ताजा समाचार

सिडियोलाई अत्यावश्यक काम बाहेक जिल्ला नछाड्न गृहको निर्देशन

काठमाडौं । विश्वमै कोरोना संक्रमण बढ्दै गएपछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई अत्यावश्यक काम बाहेक बिदा नबस्न निर्देशन दिएको छ । मन्त्रालयले आज विहान प्रमुख जिल्ला अधिकारी मार्फत अन्य कार्यालयका कर्मचारीले पनि अत्यावश्यक अवस्थामा मात्र बिदा पाउने निर्णय गर्न लगाउन आग्रह दिदै जिल्ला नछाड्न निर्देशन दिएको हो ।

मन्त्रालयका प्रवक्ता सहिसचिव केदारनाथ शर्माले जो कोहीलाई संक्रमण देखिएमा व्यवस्थापनतर्फ लाग्नुपर्ने भएकाले बिदा रोकिएको जानकारी दिए । सीमा क्षेत्रका प्रहरी कार्यालयका इन्चार्जलाई पनि बिदा बस्न रोकिएको केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले बताए । प्रहरी प्रधान कार्यालयले नेपालमा कोरोना संक्रमण देखिएमा आफ्नोतर्फबाट कसरी व्यवस्थापन गर्ने भनेर कार्ययोजना नै बनाइएको छ । सम्भावित संक्रमणबाट जोगिन सतर्कताका उपायसमेत सिकाइएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बलले देशभरिका गणमा क्वारेन्टाइन कोठा बनाएको छ । शंकास्पद बिरामी,सर्वसाधारण र प्रहरी दुवैलाई राख्न क्वारेन्टाइन बनाइएको हो । सबैजसो कार्यालयमा थर्मलगनबाट चेकजाँच सुरु गरिएको र संक्रमणबाट जोगिन निर्देशन दिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

गृहमन्त्रालयले अत्यावश्यक काम बाहेक कर्मचारीलाई जिल्ला नछाड्न निर्दैशन दिएपछि जिल्ला हुने भोज, जात्रा, समारोह सबै स्थगन गर्न पनि सम्बन्धित सबैलाई आग्रह गरेको छ । कोरोना विश्वव्यापी रुपमा फैलिएको कारण समयकै सावधानी अपनाउन सो निर्णय गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले विपद व्यवस्थापन महाशाखालाई पनि तयारी अवस्थामा राखेको जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *