राष्ट्रिय प्रजातन्त्र पार्टीको एकतालाई आधार बनाउँदै नेपाली राजनीतिको आगामी परिदृष्यका बारेमा विभिन्न कोणबाट भिन्नभिन्न सन्दर्भ र विषयलाई लिएर अनेकौं आशंका, विश्लेषण र अनुमानहरु हुन थालेका छन् । पूर्वपञ्चहरुको पार्टी भनि चिनिने राप्रपाका विभिन्न घटकहरुको नेतृत्व पशुपतिशमशेर जवरा, डा.प्रकाशचन्द्र लोहोनी र कमल थापाले गर्दै आएका थिए । निर्वाचनको समयमा समेत एक नभएका यि व्यक्तिहरु आज एकाएक आफै जुटेका छन् कि कसैको सल्लाहा, दवाव र स्वार्थमा एकीकृत भएका हुन ? सरसर्ती हेर्दा तत्काल कुनै स्वार्थ देखिने अवस्था नभएपनि यसले नेपाली राजनीतिमा दीर्घकालिन अर्थ बोकेको छ भन्ने राजनीतिक विश्लेषण बाक्लै हुन थालेको छ । यसको निरन्तरताको रुपमा मधेशवादी दलहरुको बीचमा समेत एकताको संभावना देखिन्छ । वार्ता,संवाद भइरहेको भन्ने समाचार बीचबीचमा आइनै रहेका छन ।
नेपालको राजनीतिमा प्रत्यक्ष प्रभाव राख्ने छिमेकी मुलुक भारतको शक्ति केन्द्रको इच्छा र स्वर्थमा यि घटना अगाडी बढेको अनुमान गर्नेहरु धेरै भेटिन्छन ।हिन्दूत्वको मुद्दालाई विषय बनाएर सोसंग सम्वन्धित पक्षलाई एकठाउँमा ल्याउने प्रयास त हुँदैहोइन भन्ने अहम सवाल गर्न थालिएको छ । राप्रपाको एकतामा समेत हिन्दू सनातन धर्म, हिन्दू राज्य, राजसंस्था लगायतका विषयमा चर्चापरिचर्चा भएकाले पनि आम मानिसले त्यस्तो अनुमान गरेको हुनसक्छन । केही सुस्त देखिएको भारतीय प्रभावलाई विस्तार गर्ने उद्देश्यले राजनीतिक शक्तिहरुका बीचमा एकता, विभाजनजस्ता विषयहरुमा एक अर्को पक्षले भारतलाई दोष लगाउने गरेका छन । यसबीचमा सत्तारुढ दल नेकपा भित्र चलेको शक्ति संघर्षमा पनि शक्ति केन्द्रहरुको भूमिका हुन सक्छ भन्ने अनुमान छ । सत्तारुढ दलमा देखिने समस्याका अनेक रुप र आकार भएपनि कुनै न कुनै किसिमले नेपाली मनोविज्ञानलाई विश्लेषण गरेर नयाँ राजनीतिक तरङ्ग पैदा गर्न खोजेको देखिन्छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री,वरिष्ठ नेतालगायतका नेताहरुसंग समेत भारतीय नेताहरुको भेट बाक्लिएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्य नाथसंग कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको भेटघाटलाई समेत अर्थपूर्ण ठानिएको छ । डा.कोइराला सुरुदेखिनै राजसंस्था तथा हिन्दूत्वसम्वन्धी आफ्नो धारणाका कारण विवादित छन् । उनले कांग्रेस महासमिति बैठकमा समेत यो मुद्दालाई प्रवेश गराएका थिए । उत्तर–प्रदेशका मुख्यमन्त्री नेपाललाई हिन्दू राज्य बनाउन चाहान्छन भन्ने स्पष्ट नै छ । उनले पूर्वराजा ज्ञानेन्द्रदेखि लिएर हिन्दू धर्म,परम्पारा,संस्कार, संस्कृतिसंग सरोकार राख्ने विभिन्न व्यक्ति, संघ संस्थासंग समन्वय र सहकार्य गरिरहेको भन्ने सबैले महशुस गरेकै विषय हो । त्यसमा पनि राजनीतिक नेतृत्वमा रहेका व्यक्तिहरुले चासोपूर्वक उनीहरुसंग भेटघाट गरि सहयोगको याचना गर्दा योगीले यो विषयलाई प्राथमिकतामा राखेको हुनुपर्छ । योगीको प्राथमिकताको विषय र नेपाली नेताहरुको बैचारिक दृष्टिकोण समेत मेल खादा पछिल्ला विकसित घटनाक्रम भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी(भाजपा)को हिन्दूत्व मोहसंग असम्वन्धित होल भन्न सकिदैन । भारतभित्रै ठूलो आलोचना बेहोर्न तयार भएको भाजपाले नेपाली नेताहरुको मानशिकता बमोजिम योगी आदित्यनाथलाई खास जिम्मेवारी दिएको होला भन्ने अनुमान गर्नु गलत हुँने छ । विभिन्न पार्टीहरु बीचको एकता प्रयास र उक्त एकतामा हिन्दू सानातन धर्मको विषय प्रवेशले नेपाली राजनीति एक पटक धर्मको विषयलाई लिएर विभाजित हुने देखिन्छ । सबैभन्दा बढी प्रभाव मधेशवादी दलहरुको एकताका लागि पर्न सक्छ । नेपाली कांग्रेसको आगामी महाधिवेशनमा यसले गम्भीर असर पार्ने देखिन्छ । सभापति शेरवाहादुर देउवालाई रोक्न पनि हिन्दूवादी दृष्टिकोण राख्ने महामन्त्री कोइरालालाई वीपीको नामसंग जेडेर प्रभावित गर्न सकिन्छ भन्ने विश्लेषण हुन सक्छ ।
संभवत : डा. कोइराला योगी आदित्यनाथको यही शुत्र र सन्देशका साथ नेपाली कांग्रेसको महाधिवेशनमा प्रस्तत हुन सक्छन । नेकपाको सरकार बनेपछि नेपाली जनतामा देखिएको असन्तुष्टि तथा तीनै तहका सरकारको असफलता तथा भ्रष्टाचारजन्य गतिविधिले वाक्क भएको जनमानसलाई आफ्नो सनातन धर्म संस्कारमाथि विदेशीहरुबाट हस्तक्षेप भएको र यसमा कम्युनिष्ट पार्टीका मानिसहरु लागि परेको देखाई धर्मको राजनीतितर्फ आकर्षित गर्ने रणनीति बनाएको हुनसक्छ । घटनाक्रमहरु त्यस किसिमले विकशित भएको पाउँदा यसको प्रभाव विस्तार भई सत्तारुढा दलभित्रको असन्तुष्ट पक्षलाई पनि सामेल गर्न सकिन्छ भन्ने विश्वास लिइएको होला । कम्युनिष्ट पार्टीहरु भित्र पनि माक्सवाद भन्दा पनि रुद्री पूजा, वेद, यज्ञ, सप्ताहामा रुची देखिन थालेको छ । यसलाई उनीहरुले माक्सवादको मौलिक रुप भनि नेपालको परिप्रेक्ष्यमा आवश्यकता र औचित्यताको आधारमा लिइएको निर्णय भनी आफ्ना कार्यकर्ताहरुको चित्त बुझाउने गरेका छन । किनभने नेपाली कम्युनिष्टहरुका लागि अब माक्सवाद आफ्नो स्वार्थसिद्ध गराउने साधनभन्दा बढी केही होइन । अशक्त विरामी हुँदा समेत कार्यकारीको जिम्मेवारीबाट अलग हुन नचाहने ओलीका विरुद्ध प्रयोग हुने अरु अस्त्र असहमत पक्षसंग छैन । विचार,सिद्धान्त र आदर्शबाट च्युत्त भएपछि यस्तै धर्मकर्म संस्कार संस्कृतिजस्ता विषयलाई अगाडी बढाएर स्वार्थसिद्ध गर्नुपर्ने झेली खेल खेल्नु पर्ने हुन्छ ।
बीजेपीले आफ्नो कार्यकालमा अन्य धर्मप्रति घृणा जन्माएको आरोप भारतमा खेपिरहेको छ । जम्मु कास्मीरको विशेषधिकार खोसिन, केन्द्र साशीत हुने राज्यमा विभक्त गरिन,नागरिकता सम्वन्धी ऐन तथा नागरिक पञ्जिकरण अभियान चलाउनु जस्ता निर्णयहरुले आलोचित मोदी सरकार योगी आदित्यनाथमार्फत नेपाल हिन्दू राष्ट्र भएको हेर्न, देख्न र देखाउन चाहान्छ भन्ने अनुमान विभिन्न कारणहरुबाट पुष्टि हुँदै गएको छ । यो खेल राप्रपा एकीकरण,मधेशवादी दलहरुबीचको एकता प्रयास, नेपाली कांग्रेसको महाधिवेशनमा हिन्दूत्व हाबी, सत्तारुढ नकपाभित्र माक्सवाद नभई पुराणवाद हाबी गराउने अभियान संगसंगै अगाडी बढ्ने अवस्था देखिन्छ । यसले नेपाल, नेपाली समाज र नेपाली राजनीति कहाँ कसरी अवतरण हुँने हो ? यसै भन्न सकिदैन । धर्मको राजनीति गर्न खोज्ने, गर्न चहाने र गराउनेहरु कति सफल हुने हुन,त्यो देश हितमा हुने हो होइन यसै भन्न सकिदैन । तर राजनीतिक दलहरु भने फस्ने निश्चित छ ।




