे गरगहना लगाउछन् । नाच्दा गोलाकार भएर नाच्छन् । यो नाच एक महिनासम्म चल्दो रहेछ । त्यस्तै, उधौली मंसिर महिनामा मनाउदो रहेछ । यस चाडलाई साकेवा, साकेन्वा, साखेल, तोष, तोसी आदि नामले पनि चिनिदो रहेछ । यो पर्व अन्नवाली भित्र्याउँदा मनाइने गरिदो रहेछ । नाँचगान गर्दा बच्चादेखि बृद्घ अवस्थाका व्यक्तिहरूले सहभागिता जनाउन । जीवजन्तुको हाउभाउ गरी ढोल तथा झ्याम्टा बजाउदै नाचगान गरिन्छ । यो पर्व पन्ध्र दिनसम्म मनाइन्छ । यस चाडमा साथीभाइ आफन्तजनहरूलाई घरमा डाकि बिभिन्न परिकार खुवाउने  चलन रहेछ । उभौली चाडलाई भेट घाट र मेलमिलापको अवसरको रूपमा लिइन्छ ।

साकेला नाचको बारेमा पौराणिक कथन यस्तो रहेछ–स्वर्गका पारूहाङ र धर्तीका सुम्निमा बीच माया प्रेम बस्न गई विवाह गरे । पारूहाङ काम बिशेषले सुम्निामादेखि टाढा भए । कुनै दिन दूबै भेटघाट हुँदा सूम्निमाले लामो समय भेटघाट नभएको दुःखेसो पोखे । पारूहनङले ढाट्न खोजे । सुम्निमाको मायालु व्यवहारले गर्दा सत्यकुरा बताउन पारूहाङ बाध्य भए । सत्य कुरा बताएको हुँदा सुम्निमा खुशी भई नाच्न थाले । यसैबेला देखि साकेला नाच्ने चलन शुरू भएको भन्ने भनाई रहेको रहेछ ।

धरानबजार घुमफिर गरी त्यसरात त्यही बस्यौ योजना अनुसार भोलिका बिहान १० बजे खाना खाएर हामी जम्मा भयौ । भानुचोकमा यात्रालाई तन्कायो । धरानबाट उक्लदा नागबेली आकारको बाटो हुँदै १६ कि.मी. दूरीमा पुगिदो रहेछ भेडेटार । बसको यात्रामा नागबेली आकारको बाटोमा अघि बढ्दा सिटमा अडिन पनि गाह«ो । कहिले दाँया, कहिले बाँया शरिर घुम्ने । नागबेली आकारको बाटो देख्दा मेरो मनमा झझल्को आयो रसुवा जिल्लाको स्याप्रुबेशीबाट गत्लाङ जाने घूमाउरो बाटो । भेडेटार उक्लदा र स्याप्रुबेशीको ठाडो बाटो उक्लदाको परिबेश मिल्दो जुल्दो लाग्यो ।

भेडेटारको भौगोलिक बनावट हेर्ने हो भने यो उच्च भागमा रहेको रहेछ । समून्द्री सतहबाट १४२० मिटरको उचाइमा रहेको यहाँ छिनछिनमा मौसम परिवर्तनको दृश्य रमाइलो लाग्दो रहेछ । भाद्र महिनाको गर्मी मौसम पनि बादलको घूम्टोले छोप्दा शीतल अनुभूति हुँदो रहेछ । नेपालको बढी बर्षा हुने ठाउँ पोखरा हो भने दोस्रो भेडेटार ।

प्रत्येक वर्षको नयाँ वर्षका साथै शनिवारका दिन पर्यटकहरू पुग्ने गर्दो रहेछ– भेडेटारमा । यहाँ आन्तरिक पर्यटक धरान, इनरूवा, इलाम, विराटनगर, दमक, इटहरी, काँकडभित्ता, विर्तामोडजस्ता ठाउबाट र बाह्य पर्यटकहरू भारतको दार्जलिङ, सिक्किम, कालिम्पोङ, बिहारका साथै अमेरिका, जर्मनी, फ्रान्स, बेलायत, जापान आदि देशहरूबाट आउने गर्दो रहेछ । बाह्य पर्यटकहरूमा ५० प्रतिशत चाहिँ भारतीय नागरिक हुँदो रहेछ । पर्यटकहरूको सुविधाका लागि पर्याप्त मात्रामा सुविधाजनक होटलहरू पनि रहेछ । अहिले त भेडेटार बजारमा सुविधा जनक होटेलहरूको ब्यवस्था गरेको देखिन्छ । यहाँका बासिन्दाहरूको प्रमूख आम्दानीको स्रोत भनेको नै होटल व्यवसाय रहेछ ।

