ताजा समाचार

दशवर्षे सशस्त्र युद्धको मार खेपेको रोल्पामा आयोगको टोली पुगेपछि बेपत्ता परिवारमा जाग्याे न्याय पाउने आश

रोल्पा। ४ वर्षको नावालक उमेरमा सशस्त्र युद्धको मारमा परेकी रोल्पाकी गीता डाँगीले आमाको न्यानो काख अझैसम्म पाएकी छैनन् । हाल उनी २१ वर्षकी छिन् । २०५५ सालमा जन्मिएकी डाँगीकी आमा २०५९ सालमा बेपत्ता भएपछि उनलाई आमाको काख र न्यानो माया सधै खड्किरहेको छ । उनका अनुसार चाडपर्व आउँदा आमाको झझल्कोले बेसरी सताउँछ, मन भक्कानो पर्छ तर आमाको जिउदो मर्दो खवर नपाउँदा कहिलेकाँही त उनी डाको छोडेर रुने गरेको बताउछिन् । तर आमाका बारेमा उनी अझै बेखवर छिन् । एकै झल्को आमालाई देख्न पाए जीवन जीउनुको सार्थकता भेटिन्थ्यो कि भन्ने उनलाई लाग्छ । तर आमाको न्यानो माया, सद्भावको मीठो कल्पना र तड्पाइमै उनको दिन बितिराखेको छ ।

यस्तै रोल्पाको पाङमा २०५३ सालमा जन्मिएकी पूजा रोकामगरले पनि बाबाको न्यानो काख अझै पाउन सकिनन् । सशस्त्र युद्धका बेला २०५५ सालमा उनका बाबा बेपत्ता पारिए । उनको सपरिवार बाबाको खोजीका लागि धेरै भौतारियो तर अझसम्म न उनका बाबाको लाश भेटियो न सास नै फेला परेको छ । बाबाको यादमा तड्पिएकी रोका हाल आमा सहित मामाको घरमा बस्दै आएकी छिन् । साथीभाइले बाबाको मीठो सम्बोधन गरेको सुन्दा उनी बाबाको यादमा निकै तड्पिन्छिन् । तर बाबाको यादमा तड्पनु र रुनु शिवाय अरु बिकल्प छैन उनीसंग । रोकालाई आफ्ना बाबा कस्ता थिए भन्ने सम्म थाहा छैन । “बाबालाई देखेको भए मुहार संझन्थे तर संझनका लागि बाबाको मुहार सम्म याद छैन । म दुइ वर्ष नपुग्दै बाबा बेपत्ता पारिनु भएको रे” उनले भनिन् । उनका बाबा बेपत्ता भएपछि उनीसंग बाबाका यादहरु बाहेक केही छैनन् उन्ले निकै कारुणिक स्वरमा भनिन् । कल्पनाको तस्वीर छातीमा टाँसेर बाबाको यादमा एकान्तमा बेसरी रुने गरेको उनी बताउछिन् ।

यी त प्रतिनिधि पात्रमात्र हुन् । दशवर्षे सशस्त्र युद्धका कारण रोल्पाले ठूलो धनजनको क्षती ब्यहोर्नु परेको छ । “दशवर्षे सशस्त्र युद्धका समयमा कैयौं मारिए, कति बेपत्ता पारिए, कति घरबार बिहिन भए, कतिले बलात्कृत भएर आफ्नो अस्मिता लुटाएर बाँच्न बाध्य भए भने अपांग घाइते त कति छन् कति ? कति त अझैसम्म शरीरमा गोली बोकेर बाँचिरहेका छन् ।” त्यो भोग्नेलाई मात्र थाहा छ द्वन्द्व पीडित चंखे कामीले भने ।

देश शान्ति प्रकृयामा गएको वर्षौ बितिसक्दा सम्मपनि अन्याय सहदै आएको अनुभूति गरेका रोल्पाका बेपत्ता परिवारले अब न्याय पाउने आशा गरेका छन् । बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोगबाट सत्यतथ्य छानबिनका लागि अध्यक्ष लगायतको टोली रोल्पा आएपछि बेपत्ता परिवारले न्याय पाउने आशा गरेका हुन् ।
सशस्त्र युद्धको उद्गम स्थल रोल्पाका द्वन्द्वप्रभावितहरुको पीडालाई मध्यनजगर गर्दै बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोगले यसैसाता स्थलगत भ्रमणगरी रोल्पाबाट छानबिन प्रक्रिया अगाडि बढाएको छ । बेपत्ता परिवारलाई न्याय दिने उद्देश्यले छानविन आयोगका अध्यक्ष सहितको सिंगो टोली यसै साता रोल्पा आइपुगेको थियो । आयोगका अध्यक्ष युवराज सुवेदी सहित आयोगका सदस्यहरु डा.गंगाधर अधिकारी, सुनिलरञ्जन सिंह, विश्वप्रकाश भण्डारी, सरीता थापा लगायत विभिन्न पद ओहदामा रहेका कर्मचारीहरु रोल्पा आएपछि अब न्याय पाउछौं भन्दै बेपत्ता परिवारले खुशी प्रकट गर्न थालेका छन् ।

