काठमाडौं । नेकपाका शीर्ष नेताहरुभित्र पछिल्लो पटक देखिएको विवाद साम्य पार्न माधव नेपालले मध्यमार्गी भूमिका खेलिरहेका छन् । वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने कि नलैजाने भन्ने विवाद गहिरिदै गएपछि नेपाल सो भूमिकामा देखिएका हुन । विहिबारदेखि नेता नेपालले पार्टीका शीर्ष नेताहरुसँग भेटघाट गरेर विवादलाई साम्य पार्ने प्रयास गरिहेका हुन । उनीसहित प्रचण्ड निवासमा बसेको एउटा बैठकबाट प्रधानमन्त्री केपी ओलीलाई शीर्ष नेताहरुले सचिवालय वैठकको निर्णय कार्यान्वयन गर्न सुझाव दिएका छन् ।
सचिवालय सदस्य एवं पार्टीका वरिष्ठ नेता नेपालले ओली र अन्य नेताहरुलाई सहजिकरण गर्दै सचिवालयको निर्णय कार्यान्वयन गर्न सुझाव दिएका हुन । उनले गौतमलाई राष्ट्रिय सभामा लैजाने र युवराज खतिवडालाई अर्थमन्त्री कायम राख्न सुझाव दिएका हुन् । ‘युवराज खतिवडालाई अर्थमन्त्रीमा निरन्तरता दिने र गौतमलाई राष्ट्रिय सभामा लैजाने तहबाट छलफल अघि बढिरहेको छ यो विषयमा प्रधानमन्त्री ओली र अन्य नेताहरु पनि सहमत हुने अवस्थामा पुग्नु भएको छ’, नेता नेपाल निकट स्रोतले भन्यो । शीर्ष नेताहरुको सुझावपछि ओलीले दबाब महशुस गरिरहेका स्रोतले जनाएको छ । ‘नेता नेपालले ल्याएको सहजीकरण सुझावपछि प्रधानमन्त्री अलि लचिलो बन्नु भएको छ, जस्ले गर्दा यही बाटो अबलम्बन हुन्छ अवस्था सिर्जना भएको छ’, वालुवाटार निकट स्रोतले भन्यो ।
शुक्रबार विहान अध्यक्ष पुष्पकमल दाहालको घरमा ओली इतर समूहको बैठकमा युवराज खतिवडालाई मन्त्रीमा पुर्ननियुक्ति गर्ने र गौतमलाई राष्ट्रिय सभामा लैजानेगरी सहमती जुटाउने निर्णय भएको थियो । पार्टी अध्यक्ष समेत रहेका ओलीले गौतमलाई राष्ट्रिय सभामा नलैजाने बताएपछि शुक्रबार विहान शीर्ष चार शीर्ष नेताहरुको छुट्टै बैठक बसेको थियो । सो बैठकको आयोजना उनै नेपालले गरेका थिए । कार्यकारी अध्यक्ष दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम नारायणकाजी श्रेष्ठ सो बैठकमा सहभागी भएका हुन । बिहान करिब आठ बजेदेखि चलेको छलफल पार्टीमा पछिल्लो समय बढेको विवादको विषयमा केन्द्रीत भएको थियो । बैठकमा गौतमलाई राष्ट्रिय सभामा लैजाने र खतिवडालाई अर्थमन्त्रीमै कायम राख्ने सहमति गरिएको थियो । सोही सहमति अनुसार माधव नेपाल ओलीलाई भेट्न वालुवाटार पुगेका थिए ।
नेकपामा पछिल्लो समय नेता गौतमलाई राष्ट्रिय सभामा लैजाने विषयमा तिब्र विवाद देखिएको छ । बुधबार बसेको नेकपा सचिवालय बैठकले सर्वसम्मत रुपमा गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको थियो । तर, त्यो निर्णयप्रति अध्यक्ष ओली असन्तुष्ट छन् । उनले गौतमलाई राष्ट्रिय सभामा मनोनितको लागि सरकारले सिफारिस नगर्ने बताएपछि नेकपाभित्रको विवाद छताछुल्ल भएको छ । ओली हालका अर्थमन्त्री खतिवडालाई नै राष्ट्रिय सभामा निरन्तरता दिन चाहन्छन । नेता खनालले भने पार्टीले गरेको निर्णय कार्यान्वयन नगरे ओलीलाई प्रधानमन्त्रीबाटै हटाउने सम्मको चेतावनी दिन थालेका थिए । विवादले उग्र रुप लिएपछि नेपालले यो विषयमा सहजीकरण गर्दै आएका छन् । नेकपाभित्रको आन्तरिक कलह सार्वजनिक भएको बेला अध्यक्ष ओलीबाहेकका शीर्ष नेताबीच यस्तो बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
तस्वीर : गुगल