भेडेटार बस्तीमा तामाङ, राई, लिम्बु, गुरूङ, ब्राम्हण्ड, क्षेत्री र दमाई आदि जनजातिहरूका पर्व अनुसार विभिन्न रीतिरिवाज झल्कने गीत गाउदै नाच्ने चलन रहेको हुँदा स्वदेशका साथै विदेशी पर्यटकहरूको पनि आगमन हुने गरेको रहेछ । बिशेष गरेर यहाँ लाग्ने नाचहरू राईहरूको चण्डी नाच, लिम्बूहरूको धान नाच र मगरहरूको हुरी नाच छन् । आ–आफ्नै पहिरनमा युवा युवतीहरू सजिएर नाच्ने भेडेटार बजार मोटर बाटोको दाया बायाँतर्फ बाक्लै घरबस्ती रहेको छ । बजार हातामा यातायातको पार्किङ व्यवस्था पनि सुविधा जनक देखिन्छ । बजारका होटेलहरूमा खाना नास्ता खान विदेशी र स्वदेशी पर्यटकहरूको बाक्लै उपस्थिति देखिन्छ । जाडो भएका कारणले स्थानीय परिकार तोम्बा, जाडको निगार वा कोदोको लोकल रक्सीको स्वाद लिनेको संङ्ख्या बाक्लो देखिन्छ ।

आन्तरिक र बाह्य पर्यटकहरूको आगमन बृद्घि गर्ने उद्देश्यले भेडेटार डाडाँमा पर्यटन मन्त्रालय र स्थानीय निकायको संयूक्त पहलमा चार तलाको ३० फिट अग्लो भ्यूटावर निर्माण गरिएको छ । टावर चढ्नका लागि स्वदेशी र विदेशी पर्यटकहरूका लागि छुट्टा छुट्टै शुल्क लिने गरिन्छ ।

वि.सं. २०४० सालमा बेलायतका युवराज चाल्र्स धरान–धनुकुटा राजमार्गको निरीक्षण गर्ने सिलसिलामा हाल निर्माण गरिएको टावर (डाँडा) चढ्नु भएको रहेछ । तसर्थ उक्त डाँडाको नाम चाल्र्स प्वाइन्ट राखिएको स्थानीय बासीन्दा बाट थाहा पायौ । यही टावरमा नेपाल टेलिकम स्टेशन र आ.ब. केन्द्रहरू पनि रहेका छन् ।

बेलायत सरकारको सहयोगमा धरान धनकुटा राजमार्ग निर्माण भएपछि बिशेष प्रसिद्घ पाएको रहेछ– भेडेटारले । अझ यस ठाउँमा नवदम्पतीहरू घुम्नका लागि भेडेटार आउने हुँदा यस ठाउँलाई लभर प्वाइन्टको पनि संज्ञा दिएको रहेछ । पर्यटकहरूको सजिलोका लागि भ्यूटावर जानुतर्फ सिढिबाटो बनाइएको हुँदा उकालो चढ्न निकै नै सजिलो भएको छ । धरानदेखि उकालो लागेपछि यातायातका साधनहरूको विश्राम गर्ने नै भेडटार रहेछ ।