शान्ति तथा पूनर्निमार्ण मन्त्रालयको तथ्यांक अनुसार रोल्पाबाट मात्र ३३ जना बेपत्ता, ९६९ जना मृतक तथा ठूलो संख्याका रोल्पालीहरु घाइते तथा अपांग भएर कष्टपूर्ण जीवन बाँचिरहेको तत्कालिन शान्ति समिति रोल्पाका संयोजक दिनेश सुवेदीले जानकारी दिए । उनका अनुसार बेपत्ता पारिएका ब्यक्तिका १३२ जना परिवारले २०७३ सालमा बेपत्ता पारिएका ब्यक्तिहरुको छानविन आयोगमा उजुरी दिएका थिए । ती मध्ये ३४ वटा उजुरी छानबिन आयोगले सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाएको थियो भने ९८ वटा उजुरीमात्र छानविन आयोगमा रहेका छन् । ३४ वटा उजुरी किन सारियो भन्ने बारेमा बेपत्ता परिवार हालसम्म बेखवर छन् । यसको कारण खुलाइनुपर्ने सरोकारवालाहरुको माग छ ।

आयोगको आयोजनामा यसै साता रोल्पामा संचालित अन्तरक्रिया कार्यक्रममा बोल्दै आयोगका अध्यक्ष युवराज सुवेदीले पीडितलाई न्याय दिने खालको कानून हुनुपर्नेमा जोड दिए । यसैवीच उनले भने,“ सशस्त्र द्वन्द्वमा सबैभन्दा बढी पीडा भोगेको जिल्ला रोल्पा हो भन्ने महसुस गरेर हामी रोल्पा आएका हौं । आएका उजुरीमा शंका नगर्नुहोला हामीले तलमाथि गर्नेछैनौं । कानूनले अहिले दिएको जिम्मेवारी हामीले पूरा गर्छौं । कानून पीडित मैत्री हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । हामीले तत्काल राहत दिन्नौं । हामीले सिफारिस गर्ने हो” उनले भने । मारिएका ब्यक्तिलाई फिर्ता ल्याउन नसकिएपनि उनीहरुको संझनामा संग्रहालय बनाउन वा संझना जीवित राख्ने वातावरण तयार गर्न सकिने उनको भनाइ छ । यसैवीच उनले शान्तिलाई कसरी संस्थागत गर्न सकिन्छ भन्ने विषयमा आफूहरु प्रतिबद्ध भएको जानकारी दिदै मुलुकमा फेरी द्वन्द्व नदोहोरियोस् भन्ने आफूहरुको चाहना भएको बताए ।

जिल्ला सदरमुकामस्थित जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला समन्वय समितिको कार्यालयमा ४ वटा कार्यटोली बनाएर अनुसन्धानको काम सम्पन्न भएको आयोगका सचिव कृष्णजीवि घिमिरले जानकारी दिए। आयोगको आयोजनामा रोल्पामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला न्यायाधीश रमेशप्रसाद ज्ञवाली, जिससका कार्यबाहक प्रमुख कर्मलाल परियार, रोल्पा नगरपालिकाका नगर प्रमुख पूर्ण केसी, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, नेकपा रोल्पाका अध्यक्ष सुरेन्द्र थापा घर्ती, नेपाली कांग्रेस रोल्पाका सचिव मोहन परियार, द्वन्द्वपीडित राष्ट्रिय सञ्जालका ५ नम्बर प्रदेश संयोजक श्रीकुमारी रोका, बेपत्ता परिवारका सदस्यहरु लगायत अन्य सरोकारवालाहरुको सक्रिय उपस्थिति रहेको थियो ।

देश शान्ति प्रकृयामा गएको वर्षौ बितिसक्दा सम्मपनि पीडितले न्याय पाउन नसकेको भन्दै द्वन्द्वपीडितहरुले दुःख प्रकट गरेका छन् । आयोगको बिगतको काम गराइ चित्त बुझ्दो नभएको बेपत्ता परिवारको आरोप छ । पिडकहरु शक्तिशाली भएको हुँदा अझैपनि जिल्लामा द्वन्द्व पीडितहरू खुलेर बोल्ने वातावरण बन्न नसकेको द्वन्द्वपीडित राष्ट्रिय सञ्जालका ५ नं. प्रदेश संयोजक श्रीकुमारी रोका मगरले बताए । उनका अनुसार अनुसन्धानपछि दोषी ठहरिएकाहरूलाई कानून बमोजिम कारबाही हुनुपर्ने उनको माग छ ।

२०७१ साल माघ २७ गते पहिलो पटक ५ सदस्यीय वेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग गठन गरिएको थियो भने पुनः सरकारले २०७६ माघ ९ गते नयाँ पदाधिकारी नियुक्त गरेको छ । आयोगलाई १ वर्षको अन्तरिम कार्यकाल तोकिएको छ । हाल नवगठित आयोगको सक्रियता देख्दा बेपत्ता परिवारहरु न्याय पाउने आशामा छन् । सशस्त्र युद्धका बेला बेपत्ता पारिएको परिवारको सदस्यको सास नभएपनि लाश पाए काज किरिया गर्ने उनीहरुको धोको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *