काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पार्टीका भेला, सम्मेलन र सभा अर्को सूचना जारी नहुञ्जेलका लागि स्थगित गरिएको जनाएकाे छ । कोरोना भाइरस संक्रमण देखिन सक्ने भन्दै उच्च सतर्कता अपनाउने उद्देश्यले पार्टीका कामहरु स्थगित गरिएकाे प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रचार विभाग प्रमुखसमेत रहेका प्रवक्ता शर्माले सबै तहका भेला, सम्मेलन र सभा अर्को सूचना जारी नहुञ्जेल स्थगित गर्ने निर्णय भएको बताए । शर्माका अनुसार समायोजन बाँकी रहेका जिल्लामा आन्तरिक रूपमा यी काम भने हुनेछन्। समायोजन र १४ औं महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरण र नवीकरणका काम आन्तरिक रूपमा जारी नै रहने उनको भनाई छ ।
प्रेस विज्ञप्ती
आदरणीय पत्रकार साथीहरू,
नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा म यहाँहरुलाई हार्दिक स्वागत गर्दछु ।
(१) विश्वव्यापी रुपमा संक्रमण फैलिइरहेको प्राण घातक कोरोना भाइरस (कोबिड १९) बारे ‘सरकार र समुदायका नाममा नेपाली कांग्रेसको १४ बुंदे अपील’ फागुन १९ गते पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागले सार्वजनिक गरेको यहाँहरुलाई विदितै छ । विश्व स्वास्थ संगठनले नेपाललाई समेत उच्च जोखिम रहेको राष्ट्र भनेर सतर्क गराइसकेको स्थितिमा हाम्रा सबै प्रयासहरु जोखिम सामना गर्ने दिशामा सम्पूर्ण रुपले केन्द्रित गर्नुपर्ने भएको छ ।
(२) सरकारी लापरबाही र ढिलासुस्तीका कारण कोरोनाको संक्रमण भित्रिन या फैलिन सक्ने खतरालाई गम्भीर रुपले लिएर सरकारलाई एकातर्फ हामी खबरदारी गरिरहेका छौं भने अर्कातर्फ यो जोखिम सामना गर्ने साझा राष्ट्रिय अभियानमा सरकारलाई नेपाली कांग्रेसको सम्पूर्ण साथ रहनेछ । सरकार र सम्बन्धित निकायहरूले जोखिम सामना गर्न निर्माण गर्ने रणनीतिहरुको पालना र कार्यान्वयनमा सबैलाई साझा दायित्वबोध साथ आत्मसात गर्न हामी हार्दिक अपील गर्दछौं ।
(३) त्रिभुवन विमानस्थलमार्फत संक्रमण प्रवेशको खतरालाई अझ कडाइ गर्न र थल मार्गबाट निर्वाध जारी आवागमनमा आवश्यक कडाइ गर्दै नाकाहरुमा स्वास्थ्य जाँचको केन्द्र तत्काल भरपर्दो स्थापना गर्न सरकारलाई पुनः अपील गर्दछौं ।
(४) विश्व स्वास्थ संगठनले गराएको सचेतता, नेपाल सरकारको आग्रह एवं जोखिमसँग राख्नुपर्ने सतर्कतालाई दृष्टिगत गरेर नेपाली कांग्रेस पार्टी एवं पार्टीसँग आवद्ध संस्थाहरुका सबै तहका ठूला भेला, सम्मेलन र सभा लगायतका कार्यक्रम आजकै मितिबाट लागू हुने गरी अर्को सूचना नगरिए सम्मलाई स्थगित गरिएको छ ।
(५) तर पार्टीको १४ औं महाधिवेशन तयारीका आन्तरिक कार्यक्रमहरु (बाँकी समायोजन एवं क्रियाशील सदस्यता नवीकरण र वितरण लगायत) सम्बन्धित समितिहरुमार्फत जारी रहनेछ ।
(६) कोरोना संक्रमणका बारेमा ‘शहरदेखि गाउँसम्म र गाउँको टोल हुँदै घरघरसम्म’ सतर्कता र चेतनाको अभियान पार्टी र आवद्ध संस्थाहरुमार्फत विविध ढंगले अघि बढाइने निधो गरिएको पनि सार्वजनिक रुपले सूचित गर्दछौं ।
जय नेपाल !
विश्वप्रकाश शर्मा
प्रवक्ता
एवं
प्रमुख—सूचना, सञ्चार तथा प्रचार विभाग
नेपाली कांग्रेस




