ताजा समाचार

नेपालमा कोरोना भाइरस भित्रिन नदिन तयारी तीव्र बनाइएको छ : प्रधानमन्त्री ओली

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले कोरोना भाइरस अर्थात् कोभिड–१९ भित्रिन नदिन तयारी तीव्र बनाएको बताएका छन् ।  कोरोनाको जोखिमसँग जुध्ने साझा रणनीति बनाउन सार्क देशका प्रमुखहरुबीच भएको भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री ओलीले नेपालमा पनि जुनसुकै बेला कोरोना भित्रिन सक्ने जोखिमलाई ध्यान दिएर रोकथामको तयारी तीव्र बनाइएको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपालले अहिले पूर्वतयारीलाई जोड दिएको र कोरोना भित्रिहालेमा सहज उपचार र नियन्त्रणको लागि पनि तयार रहेको बताए । अहिले नेपालका तीन वटै सरकारले काम गरिरहेको, अन्तर्राष्ट्रिय आवागमनमा कडाइ गरिएको, अन अराइभल भिसा बन्द गरिएको, पर्वतारोहण बन्द गरिएको, विमानस्थलमा जाँच कडाइ गरिएको तथा हेल्थ डेस्क राखिएको प्रधानमन्त्री अ‍ोलीले जानकारी दिए ।

अस्पतालमा आइसोलेशन वार्डको व्यवस्था र कोरोनाको सङ्क्रमणलाई ध्यान दिएर अस्पताल र स्वास्थ्यकर्मीको क्षमता बढाउन लागिपरेको पनि ओलीले जानकारी दिए । प्रधानमन्त्री ओलीले नोभेल कोरोना भाइरसविरुद्ध लड्‍न महत्त्वपूर्ण र सामयिक निर्णय लिएकोमा भारतीय समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद समेत दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *