काठमाडाैं।नेपाल र भारतबीचमा निकै गम्भीर समस्याका रूपमा रहेको अर्को मुद्दा सीमापार अपराध हो । आपराधिक क्रियाकलापमा सङ्लग्न गिरोहहरूले सीमावारी अपराध गरेर सीमापारी आश्रय लिएका विभिन्न घटनाबाट पुष्टि हुन्छ । भारतमा अपराध गरेर नेपालको सीमावर्ती क्षेत्रमा लुकिछिपी बस्ने र नेपालमा अपराध गरेर भारतीय सीमापार गरी लुकेर सुरक्षित हुने अपराधीहरू र अपराधको नियन्त्रण तथा सीमापार अपराध सञ्जालको विस्तार दुई देशको टाउको दुखाइको विषय बनेको छ ।
दुईदेशका नागरिकलाई एकअर्काको देशमा आफ्नै नागरिक सरह आवातजवात, भ्रमणका साथै व्यापार, व्यवसाय, पेशा तथा रोजगारीको अधिकार भएकोले निर्वाध सीमा वारपार गर्न सजिलो भएकोछ । यसको फाईदा जनताले आर्थिक विकास, व्यापारिक कारोबार, सामाजिक जीवनको गतिशीलता एवं पारिवारीक मित्रता वृद्धि गरेर आपसी हित, शान्ति एवं अमनचयनमा लिएको मात्र नभएर अपराध, अपराधिक क्रियाकलाप र अपराधीको संरक्षणमा पनि यताकता प्रयोग हुँदा समस्या देखा परेकोछ । शान्ति, स्थीरता र समाजमा सुव्यवस्था कायम गरी सीमा पार अपराध नियन्त्रणमा सामुहिक पहल गर्न नेपाल र भारतबीच सुपुदर्गी सन्धि भएकोछ । सुपुदर्गी सन्धिले एक देशमा अपराध गरी अर्काको भूगोलमा गएर सुरक्षित रहने कुरालाई कडाईका साथ नियन्त्रण गर्न मद्दत मिलेकोछ । सुपुदर्गी सन्धिका अलवा दुईदेशबीच सीमावारपार हुने अपराध नियन्त्रणका विषयमा विभिन्न सहमति, सम्झौता र सहकार्य पनि हुँदै आएकोछ । सीमापार अपराध नियन्त्रणमा द्विपक्षीय साझा पहल र सहकार्य पनि प्रशस्तै भएका छन् ।
हातहतियारसहित लुटपाट मच्चाउने, सुपारी लिएर-दिएर अपहरण, फिरौती, हत्या गर्ने, अपराध गरेर सीमापार लुकिछिपी बस्ने, पेसेवार आपराधिक समूहबाट सर्वसाधरणलाई त्रसित बनाउने, राजनीति वा व्यक्तिगत झैझगडामा समेत पेसेवार अपराधीको प्रयोग र परिचालनले सम्बन्धमा समस्या खडा गरेको छ । राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण हुनमा खुल्ला सीमा मुख्य कारण हो । राजनीतिक तथा आर्थिक स्वार्थ सिद्ध गर्न पल्केकाहरूका लागि खुल्ला सीमाले अनुकूलता थपेकोछ । असल, योग्य र जनताले चाहेको व्यक्तिभन्दा अपराधिक मनोवृत्तिका मानिसका हातमा राज्यसत्ता एवं शक्ति पुग्ने खतरा खुल्ला सीमाका कारण उत्पन्न भएकोछ । नेपालको तराई क्षेत्रमा कतिपय अपराधिक पृष्ठभूमि र पेशाका व्यक्तिहरूले धाक, धम्की र जनतालाई नियन्त्रणमा लिएर राजनीतिमा स्थापित भएका घटनाहरूले सीमा वारपार हुने अपराध एवं त्यसको परिणाम एवं प्रभावलाई उदाङ्गो भएकोछ ।
रौटहट जिल्लाको निर्वाचन क्षेत्र नंं २ मा विगत दुई दशकदेखी निरन्तर जित्दै आएका मोहम्मद अफ्ताव आलम घटना यसको पछिल्लो तर राजनीतिमा जरा गाडेको अन्तरदेशीय अपराधिक क्रियाकलापको बलमा राजनीतिमा स्थापित हुने कायदाको पर्दाफास भएकोछ । नेपालको तराई मधेशमा आलम मात्र अपवाद होईनन्, बबनसिंह, सञ्जय कुमार साह, रामचन्द्र कुसवाह आदि सीमा पारवार खुल्ला अपराध र अपराधको राजनीतिकरणका प्रतिनिधि उदाहरण हुन । यसै तथ्यलाई हृदयङ्गम गरेर नेपाल भारत सीमा वारपार हुने अपराध रोकथा प्रयास स्वरूप कानुन, कानुनी प्रयास र सहकार्यहरू नै हुँदै आएको छ । सीमानामा बस्ने नागरिकको सुरक्षा, सीमा आसपासका प्राकृतिक स्रोतहरूको संरक्षण एवं व्यवस्थापन र सीमापार अपराध नियन्त्रण दुई देशबीच संवेदनशील विषय भएकोले सुरक्षा र अपराध नियन्त्रण गर्न सन् १९५३ मा सुपदर्गी सन्धि भएको थियो । सन्धि अनुसार सीमाक्षेत्रमा हुने अपराध नियन्त्रण गर्न दुई पक्षले सहकार्य र समन्वय गर्ने, एउटा देशमा अपराध गरेर अर्कोमा गएर बसेमा पक्रिएर अपराधीलाई हस्तान्तरण गर्ने र एक–अर्कामा शान्ति एवम् स्थिरता कायम गर्न साझा पहल र प्रयत्नशील गर्ने व्यवस्था छ ।
दुई देशको प्रभावकारी समन्वयमा अपराध नियन्त्रण र शान्तिसुरक्षा कायम गर्ने सन्धीको मर्म तथा भावना अनुसार एकातिर अपराध गरेर अर्कातिर लुकिछिपी बसेमा समातेर सुपुदर्गी गर्न सन्धिले बाटो खोलिदिएको छ । यसै अनुरूप अपराध गरेर भागेर सीमा पारी सुरक्षित आश्रय लिने प्रवृत्तिमा क्रमशः कमी हुँदै गएकोछ तथापी शान्ति सुरक्षा कायम गर्ने र अपराध नियन्त्रयामा एक–अर्कालाई सहयोग नगरेको आपसी आरोप पनि छ । एउटा देशमा अपराध गरेर अर्कोको देशको भूमिमा भागेर गई लुकेर बस्न सक्ने अवस्था रहेकोले अपराध नियन्त्रण, अनुसन्धान र तहकिकातका लागि सहयोग पु¥याउन एक देशको भूभागभित्र कुनै अपराधको आरोप लगाईएको वा अपराधी ठहरिएको व्यक्तिलाई अर्को देशको सरकार समक्ष सुम्पने व्यवस्था छ । अपराध गर्ने मानिस सुपुर्दगी माग गर्ने मुलुकको नागरिक नभएको अवस्थामा उसलाई त्यस देशमा सुम्पन भने बन्देज रहेकोछ । नेपाल र भारतको हकमा एकअर्काका नागरिकले अपराध गरेर भागी एकको भूभागमा आश्रय लिएको रहेछ भने माग बमोजीम सुपुर्दगी गर्न सकिने व्यवस्था छ । यसले खुल्ला सीमाका कारण अपराध गरेर सजिलै भागी अर्को देश प्रवेश गरी लिकिछिपी बस्ने प्रवृत्तिमा रोकथाम गर्न सजिलो भएकोछ ।
पाकिस्तान र भारतले दुवै मुलुकका अन्तर्राष्ट्रिय अपराधीहरु एकअर्को देशमा जघन्य अपराध घटाएर नेपाललाई आश्रय स्थल बनाउने गरेको आरोप लगाउने गरेका छन् विशेषत नेपाल र भारतको खुला सीमानाको कारण आपराधिक र अवाञ्छित तत्वहरु नेपाल र भारतको खुला सीमानाको दुरुपयोग गरेर वारपार गरेको प्रसस्त तथ्यहरु पनि छन् । यसको रोकथाम एवं सम्बन्ध सहज एवं मैत्रिपूर्ण बनाउन सीमा वारपार हुने अपराध नियन्त्रण एवं अपराधीको सुपुदर्गी आवश्यक रहेकोछ तर भारतले तेस्रो मुलुक पाकिस्तानी नागरिकलाई समेत भारतमा सुपुर्दगी गर्न सकिने सकिने प्रावधान सहितको सुपुर्दगी सन्धि गर्न प्रस्ताव गरिरहेको र दवाव दिइरहेको देखिन्छ । खुल्ला सीमा, सीमा सुरक्षा एवं सीमा वारपार हुने अपराध नियन्त्रण जस्ता संवेदनशील सवालहरुमा नेपाल चनाखो हुनै पर्दछ ।
अपराध रोकथाम र अपराधिको हस्तान्तरणको बहानामा आफ्नो राष्ट्रियता एवं सार्वभौमिकतामा आँच आउन सक्नेप्रति सजग रहेर दुई देशबीच एकअर्काको नागरिकले अपराध गरेमा माग बमोजीम प्रक्रिया पुर्याएर सुम्पिन सकिने बाटो सन्धिले खुल्ला गरेको सन्दर्भमा तेस्रो मुलुकको नागरिक सुपुदर्गी गर्ने कुरा अन्तर्राष्ट्रिय कानुन विपरित हुन सक्ने भएकोले त्यसतिर पनि ध्यान दिएर सीमा वारपार हुने अपराध रोकथामा साझा पहल हुन जरूरी हुन सक्दछ ।




