काठमाडौं ।गृह मन्त्रालयले नेपाल प्रहरीको संगठनको पुर्नसंरचना गर्ने क्रममा डिआइजीको दरवन्दी घटाउने प्रस्ताव गरेको भएपनि अहिले नै त्यसको तयारी भएको छैन । मन्त्रालयले पुर्नसंरचना गर्दा प्रहरीमा डिआईजी,एसएसपीलगायतका उच्च अधिकारीको दरबन्दी समेत कटौती गर्न अर्थमन्त्रालयको सुझावलाई कार्यान्वयन गर्ने कि भन्ने बारेमा छलफल मात्रै गरेको हो ।
गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयसंग छलफल नै नगरी डिआइजी पद खारेज गर्न तयारी थालेको भन्दै प्रहरीभित्र असन्तुष्टि बढपनि दरवन्दी कटौतिको विषयले मन्त्रालयमा प्राथमिकता पाएको भने छैन । स्रोतकाअनुसार गृहले ७ देखि १० वटा डिआइजी पद खारेज गर्ने अर्थमन्त्रालयको प्रस्ताव छ । ‘संघीय संरचनाअनुसार प्रहरी संगठनको पुर्नसंरचना गर्ने तयारी भइरहेको छ । दरबन्दी कटौती गर्ने मात्र नभई संघीय संरचनाअनुसार प्रहरी कस्तो बनाउने,कति दरबन्दी आवश्यक पर्छ भनेर हामिले पुर्नसंरचनाको लागी छलफल गरिरहेका छौ ।’ गृहमन्त्रालयका एक अधिकारीले भने ।प्रहरीको संख्या कम भइरहेको गुनासो आएका बेला गृह मन्त्रालयले डिआईजीका दरबन्दी घटाएर प्रहरीलाई थप बलियो बनाउन सकिने ब्रिफिङ गरेको छ । स्रोतका अनुसार गृह मन्त्रालयले हाल ३४ जनाको दरबन्दी घटाएर २४ मा झार्ने तयारी गरेको छ । तर प्रहरी प्रधान कार्यालयले यसमा सहमति जनाइसकेको छैन ।
गृह मन्त्रालयले प्रहरीको उच्च पदमा धेरैजना भएका कारणले स्पर्धा पनि अस्वस्थ्य हुने गरेको तथा कतिपय डिआईजीलाई पदअनुसारको जिम्मेवारी दिन नसकिएको भन्ने दलील अघि सारेको छ ।उसले उच्च पदको संख्या घटाउँदा नेतृत्वसम्म पुराउनका निम्ति सहज हुने समेत जनाएको छ । त्यस्तो अवस्थाको चित्रण गर्न गृहका तर्फबाट नेपाल प्रहरीमा १४ जनासम्म एआईजी हुँदा देखिएको कठिनाईलाई पनि व्याख्या गरेको छ । प्रहरी समायोजनको प्रक्रिया चलिरहेका बेला दरबन्दी घटाउनु उचित नहुने राय प्रहरी प्रधान कार्यालयले गृहलाई दिएको छ । ती अधिकारीकाअनुसार अव हुने डिआईजीको बढुवामा नै लागु हुने गरी दरबन्दी घटाउने तयारी मन्त्रालयको छ । यता प्रहरी प्रधान कार्यालय भने डिआइजी पद खारेज गर्न नहुने अडानमा छ ।
हेडक्वार्टरले गृहले खारेज गर्ने तयारी गरेका डिआईजी पद हटाउन नहुने भन्दै लविङ गरेपनि मन्त्रालयले भने आवश्यकताको आधारमा दरबन्दी थपघट हुने प्रष्ट पारेको थियो । नेपाल प्रहरीमा अहिले २२ डिआइजी पद रिक्त छ । गृहले डिआईजीको संख्या बढाउँदा राज्यलाई अर्थिक भार पर्ने भन्दै संख्या घटाउने आन्तरिक थालेको हो । यतिबेला गृहमन्त्रालय डिआइजीको दरबन्दी खारेज गरेर रिक्त डिआइजी पदका लागि एसएसपीहरुको नाम सिफारिस गर्ने अन्तिम तयारीमा जुटेको गृहनिकट स्रोतले जानकारी दियो । स्रोतकाअनुसार केही दिनपछि बढुवा सिफारिस समितिको बैंठक बसेर डिआइजीका लागि नाम टुंगो लगाउने तयारी भएको छ ।
रिक्त रहेको डिआइजी पदका लागि एसएसपीहरु गणेशबहादुर ऐर, उत्तमराज सुवेदी, धिरजप्रताप सिंह, दिवेश लोहनी, रविन्द्र धानुक, घनश्याम अर्याल, वसन्त पन्त, देवबहादुर बोहोरा, ईश्वरबाबु कार्की, पुरुषोत्तम कणेल, रामकृपाल शाह, प्रकाशजंग कार्की, राजेशलाल कर्ण, दिलीप चौधरी, वसन्तकुमार लामा मुख्य दाबेदार छन् ।
बढुवाको लागी एसएसपीहरु सहकुल थापा, प्रदिपकुमार श्रेष्ठ, अरुणकुमार विसी, हरिराज वाग्ले, प्रकाश अधिकारी, सुशीलकुमार यादव, किशोरकुमार दाहाल, मुकुन्दराज आचार्य, पूजा सिंह, विक्रमबहादुर सिंह, नलप्रसाद उपाध्याय, देवबहादुर बोगटी, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी, नरबहादुर खत्री, मसाउद आलम खाँ, शेखर कोइराला समेत प्रतिस्पर्धामा छन्




