ताजा समाचार

प्रचण्डमाथि जुत्ता प्रहार गर्ने रतन तिरूवा प्रहरी नियन्त्रणमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि राष्ट्रियसभा गृहमा जुत्ता प्रहार भएको छ । तर उनलाई लागेन ।

नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा दर्शकदीर्घाबाट उनलाई ताकेर जुत्ता प्रहार भएको हो । तर जुत्ता मञ्चसम्म आइपुगेन ।

जुत्ता प्रहार गर्ने युवक पूर्वमाओवादी कार्यकर्ताका छोरा भएको खुलेको छ। जुम्लाको सिञ्जा गाउँपालिका २ घोडेंगाका २२ वर्षीय युवक रतन तिरूवाले प्रचण्डलाई लक्षित गरी जुत्ता हानेका थिए। तत्कालै त्यहाँ रहेका प्रहरीले उनलाई नियन्त्रणमा लिए।

अहिले उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ। रतनका बुवा तत्कालीन माओवादीमा लागेका कारण ज्यान गुमाएका थिए। उनले नेपालगञ्जमा अमिन पढेका हुन् । अचेल उनी काठमाडौंमा लोक सेवा आयोगको तयारी गरिरहेका छन् ।

‘प्रचण्ड आउने भएपछि भाषण सुन्न गएको बताउदै उनले भने वर्गसंघर्षको कुरा गर्न थाल्नुभयो। पहिला उहाँले भन्ने कुरा र अहिलेको उहाँको अवस्था मिलेको छैन। मलाई चित्त बुझेन। अनि जुत्ता हानेको हुँ,’ उनले प्रहरीलाई दिएको बयानमा भनेका छन्।  पछिल्लो समय रतन नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको विद्यार्थी संगठनमा आवद्ध छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *