काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पूर्व एमाले समूहको नेतृत्व गर्ने संभावना बढेको छ । माधव नेपाल विरुद्ध हालका प्रधानमन्त्री केपी शर्मा ओलीले खडा गरेको मदन भण्डारी फाउण्डेशनको कार्यक्रममा पहिलो पटक सहभागी भएका नेता नेपालले पूर्व एमाले गुटको नेतृत्व गर्ने संकेत गरेका हुन । उनले गत शुक्रबार सो फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा गएर जनताको बहुदलीय जनवाद (जबज)को फेरि वकालत गरेका छन् ।
मदन भण्डारी फाउण्डेशनले काठमाडौंमा गरेको कार्यक्रममा उनले भने ’जबजको आजपनि उत्तिकै महत्व अझै छ, यसको नामकरणमा मेरो पनि भूमिका छ ।’जबजले पार्टी, समाज र राज्यसत्ता सञ्चालनमा भूमिका खेल्ने उनको भनाइ छ । कतिपयले जबजलाई माक्सवादको विचलन भनेर आरोप लगाएको बताउँदै उनले भने– ‘जबजलाई पार्टी सङ्गठन सुदृढीकरण र वैचारिक पक्षमा उभ्याउनुपर्छ ।’ मदन भण्डारीले कम्युनिष्ट आन्दोलनमा दिएको योगदान अविस्मरणीय रहेको बताउँदै उनले पार्टी एकतापछि जबज र २१औँ शताब्दीको जनवादबाट नै नयाँ पार्टीको सिद्धान्त बनाइने जानकारी दिए ।
जबजका कारण नै राजनीतिक क्रान्ति सफल भएको बताउँदै उनले क्रान्तिबाट प्राप्त उपलब्धिलाई सुदृढ गरेर समाजवादको आधार तयार गर्नु अहिलेको आवश्यकता रहेको बताए । उनले भने- ‘समाजवाद नै अहिलेको ध्येय हो, त्यसैले समाजवादका लागि पूर्वाधार निर्माण गर्नुपर्छ ।’ जनतालाई खुसी पार्न नसके समाजवाद र कम्युनिष्ट पार्टी नटिक्ने नेता नेपालको दाबी थियो । कार्यक्रममा फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारीले जबजको दस्तावेजीकरण गरी नयाँ पुस्तालाई जानकारी गराउ कार्यक्रम आयोजना गरिएको बताइन् । गत भदौदेखि थालिएको शृङ्खलाबद्ध छलफलमा सचिवालय सदस्य वामदेव गौतम, नेता मोदनाथ प्रश्रित, प्रदीप नेपाल र मुकुन्द न्यौपाने सहभागी भइसकेका छन् ।
मदन भण्डारी छलफल शृङ्खला-५ अन्तर्गत नेता नेपालले ‘नेपाली कम्युनिष्ट आन्दोलनमा जनताको बहुदलीय जनवाद’ विषयमा आफ्नो विचार राखेका हुन् ।