यस ठाउँमा वरिपरि रहेको प्रावृmतिक वन–जङ्गलमा फुलेका राताम्य गुरासंका फूलहरूले सबैको मन लोभ्याउछ । भ्यू टावरबाट नजिक रहेका विभिन्न गाँउ बस्तीका साथै सगरमाथा, कुम्भकर्ण, मकालु, कञ्चनजंगा जस्ता हिमशृंखलाहरूको दृश्यावलोकन गर्न पाइदो रहेछ । त्यस्तै धरान र धनकुटा बजारको पनि दृश्यावलोकन गर्न सकिदो रहेछ । सूर्योदय–सूर्यस्तको मनमोहक दृश्य पनि हेर्न पाइन्छ यस स्थानबाट । अझ दक्षिणतिरको समथर फाँट, सप्तकोसी नदी पनि अविरल रूपमा बगिरहेको दृश्य स्पष्ट देख्न सकिने रहेछ ।

भेडेटार बजारको बीच सडकमा इतिहासकार इमानसिह चेम्जोङको पूर्ण आकारको शालिक रहेछ । शालिक नजिक पुगेर धेरै बेर घोत्लिए म । चेम्जोङको बारेमा जानकारी लिन उत्सुक भए । वि.स.. १९६१ पौष १७ गते पिता मेघवरसिंह र माता दावा पुहाङ्गा चेम्जोङको काखबाट पाँथरको वसाङ्गुमा जन्म भएको रहेछ । पाचथरबाट कालेम्पोङको रिङकेवुङमा बसाइ सरेका रहेछन् । यिनले कलकत्ताबाट सेन्टजेभियर कलेजबाट बीएसम्म पढेका थिए । केही समय सिकिम्म र गान्तोकमा शिक्षकको भूमिका निर्वाह गरे । वि.सं. २००९ सालमा नेपाल आएँ । २०१५ को आम निर्वाचनमा संसद सदस्यमा स्वतन्त्र उमेदवार बने तर हार व्यहोर्नु प¥यो । यिनी त्रिभूवन विश्वविद्यालयमा वि.सं. २०१८ देखि २०३२ सम्म किरात इतिहास तथा संस्कृतिविद्का रूपमा काम गरे । किरात जातिको भाषा, धर्म, लिपीको बारेमा शोध कार्यमा लागेका चेम्जाङले किरात इतिहास, किरात मुन्धुम, किरात मधुम खाहुन् । हिस्ट्री एण्ड कल्चर अफ किरात पिपल, विजयपुरको संक्षिप्त इतिहास, किरात दर्शनको सारांश, किरात व्याकरण जस्ता महत्वपूर्ण पुस्तकहरू प्रकाशन गरेका थिए । अन्तत २०३३ असोज २२ गते ७१ वर्षको उमेरमा यिनको मृत्यू दार्जलिङमा भएको रहेछ । यिनको बौद्घिकताको कदर गर्दै नेपाल सरकारले वि.सं. २०५५ बाट रू १ को हुलाक टिकटको सार्वजनिक गरेको छ । किरातका युग पुरूष इमानसिह चेम्जोङलाई मनैदेखि श्रद्घासूमन अर्पण गरे ।

यस ठाउँको नाम भेडेटार कसरी रहन गयो भन्ने सन्दर्भमा यस्तो भनाइ रहेछ । पाँच दशक भन्दा अगाडि हिमाली क्षेत्रका गुरूङ जातिले भेडा, च्याङ्ग्रा बेच्न तराइतिर लाने बाटो यहि रहेछ । अधिकाशं गुरूङहरू यस ठाउँमा भेडा, च्याङग्रा राखि रात बिताउथे भेडा च्याङ्ग्रा राख्ने ठाउँ भएकाले सो ठाउँको नाम भेडेटार नामले पुकारिन थालियो । बोलिचालीको क्रममा भेडीटार नै पछि भेडेटार भनेर नाम रहन गएको हो भन्ने स्थानीय बासिन्दाहरूको कथन सुनियो । भेडेटारलाई पहाडको रानी समेत भनिने रहेछ । भेडेटार धनकुटा जिल्लाको प्रबेश द्वार रहेछ । भेडेटारबाट धनकुटा ३६ कि.मी. दूरिमा रहेछ ।

यसरी सुनसरी जिल्लाको महत्वपूर्ण स्थानहरूको नजिकवाट भ्रमण अवलोकन गर्दै हामी विराटनगरतर्फ लाग्यौ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *