कैलाली।पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको भाषा हिजोआज हराउन थालेको बताएका छन ।
सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा आज धनगढीमा आयोजित ‘विश्व नेपाली साहित्य महोत्सव’ को समापन समारोहमा उनले हामी सबैमा आआफ्नो भाषा बोल चाल गर्ने बानी घटी सकेको बताउदै यसलाई छोड्न नहुने धारणा व्यक्त गरे । विश्व नेपाली साहित्य महोत्सवले हाम्रो भाषा ,साहित्य र संस्कारलाई अन्ताराष्ट्रिय स्तरमा पुर्याउन सफल भएको विश्वास समेत व्यक्त गरे ।
सभापति देउवाले भने, “अलिकति बैतडीका दाजुभाईले आफ्नो भाषा बोल्ने गरेको भए पनि अन्य जिल्लाकाले भने बोल्नै छाडी सकेका छन्, भाषा बोलचालबाटै हराउछ भने त्यो भाषा कति दिन टिक्न सक्छ ।” उनले नेपाली भाषाको उत्थान सुदूरपश्चिमबाट भएको हो भनेर धेरै विद्धानहरुले मानेको उल्लेख गरे। सभापति देउवाले भाषा, संस्कृतिको संरक्षणका लागि सबै एक जुट भएर लाग्नु जरुरी रहेको बताए।




