काठमाडौं।गृहसचिव महेश्वर न्यौपाने बुधबार नेपाल प्रहरी अस्पताल महाराजगंजमा चेकजाँचका लागि पुगेका थिए । अघिल्लो दिन मंगलबार समय लिएर बुधबार चेकजाँच गर्न पुगेका थिए । तर उनलाई अस्पताल प्रशासनले यसरी स्वागत गर्यो मानौ उनी अस्पतालको पुरै निरीक्षण र निर्देशनमा गएका हुन् ।
गृहमन्त्रालय स्रोतका अनुसार उनी कुनै अपौचारिक कार्यक्रममा गएका थिएनन । उनले शरीरमा विसन्चो भएका कारण ‘होलबडी’ चेकजाँच गर्न गएका थिए । सामान्य जाँचका लागि आउने भएकाले उनको स्वागत कार्यक्रम गर्नुपर्ने आवश्यकता थिएन । तर अस्पतालकी कार्यकारी निर्देशक एवं एआइजी आशा सिंहले औपचारिक कार्यक्रम नै राखेर सम्मान मात्रै गरिन् निर्दैशन समेत दिन लगाइन् । ‘अस्पतालमा आएका विरामीलाई समेत असर पर्ने गरी एआइजी साबले कार्यक्रम तय गर्नु भयो तर गृहमसचिवज्यू नियमित चेकजाँच गर्न आउनु भएको थियो प्रधानकार्यालयमा समेत बोलाएर थप हुलहुज्जत गराउनु भयो स्वंस सचिवज्यूले समेत अप्ठ्यरो मान्नु भयो’, अस्पताल स्रोतले भन्यो ।
त्यसदिन गृहसचिव न्यौपानेलाई नेपाल प्रहरी अस्पतालस्थित रेडियोलोजी विभाग, मेडिकल वार्ड, पोष्टअप, डेण्टल विभाग, अर्थो वार्ड, स्त्री तथा प्रसुति वार्ड, सर्जिकल वार्ड, भिआईपी डिलक्स, पथ्य विभाग, विभिन्न ओपिडीहरु, ईमरजेन्सी, प्याथोलोजी, हेमोडायलासिस, आईसियु, प्रस्तावित कोरोना भाईरस क्वारेन्टाइन वार्ड, आइसोलेशन वार्ड, निर्माणाधिन रहेका गायनो, बाल वार्ड, महिला ब्यारेक र पार्किङको निरीक्षण गराइएको थियो । त्यसक्रममा गृहसचिव न्यौपानेले अस्पतालको भौतिक सुविधा बढाई थप गुणस्तरिय सेवा प्रवाह गर्न सक्ने बनाउन मन्त्रलायको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
गृहसचिव न्यौपानेले स्वास्थ्यकर्मीको सेवा प्रवाह गर्ने शैली र व्यवहारले अस्पतालको गुणस्तरीयता देखाउने भएकोले यसप्रति स्वास्थ्यकर्मीहरु सचेत हुन निर्देशन दिएका थिए । अस्पतालमा ल्याबको गुणस्तरीयता बढाउने, बेड संख्या थप गर्ने, नर्सिङ कलेजको संचालन लगायतका कार्यका लागि मन्त्रालयले आवश्यक सहयोग गर्ने गृहसचिव न्यौपानेले उल्लेख गरे । प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले प्रहरी कर्मचारीहरुको आशाको केन्द्रको रुपमा रहेको अस्पतालको आधुनिकीकरण र आत्मनिर्भरता संगठनको उच्च प्राथमिकताको विषय भएको बताएका थिए ।
कार्यक्रम सकिएपछि मन्त्रालय पुगेका न्यौपानेले एआइजी आशासिंहले अनावश्यक कार्यक्रम गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । ‘मैले निरीक्षणका लागि आउछु भनेको होइन सामान्य चेक जाँच गर्नुपर्यो भनेको थिए तर कार्यक्रम राखेर मलाई लज्जित बनाइयो’, गृहसचिव न्यौपानेले आइजीपी ज्ञवालीसँग गुनासो गरेका थिए ।




