काठमाडौं।नेपालका लागि भारतीय राजदुत विनयमोहन क्वात्राले प्रधानमन्त्रीका प्रमुख सल्लाहकारसँग भेटघाट गरेका छन्। दुई साता अगाडी मात्रै नेपालका लागि राजदुतको जिम्मेवारी पाएर नेपाल आएपछि उनले राजनीतिक दलका नेताहरुसँगकाे भेटघाटलाई निरन्तरता दिने क्रममा विष्णु रिमालसँग भेटघाट गरेका हुन्। यो बीचमा उनले मुख्य राजनीतिक दलका प्रमुख नेताहरुसँग भेट गरिसकेका छन् ।
नेपालका नेताहरुसँगको सम्बन्ध बिस्तार र आपसी भेटघाटका लागि राजदुत क्वात्राको भेटवार्ता र दौडधुप जारी रहेको भारतीय दुतावासले जनाएको छ । तर, उनका कतिपय भेटघाट यस्ता छन्, जो नेपालको राजनीतिक घटनाक्रमसँग कुनै न कुनै रुपमा जोडिन खोज्ने हुन्छन् । उनले उद्योगी ब्यवसायी देखि राष्ट्रिय राजनीतिमा कसको कँहा के प्रभाव रहन्छ भन्ने उनलाई लाग्छ, उनी त्यहाँ पुगिहाल्छन् । कि त उनले आफू त्यस ठाँउमा पुग्ने या आफ्नो लैनचौरस्थित निवासमै बोलाएर भेटघाट गर्ने गरेका छन् ।
मधेस केन्द्रीत दलका नेतालाई उनले आफ्नै निवासमा बोलाउने र अन्यका हकमा सकभर आफै पहिलो चरणमा निवास वा कार्यालयमा पुग्ने गरेका छन् । यो उनको डिप्लोमेसी भेटघाट रहेको दुताबास स्रोतले बताएको छ । उनले नेपालका राजनीतिक नेताहरुलाई नभेटेको कुनै दिन छैन् । उनी हरेक दिन कसै न कसैलाई भेटने गरिरहेकै छन् । बुधबार मात्रै उनले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतसँग भेटवार्ता गरेका छन् । रिमाललाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा र पौडेललाई आफ्नै निवासमा उनले भेटवार्ता गरेको नेपालस्थित भारतीय राजदुतावासले जनाएको छ ।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार रिमाललाई उनले सिंह्दरबारमा झण्डै एक घण्टा भन्दा बढी समय भेटवार्ता गरेका थिए । भेटमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका बारेमा जिज्ञासा लिएको दुतावासले औपचारिक रुपमा बताएपनि राष्ट्रिय राजनीति र सत्तारुढ दल नेकपाभित्र प्रधानमन्त्रीलाई परेको अप्ठयारोका विषयमा राजदुत क्वात्रा र रिमालबीच सम्वाद भएको स्रोत बताउँछ । भेटमा प्रधानमन्त्रीलाई पार्टीभित्र परेको अप्ठयारोका विषयमा बढी केन्द्रीत रहेर छलफल भएको बताइन्छ ।
पछिल्लो दिनमा पूर्व राजा ज्ञानेन्द्र शाहले भारतमा गरेका केही राजनीतिक भेटघाट, त्यसपछि नेपालमा पूर्वपञ्चहरुको पार्टीमा भएको एकता, मधेस केन्द्रीत दलहरुका धारणा र सरकारको अप्ठयाराका विषयमा केन्द्रीत रहेर रिमाल र क्वात्राका बीचमा कुराकानी भएको स्रोतको दाबी छ । विशुद्ध राजनीतिक भेटवार्ता भएको थियो,’ दुतावास स्रोत भन्छ । काँग्रेस वरिष्ठ नेता पौडेल भने राजदुतलाई भेटन दिउँसो दुतावास नै पुगेका थिए । त्यहाँ उनले काँग्रेसको आसन्न महाधिवशेनमा सभापति इतर समुहका पक्षमा भारतीय पक्षको साथ र सहयोगका विषयमा केन्द्रीत रहेर छलफल गरेको बताइन्छ ।




