ताजा समाचार

कांग्रेस सक्किने कि सच्चिने ?

नेपालको समग्र राजनीतिक परिवर्तनको नेतृत्व गरेको राजनीतिक दल नेपाली कांग्रेस विस्तारै आफ्नो सान्दर्भिकता गुमाउदै छ।ऐतिहासिक भूमिका निर्वाह गरेको दलभित्र बढ्दै गएको व्यक्तिगत महत्वकांक्षा र सत्ताउन्मादले असान्दर्भिकताको मार्ग अख्तियार गर्न थालेको हो ।धेरै पात्रहरु यसका लागि जिम्मेवार छन् । त्यो विषयमा व्याख्य र विश्लेषण इतिहासले आवस्यक देखे गर्ने नै छ । वर्तमान अवस्थालाई लिएर निर्वाह गर्नु पर्ने भूमिकाप्रति समेत उक्त पार्टीको आवस्यकता टडकारो नै देखिएकाले यो दलसंग संम्वद्धमात्र होइन, लोकतन्त्रमा आस्था र विश्वास राख्ने ठूलो जमातको चाहाना नेपाली कांग्रेसले आफ्नो सान्दर्भिकता स्थापित गरोस भन्ने छ । त्यो के–का लागि भने नेपालले अभ्यास गरेको लोकतान्त्रिक शासन व्यवस्था दुर्घटनामा पर्नसक्ने सम्भावना र यसले ल्याउने दुस्परिणामप्रति गम्भीरता आवस्यक देखिएकाले नेपाली कांग्रेसको भूमिका खोजिएको हो ।

निश्चय नै सभापति शेरबहादुर देउवाले कार्यकाल समाप्त हुने संघारमा केन्द्रीय समितिको विस्तार र विभागहरुको गठन गर्न उचित थिएन । विधानत : निर्वाचित भएको मितिले दुई महिनाभित्र गर्नुपर्ने काम चार वर्ष वित्न लाग्दा गर्नु उचित र उपर्युक्त होइन । जो–जे जिम्मेवारी र भूमिका प्राप्त गर्नु भएको छ, उहाँहरुले समेत सभापतिलाई यो काम अब नगरौ भन्ने सल्लाह दिनु पर्दथ्यो । नियुक्त गर्ने सभापति मात्र होइन, नियुक्त हुने व्यक्ति समेतको प्रभावकारीता माथि यसले प्रश्नचिन्ह खडा गरेको छ ।‘मर्ने बेलामा हरियो कार्को’ भन्ने नेपाली उखानको चरित्रार्थ भएको विश्लेषण र टिप्पणी चारैतिर सुन्न पाइन्छ । लोकलाज पनि नमान्ने प्रवृत्ति देशको राजनीतिमा स्थापित भएको महशुस भैरहेकै समयमा सबैभन्दा पुरानो लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसाथ गर्ने राजनीतिक दलबाट भएको यस प्रकारको निर्णयले अन्य लोकतन्त्रवादीलाई वास्तवमा नै निरुत्साहित बनाएको छ । विधि र विधानको पालना नभएको सन्देस जटिल अवस्थामा सम्प्रेषण हुनु कांग्रेस पार्टीको हितमा छैन । नेतृत्वको हितमा छैन, मुलुक र लोकतान्त्रको पक्षमा छैन । कांग्रेसको पनि हितमा नहुँने कार्यले कस्को कल्याण होला त ?

जहाँसम्म असहमत पक्षको कुरा छ, महाधिवेशनलाई प्रभावित बनाउन संस्थापन पक्षले विधान विपरितको कार्य गरेको आरोप छ । यसलाई नै मुख्य मुद्धा बनाएर महाधिवेशन आफ्नै पक्षमा बनाउने झन राम्रो मुद्धा प्राप्त भएको छैन र ? साच्चै इमान्दारित छ भने पार्टीको आम पहिचान र अवधारणा स्थापित गराउने उद्धेश्यका साथ सभापतिको कदम अनुचित भएकाले त्यसालई सच्याउन आफूहरुलाई सहयोग गर्नुहोस भन्ने अभियान चलाएर सफलता हासिल गर्नलाई के कुराले रोकेको छ त ? देउवाको पुनःसभापति हुने इच्छा छ भने त्यसालई रोक्न आम कांग्रेस कार्यकर्तालाई यि नै विषयहरुका साथ आफ्नो पक्षमा ल्याउन देउवाको पछिल्लो निर्णयले पौडेल वा कोइराला पक्षलाई त सहयोग नै पुग्ने देखिन्छ । यस्तो अवस्थामा यो विषयलाई सडकमा छताछुल्ल बनाउनु भन्दा महाधिवेशनको मुद्धा बनाए हुँदैन ? कस्ता कार्यकर्ता बनाउदै छ कांग्रेस आजकाल ? सिद्धान्त विचार र लोकतन्त्रप्रति प्रतिवद्ध पङ्ती नै कांग्रेस पर्टीको साधारण वा सक्रिय सदस्य छन् भने त विधान र लोकतन्त्रको सम्मान र कांग्रेसको प्रतिष्ठा जोगाउने अभियानमा सहयोगी भईनै हाल्छन । होइन, स्वार्थ,अवसर,लुटपातका लागि मात्र आफ्नो संलग्नता देखाएको हो वा राजनीतिक रुपमा कांग्रेसलाई समाप्त गर्न त्यसखालको प्रवृत्तिलाई भित्रियाएको हो भने त्यसको दोष देउवाको मात्र हो कि त्यस्ता पात्र र प्रवृत्तिलाई प्रतोत्साहित गर्ने र जिम्मेवारीमा पुर्‍याउने सबैको हो ? को–कसले के–कस्ता पात्र र प्रवृत्तिलाई प्राथमिकतामा राखेर आफ्नो स्वार्थ सिद्ध गरेका छन भन्ने स्थानीयदेखि केन्द्रीय तहसम्मका नेता तथा कार्यकर्ताहरुको लेखाजोखा गर्न सकिन्छ । इमान्दार, निष्ठावान र क्षमतावान पार्टीका कार्यकर्ता तथा नेतालाई तलैबाट तहलगाउने अभियानका लागि पद, पैसा, पावर, पाखुरा प्रयोग गरिएको खुल्ला नै छ । यसमा अदर्शको कुरा गर्ने तर व्यवहारमा पार्टीमा कब्जा जमाउन भएभरको साधन,श्रोत र शक्ति प्रयोग गरि कठिन दिनहरुमा पार्टी राजनीतिमा लागेका नेता तथा कार्यकर्तालाई गलहत्याउने काममा ठेकेदार र डनलाई स्थान दिइएको सबैले देखेकै छन,भोगेकै छन ।
त्यसैले सबैलाई सबैको थाहा छ । देउवाको शैली पौडेललाई थाहा छ,पौडेलको कोइरालालाई जानकारी छ ।

निधि,सिटौला, खड्का,महत,केसी,कार्की सबैलाई थाहाँ जानकारी छ । कोही इमान्दार छैनन। मात्रात्मक रुपमा कम बेसी होला र कांग्रेसलाई कमजोर र बद्नाम बनाउन माथिल्लो तहदेखि तल्लो तहसम्मका जिम्मेवारी प्राप्त व्यक्तिहरु संलग्न छन । गुट,उपगुट र गिरोह बनाई इमान्दार,निष्ठावान र क्षमतावान व्यक्ति जो राजनीतिमा आवस्यक थियो,उसलाई ठेगान लगाउन सबै एकठाउँमा उभिएका र सबैको स्वार्थ मिलेको हुँदा कांग्रेस असाभन्दर्भिक हुने क्रम बढ्दै गएको छ । नेपाली राजनीतिमा मौलाएको अवसरवाद, अराजकता र भ्रष्टाचारका कारण र कारक तत्व नै इमान्दारितालाई पराजित गराउने अवसरवादीहरुको गठजोड हो । स्वार्थ र सत्ताका लागि सबै किसिमको विकृत्तिजन्य कार्य गर्न तयार भई सिद्धान्त,आदर्श,मूल्य मान्यता र इमान्दारीता थन्क्याएर आफ्नो र परिवारको उन्नति र प्रगतिका लागि पद र प्रतिष्ठाको दुरुपायोग भएकोले राजनीति प्रतिको वितृष्णाले उचाई ग्रहण गरेको हो । यसमा सबैभन्दा बढी जिम्मेवार नेपाली कांग्रेस नै छ । नेपाली जनताले कांग्रेसलाई विश्वास गरेका हुन र उसकै आश्वान र आग्रहमा जनआन्दोलनमा सहभागीता जनाई सफलता प्राप्त गरेको हो । कम्युनिष्टहरुलाई कहिल्यै विश्वास गरेका थिएनन र छैनन । प्रतिक्रिया स्वरुप कहिलेकही मतदान गरेका हुन, विश्वास गरेका होइनन भन्ने तथ्य पछिल्ला घटनाक्रमहरुबाट समेत पुष्टि हुँदै गएको छ । यस्तो अवस्थामा कांग्रेसको अभिभावकीय भूमिकाको अपेक्षा जनताले राखेका छन । तर कांग्रेस जनताको बुझाइको कांग्रेसपार्टी बन्न सकेन ।

के यो आरोप,प्रत्यारोप,विभाजन र विग्रह सभ्य हो ? को सभापति हुन्छ भन्ने चासो आम जनतालाई छैन । कांग्रेस पार्टीको भूमिका कस्तो हुन्छ भन्ने चासो छ । त्यो भूमिका निर्वाह गर्न सक्ने लक्षण देखाउन सफल भएको छ त नेपाली कांग्रेस पार्टी ? जे जनताले चाहादैनन, रुचाउदैनन्, आवस्यक छैन त्यस्तै निर्णयले जनसमर्थन र विश्वास प्राप्त हुन्छ ? जसरी पनि पार्टी कब्जा गर्ने उद्देश्य,लक्ष्य र राणनीति अख्तियार गरिएको छ । देउवा, पौडेल, कोइराला, निधि, सिटौला, महत,केसी, खड्का,कार्की आदि इत्यादी सबैको त्यही ध्यान देखिन्छ । त्यसले कांग्रेसको ऐतिहासिक जिम्मेवारी पुरा हुदैन, जनताको अपेक्षा संवोधन गर्दैन, आमलोकतान्त्रवादीहरुको इच्छा पुरा गर्न सक्दैन । समयमा नै सच्चिन र सच्याउन तयार हुनु पर्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *