ताजा समाचार

प्रधानमन्त्री ओली प्रचण्डको पासोमा

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली क्रमश उनका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको पासोमा पर्न थालेका छन् ।सरकार यसै पनि अलोकप्रिय भएको र प्रधानमन्त्री स्वयं अस्वस्थ्य रहेकाले मानशिक, शारिरीक तथा मनोवैज्ञानिक दवावमा रहेका प्रधानमन्त्री पछिल्लो राजनीतिक घटनाक्रमसम्म आइपुग्दा सहकर्मीहरु समेतबाट एक्लिएको देखिन्छन । ओलीका विश्वासपात्र भनेर चिनिएका पार्टी महासचिव विष्णु पौडेलले समेत साथ छोडेको जस्तो देखिन्छ । पुष्पकमल दाहालले माधव नेपाल,झलनाथ खनाल, बामदेव गौतम र विष्णु पौडेललाई साथमा लिएर ओलीलाई कमजोर बनाउने काम गरेका छन् । यो दाहालको विशेषता नै भएकाले धेरैलाई अनौठो नलाग्ला । तत्कालिन एमालेमा पार्टी विलय गराएका दाहालले आफ्नो घोषित आदर्श र सिद्धान्त त परित्याग गरिसकेका नै थिए, एमालेको जे जस्तो मौलिकता र विशेषता थियो, त्यसलाई समाप्त बनाउनु उनको अर्को अभिष्ट जो थियो त्यसलाई पुरा गर्ने चरणमा पूर्व एमालेवालाहरुको साथ र सहयोग प्राप्त गर्नुलाई उनले आफ्नो अभूतपूर्व सफलता ठानेका छन । जसलाई स्वीकार गर्नुको विकल्प एमालेका पूर्व नेताहरुसंग छैन । ओलीको राप र तापमा परेका नेपाल,खनाल र गौतम पूर्व माओवादी नेता दाहाललाई नेतृत्व दिएर ओलीलाई पासोमा पार्न चाहान्छन । त्यसपछिको घटनाक्रमको बारेमा आ–आफ्नै मनोविश्लेषण बनाएका नेपाल,खनाल र गौतम अमुक ठाउँमा बैठक गरेर ओलीलाई तह लगाउने एकल अभियानमा मुग्ध देखिन्छन ।

संविधान नै संशोधन गरेर राष्ट्रिय सभाको सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने व्यवस्था गरि बामदेव गौतमलाई प्रधानमन्त्रीको घाँस देखाएर पछिपछि दोहोर्‍याउनु यतिबेला बाञ्छनिय छ भन्ने बुझेका दाहालले त्यो प्रस्ताव राखी संविधानको मात्र खिल्ली उडाएको छैनन, जनताको पनि अपमान गरेका छन् ।आफूलाई विश्वास नगरेका जनताको सम्मान गुर्न पर्ने आवस्यकता र औचित्यता दाहालले नदेखेका होलान । तर,लोकतान्त्रिक मूल्य पद्धतिलाई आत्मसाथ गरेको संविधान संशोधनको विषय नेकपाका ओली,दाहाल र गौतमको इच्छा बमोजिम पूर्ण हुने संभावना नै छैन । अर्थात संविधानसभाबाट संसदीय शासन व्यवस्थाका आधारभूत मूल्य,मान्यता र आदर्श बमोजिम संरचनागत व्यवस्था भएको संविधानको संशोधन नेकपाको मात्र स्वार्थ अनुरुप संशोधन हुन सक्दैन । यो तथ्यलाई अनदेखा गरी आन्तरिक शक्ति सन्तुलन र व्यक्तिगत महत्वकांक्षालाई व्यवस्थापन गर्न अघि बढाइएको संविधान संशोधनको प्रयास प्रारम्भमा नै तुहिएको छ । राष्ट्रिय सभामा लैजाने पात्रको विषयमा आफैले अध्यक्षता गरेको नेकपाको वैठकले गरेको निर्णय कार्यान्वयन नहुने प्रधानमन्त्रीको चेतावनी बहुमताको आडमा आफूलाई कमजोर बनाएको घटनाप्रतिको आक्रोशमात्र हो ।

कम्युनिष्टहरुका विषयमा विश्वव्यापी मान्यता र बुझाई के रहेको छ भने, यिनिहरु भ्रष्टचारमा विकाउ हुन्छन् । विश्वास गर्न सक्ने अवस्था हुदैन । बहुमतको सरकार चलाउने सीप र धैर्यता राख्दैनन । निरंकुश एवं अधिनायकवादी सोच र चिन्तनका कारण प्रतिश्पर्धीहरुलाई पराजित र कमजोर बनाउन अनेकौ हर्कत गरिहन्छन । हत्यासम्मको कार्य हुनसक्छ, विश्वासघातका घटनाहरु त सामान्य नै मानिन्छ । व्यक्ति हत्याको पृष्ठभूमिबाट आएका नेपालका कम्युनिष्टहरुमा जतिसुकै लोकतान्त्रिक अवधारणा देखिए पनि सत्तासीन भएपश्चात सत्ताको मातले अति निरंकुश,भ्रष्ट र दम्भी भएको घटनाक्रमहरुले जनाएको छ । जनअभिमतको सम्मान नगरी सत्ता स्वार्थबाट निर्देशित हुने चरित्र त संविधान संशोधन गर्दा राष्ट्रियसभामा गएर प्रधानमन्त्री हुने इच्छा राख्नुले नै प्रमाणित गर्दछ । राष्ट्रिय मुद्दाहरुलाई संशोधन नगर्ने,बलत्कार,घोटला, अन्तर्राष्ट्रिय सम्वन्ध,आफ्ना प्रतिवद्धता जस्ता गम्भीर विषयमा छलफल चलाउन आवस्यक नदेख्नेहरु एक्लै बसी आफ्नो व्यक्तिगत महत्कांक्षा पुरा गर्ने सपना बुन्ने गर्दछन । यो चरित्रले नै नेपालका मात्र होइन संसारका कम्युनिष्टहरु बदनाम भएका छन् ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री ओली अन्य राजनीतिक दल, खासगरी प्रमुख प्रतिपक्षी दलका नेताहरुलाई भेटी आफूलाई पार्टी भित्रबाट असहयोग भएको कारणले कुनै भवितव्य परेमा सहयोग गर्नु होला भनी याचना गरिरहेका छन् । अर्का कार्यकारी अध्यक्ष दाहाल पनि भेटघाट गरि प्रधानमन्त्री ओलीलाई आफूले पासोमा पार्न थालेकाले संभावित परिस्थिति अनुरुप सहयोग खोजिरहेका छन, दौडधुपमा लागेका छन् । यसले नेकपा भित्र धेरै राम्रो अवस्था नभएको देखिएको छ । अन्य असन्तुष्ट पक्षहरु ओलीलाई थप कमजोर बनाउन आवस्यक भएको निश्कर्षमा देखिन्छन । आफ्नो जन्मदिन आफ्नो पुर्ख्यौली जन्मघरमा मनाउने क्रममा प्रदर्शन भएको भड्किलो तामझामले सामन्तवादको नयाँ संस्कारको झल्को दिन्थ्यो । यस्तो शैली अपनाउनु,नेपालको नक्साको केक काटी खानु/खुवाउनुजस्ता दृश्यहरु नेपाली जनताले रुचाएनन/पचाएनन । आपत्तिजनक घटनाको रुपमा आम मानिसले आलोचनाको विषय बनाए । विश्वासिला साथीहरु भ्रष्टाचार र अनियमितताको आरोपमा पदमुक्त हुनेक्रम अगाडी बढिरहेको नै छ । उनीहरुको बचाउमा प्रधानमन्त्री आफ्नो स्वास्थ्यको ख्याल नगरी उफ्रिरहेका छन् । यसबाट के अनुमान लगाउन सकिन्छ भने भ्रष्टाचार तथा अनियमितताका काण्डहरुमा केवल मन्त्री, सांसद, कर्मचारीमात्र होइन प्रधानमन्त्री समेतको संलग्नता छ । यती होल्डिङ्सको संलग्नता, सरोकार तथा प्रायोजनमा प्रधानमन्त्रीको जन्मउत्सव मनाउने तारतम्य,केकको प्रवन्ध, हेलीकोप्टरको लावलस्कर जस्ता दृष्यहरुले प्रधानमन्त्री ओलीलाई सफा देख्न सकिएन ।

एकतर्फ सरकार असफल भएको अवस्था अर्कोतर्फ नेकपा भित्रको आन्तरिक शक्ति संघर्ष,त्यसमा थपिएको पूर्व माओवादी पक्षको स्वार्थले मुलुकलाई अस्थिरतातर्फ उन्मुख गराएको छ । दुई वर्षसम्म आफ्नो नेतृत्वमा सरकार चल्नुलाई उपलब्धी ठान्ने प्रधानमन्त्रीको अर्कोतर्फ अविस्वासको बढ्दो ग्राफले सकरात्मक संकेत गरेको छैन । संमृद्धिको सपना देखाउने दलभित्रको आन्तरिक कचिङ्गल तथा सरकारको अकर्मण्यताले आम मासिलाई राजनीतिक व्यक्तिप्रति नै वितृष्णा बढाउने काम गरेको छ । ठूला ठूला सपना देखाएर जनताको मत लिने अनि जनतामाथि नै विश्वासघात गर्ने राजनीतिककर्मीहरु भ्रष्टाचार, दलाली, कमिसनखोर, विचौलियाँ, डन, ठेकेदारको सेवामा लाग्नु र यसैमा निर्लिप्त हुन घोर आपत्तिको विषय हो । आफ्नो व्यक्तिगत एवं गुटगत स्वार्थ र हितका लागि सिद्धान्त,आदर्श, संविधान, संवैधानिक व्यवस्था माथि नै धावा बोल्नु अर्को अक्षम्य राजनीतिक अपराध हो । यस्तो राजनीतिक अपराधतर्फ आकर्षित गर्ने/गराउने सत्तालिप्साबाट मुक्त हुन नसक्ने/नचाहाने राजनीतिक व्यवसायीबाट देश र जनताले के अपेक्षा गर्ने ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *