ताजा समाचार

कोरोनाको जोखिम सतर्कताप्रति सभापति देउवाकाे ९ वुँदे अपील, सरकारलाई गम्भीर बन्न आग्रह  

काठमाडौँ।नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले ‘कोभिड-१९’ को सङ्क्रमण नेपाल भित्रिन सक्ने खतरा औंल्याउँदै प्रभावकारी बन्दोबस्तीका लागि सरकारलाई गम्भीर भएर कार्य गर्न अपील गरेका छन । देउवाले एक विज्ञप्तिमार्फत सीमा नाकामा प्रभावकारी र भरपर्दो कडाई हुन नसक्दा कुनैपनि समय सङ्क्रमण नेपाल भित्रिन सक्ने खतरा औंल्याएका हुन। साथै कोरोना भाइरसले विश्वव्यापी रूपमा महामारीको रुप लिइसकेको स्थितिमा नेपालले अपनाउनुपर्ने सतर्कताबारे सबै गम्भीर हुनुपर्नेमा उनले जोड दिएका छन ।

यसको जोखिम सामना गर्न सरकारलाई सम्पूर्ण साथ रहने घोषणा गरिसकेको स्मरण गराउँदै सभापति देउवाले युद्धस्तरमा कार्य गर्न सरकारलाई आग्रह गरेका छन। उनले सम्भावित जोखिम सामनाका लागि दक्षजनशक्ति तयार राख्न, जरुरी उपकरणदेखि आइसोलेसन वार्ड, वैकल्पिक क्वारेन्टाइन तथा आइसियुसम्मको अभाव हुन नदिन सरकारले युद्धस्तरमा कार्य गर्नुपर्ने औँल्याउनु भएको छ ।

पर्यटन क्षेत्र प्रत्यक्ष मारमा परेको र कतिपय उद्योग र अन्य व्यावसायिक क्षेत्र सङ्क्रमण पूर्वको असर भोगिरहेको बताउँदै सभापति देउवाले समग्र निजी क्षेत्रको मनोबल उच्च राख्न बैंक कर्जाको ब्याजदर घटाउन तथा ऋण चुक्ताको समयावधि थप्न जरुरी रहेको उल्लेख गरेका छन । सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने स्थिति आएमा विशेष गरी गरिबीको रेखामुनि रहेका, न्यून आय भएका नागरिक एवं दैनिक ज्यालादारीबाट जीवन गुजारा गरिरहेकालाई अत्यन्तै कष्टकर अवस्था बन्ने बताउँदै उनले त्यस्ता व्यक्तिका लागि राहतको योजना ल्याउन सरकारसँग माग गरेका छन ।

विद्यार्थीको शैक्षिक भविष्यलाई असर नपर्नेगरी जोखिमबाट विद्यार्थीलाई जोगाउन आवश्यक निर्णय र सतर्कताका लागि सरकारको ध्यानाकर्षण गराउँदै उनले स्वदेश र विदेशमा रहेका समस्त नेपालीलाई कोरोनाबाट सतर्क रहन र एक भएर यसको सामना गर्न अपील गरेका छन ।

 

कोरोना जोखिमप्रति विशेष सतर्कताका लागि सभापति देउवाले गरेकाे नाै बुँदै अपील

(१) सिमा नाकामा प्रभावकारी र भरपर्दो कडाइ हुन नसक्दा कुनैपनि समय संक्रमण नेपाल भित्रिन सक्ने खतरा औंल्याउँदै प्रभावकारी बन्दोबस्तका लागि सरकारलाई गम्भीर भएर कार्य गर्न अपिल गर्दछु ।

(२) संभावित जोखिम सामनाका लागी दक्ष जनशक्ति तयार राख्न, जरुरी उपकरणहरु देखि आइसोलेसन वार्ड, वैकल्पिक क्वारेन्टाइनहरु तथा आइसियुसम्मको अभाव हुन नदिन सरकारले युद्धस्तरमा कार्य गर्नुपर्ने औल्याउन चाहन्छु ।

(३) अनेक अफवाह चिर्दै वास्तविक सूचना सम्प्रेषण गर्ने कर्तव्य राज्यको रहेकोे ध्यानाकर्षण गराउन चाहन्छु ।

(४) अत्यावश्यक खाद्यान्नको थप मुल्य वृद्धिसंगै कालोबजारी फस्टाएको छ । बजारमा सरकारका सम्बन्धित निकायहरूको उपस्थितिबाट उपभोक्ताको हित संरक्षण जरुरी रहेको आवश्यकता औंल्याउन चाहन्छु ।

(५) सार्वजनिक सेवाको क्षेत्रमा क्रमशः असर पर्दै जाने संकेत दृष्टिगत गरेर सरकारले समयमै आवश्यक रणनीति निर्माण गर्न जरुरी देखिएको छ ।

(६) पर्यटन क्षेत्र प्रत्यक्ष मारमा परेको छ भने कतिपय उद्योग र अन्य ब्यवसायिक क्षेत्र संक्रमण पूर्वको असर भोगिरहेका छन् । समग्र निजि क्षेत्रको मनोबल उच्च राख्न बैंक कर्जाको ब्याजदर घटाउन तथा ऋण चुक्ताको समयावधि थप्न जरुरी आवश्यकता औल्याउँदछु ।

(७) सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने स्थिति आएमा बिशेष गरि गरिबीको रेखामुनि रहेका, न्यून आय भएका नागरिक एवं दैनिक ज्यालादारीबाट जीवन गुजारा गरिरहेकाहरुलाई अत्यन्तै कष्टकर अवस्था बन्ने देखिन्छ । तिनका लागि राहतको योजना ल्याउन सरकार समक्ष माग गर्दछु ।

(८) विद्यार्थीहरुको शैक्षिक भविष्यलाई असर नपर्ने गरि जोखिमबाट विद्यार्थीहरुलाई जोगाउन आवश्यक निर्णय र सतर्कताका लागि सरकारको ध्यानाकर्षण गराउंदछु ।

(९)   स्वदेश र विदेशमा रहेका समस्त नेपाली दिदिबहिनी–दाजुभाइलाई कोरोनाबाट सतर्क रहन र एक भएर यसको सामना गर्न हार्दिक अपिल गर्दछु ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *