काठमाडौँ।टुटफूटको श्रृखालाले थालिएका पूर्वपञ्चहरुले पुन : पार्टी एकता गरेका छन् । राष्ट्रिय सभागृहमा बुधबार एक कार्यक्रमका बीच राप्रपा र राप्रपा (संयुक्त) ले पार्टी एकीकरणको घाेषणा गरेका हुन। एकीकरण पश्चात पार्टीको नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’ राखिएको छ । पार्टीको एजेण्डा राजतन्त्र र हिन्दुराष्ट्र हुनेछ भने पार्टीको झण्डा गाई र चुनाव चिन्हको सम्बन्धमा भने पछि निर्णय लिने बताइएको छ ।
शनिबार दुई पार्टीबीच एकता गर्नेगरी १० बुँदे समझदारी भएसँगै बुधबार औपचारिक कार्यक्रम गरी पार्टी एकता घोषणा गरिएको हो । एकता घोषणा समारोहमा राप्रपा अध्यक्ष कमल थापा, राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनी र पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दलगायतका नेताहरुकाे उपस्थिति थियो ।
पार्टी एकीकरण घोषणसभामा राप्रपा अध्यक्ष थापाले अब पार्टी फुट्ने आशंका नराख्न कार्यकर्ताहरूलाई आग्रह गरे। नेता कार्यकर्ताका माझमा गीता छोएर थापाले अब पार्टी नफुटाउने प्रतिज्ञा गरे । अध्यक्ष थापा र पशुपतिशम्शेर जवराले एकीकरण पत्र आदानप्रदान गर्दा कार्यकर्ताले गीता छोएर अब पार्टी फुट्दैन भन्ने प्रतिज्ञा गर्न दवाव दिएका थिए । कमल थापा, पशुपति शम्शेर जबरा र डा प्रकाश चन्द्र लोहनी तीनै जना अध्यक्ष रहनेगरी एकता भएको हो। पार्टीको निर्णय तथा जिम्मेवारी बाँडफाड र बैठकको अध्यक्षता पालैपालो गर्ने समहति छ।
थापा नेतृत्वको पार्टीसँग एकता गर्ने राणाको निर्णयप्रति आपत्ति जनाउँदै सूर्यबहादुर थापाका छाेरा समेत रहेका पूर्वमहामन्त्री सुनील थाप भने एकीकरणसभामा सामेल भएनन । राणाले राजतन्त्रलाई स्वीकार गरेको हुनाले आफू एकीकरणमा सहभागी नभएको थापाको तर्क छ । थापा राप्रपासंग भने विमुख बनेका छन । थापाले अब राजनीतिक यात्रा कुन दलबाट सुरु गर्ने औपचारिक निर्णय भने सार्वजनिक गरेका छैनन । थापाले सम्मानजनक ठाउँपाए कांग्रेस पार्टीमा जाने सहकर्मीहरुसंग बताउने गरेका छन । जिल्लाकाे राजनीतिमा अन्य राजनीतिक दलसंग भन्दा कांग्रेससंगकाे सम्वन्ध सुधुर बनाउने काेशिसमा थापा थिए ।




