ताजा समाचार

उर्जा र आत्मविश्वास लिएर अस्पतालबाट फर्कनेछु : प्रम

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू मिर्गौला प्रत्यारोपण गरेर चाँडै स्वस्थ भई नियमित काममा फर्कने बताएका छन्। मिर्गौला प्रत्यारोपणका लागि अस्पताल जानु अघि साँझ भिडिओ सन्देशमा प्रधानमन्त्री ओलीले आफू अस्पतालबाट थप उर्जा र आत्मविश्वाससहित आउनेसमेत उल्लेख गरेका छन ।
‘मेरो सिङ्गो जीवन कुनै न कुनै किसिमको संर्घषमा बित्दै आएको छ, विविध समस्याहरूसँग निरन्तर जुध्ने क्रममा शरीरभित्र सिर्जित रोगसँग लड्न म बाध्य हुन पुगेको यहाँहरू सबैलाई जानकारी नै छ’, प्रधानमन्त्रीले सन्देशमा भनेका छन, ‘आजभन्दा झण्डै १२ वर्ष अघि मेरा दुबै मिर्गौलाले काम गर्न छोडेपछि २०६४ साउनमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गराएको थिएँ। त्यतिबेला नेपालमा मिर्गौला प्रत्यारोपणको सुविधा थिएन। आगामी फागुन २१ गते बुधबार फेरि मैले मिर्गौला प्रत्यारोपण गराउँदैछु। त्यसको चिकित्सकीय तयारीका लागि म आजै त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्मा भर्ना हुदैछु।’
प्रधानमन्त्री ओलीले सन्देशमा आफ्नो स्वास्थ्य अवस्थाबारे ढुक्क हुन अपिलसमेत गरेका छन्। ‘भनिन्छ, आशाको दियो बलिरह्यो भने शान्ति, प्रेम र विश्वासको जग मजवुत तुल्याउन सकिन्छ। कुनै समय मुर्छित रहेका हाम्रा सपनालाई हामी सबै मिलेर जगायौं। त्यसलाई ब्यूँताउनका लागि गत निर्वाचनमा मेरो नेतृत्वको वरीपरी तपाईहरू सबैले आफूलाई उभ्याउनु भयो’, प्रधानमन्त्रीले सन्देशमा भनेका छन ‘यस वर्षलाई हामीले समृद्धिको आरम्भ वर्ष भनेका छौं।
जसरी खेलको बीचमा ‘बेष्ट स्टाइकर’ले मैदान छोड्दैन, त्यसैगरी हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न ।’ प्रधानमन्त्री ओलीले आफू थप उर्जा र आत्मविश्वास लिएर अस्पतालबाट फर्कने उल्लेख गर्दै सन्देशमा भनेका छन ‘संसारमा कोही पनि अजम्बरी छैन। मेरो यो संकल्प पनि अजम्बरी बन्न हैन, हाम्रा जागृत हुँदै गरेका सपनालाई साकार पार्नका लागि हो भन्ने यहाँहरुले बुझ्नु नै भएको छ। म पुनः एकपटक आग्रह गर्दछु, मेरो स्वास्थ्यलाई लिएर यहाँहरू ढुक्क रहनुहोस् ।’
प्रधानमन्त्री ओलीले आफ्नै देशका अनुभवी चिकित्सकद्वारा गरिने मिर्गौला प्रत्यारोपणको सुविधा प्राप्त हुँदा गर्व लागेको समेत उल्लेख गरेका छन्। ‘विज्ञान, आधुनिक प्रविधि, ज्ञान र सीपले मिर्गौला प्रत्यारोपण अहिले, पहिलेजस्तो जटिल मानिँदैन। यसपटकको मृगौला प्रत्यारोपण त्यसैले पनि तुलनात्मक रूपमा सजिलो हुने मैले विश्वास लिएको छु”, उनले सन्देशमा भनेका छन ‘त्यसमाथि आफ्नै देशका अनुभवी चिकित्सकहरूद्धारा प्रत्यारोपण गराउने सुविधा प्राप्त हुँदा म गर्व गर्छु र अत्यन्तै खुशी पनि छु ।’
यस बीचमा सरकारका तर्फबाट गर्नुपर्ने सबै काम नियमित रूपमा अघि बढ्ने उल्लेख गर्दै प्रधानमन्त्रीले विश्वलाई नै पिरोलीरहेको कोरोना भाइरसका कारण सिर्जना भएको नयाँ समस्या, भैपरी आउने कुनै पनि विषय, त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न परेको समयमा आवश्यक निर्णय लिन सक्ने संयन्त्र र अन्य व्यवस्था मिलाएको समेत बताएका छन्। ‘मेरो अस्पताल बसाईको समयमा पार्टी र संसद दुबैतिर आवश्यक कार्य सम्पादन गर्न जिम्मेवार नेतारकार्यकर्ता, सांसदहरू र लाखौं पार्टी सदस्यहरू निरन्तर क्रियाशील हुनेमा म विश्वस्त छु’, प्रधानमन्त्रीले भनेका छन्। प्रधानमन्त्रीले आफ्नो शीघ्र स्वास्थ्यलाभको कामना गर्ने देश भित्र तथा बाहिर रहेका सबैमा धन्यवाद ज्ञापनसमेत गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *