काठमाडौं।उपप्रधानमन्त्री तथा रक्षा र गृहमन्त्रीको जिम्मेवारी लिइसकेका नेकपाका स्थायी कमिटी सदस्य भीम रावललाई सुरक्षा अधिकारीहरुले धनगढी विमानस्थलको विशिष्ठ कक्ष प्रवशेमा रोक लगाएको छ । शनिबार विहान काठमाडौंबाट श्री एयरलायन्सको विमानमा ९ः१२ मा धनगढी पुगेका रावललाई विशिष्ठ कक्ष प्रयोग गर्न नदिएको हो ।
मैले विमानस्थलको विशिष्ठ कक्ष प्रयोग गर्न नदिएकोमा गुनासो होइन’ उनले भने ‘तर, मलाई सुरक्षा व्यवस्थाबारे जानकारी दिइएन ।’ उनले सेनाले विशिष्ठ कक्ष प्रयोग गर्न नदिएपछि विमानस्थलको ट्रली बोक्ने बाटोबाट बाहिर निस्केको बताए । उनले आफूमाथि त्यस्तो व्यवहार किन गरिएको हो भन्ने बुझ्न नसकेको बताए । शनिबार धनगढीबाट राष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौं फर्कने कार्यसूचि रहेको थियो । राष्ट्रपति काठमाडौं फर्कनका लागि विमानस्थल जादै थिइन् । सोही कारण विशिष्ठ कक्षमा सुरक्षा व्यवस्था कडाई गरिएको बताइएको छ ।
रावलले भने– ‘विशिष्ठ कक्षमा को–को, कस्ता–कस्ता व्यक्ति जानपाउ“छन ? भन्ने सूचि बनाइयो र त्यसमा हाम्रो पद परेन भने सर्वप्रथम त्यो कार्यान्वयन गर्न म तयार छु ।’ उनले आफूलाई विशिष्ठ कक्ष प्रयोग गर्न नदिनुमा सुरक्षामा खटिएका सुरक्षाकर्मी नभई सुरक्षा व्यवस्था मिलाउने व्यक्तिको दोष भएको बताए । उनले भने– ‘सुरक्षाकर्मीलाई दोष छैन । उनीहरुले माथिको आदेशमा काम गर्छन् ।’ म धनगढी आउने पूर्व निर्धारित कार्यक्रम हो सुरक्षा निकायदेखि पार्टी नेताहरुलाई थाहा थियो ।
विशिष्ठ कक्ष प्रयोग गर्न नपाइने भन्ने जानकारी मलाई पहिल नै दिनु पर्ने थियो तर, कतैबाट त्यो जानकारी पाइएन उनले भने ।एक अर्को प्रसंगमा बोल्दै इन्चार्ज रावलले एमसीसीमा जनताको चासो बढेकोमा खुशी व्यक्त गरे । उनले एमसीसीबारे तयार पारिएको प्रतिवेदनलाई अन्तिम रुप दिन पार्टीले कार्यदल गठन गरेको बताए । उनले भने– ‘पार्टीको आधिकारीक धारणा नआएकाले यस विषयमा म धेरै बोल्न चाहन्न ।’ उनले वामदेवलाई राष्ट्रिय सभामा लैजाने सवालतर्फ संकेत गर्दै केन्द्रीय कमिटी बैठकले पार्टी पद्धतिबाट चल्नु पर्ने निर्णय गरेकोले सबैले त्यो निर्णय सबैले मान्नु पर्ने बताए ।
उनले भने –‘केन्द्रीय कमिटीको बैठकले गरेका निर्णय सबैले मान्नुपर्ने पार्टीको विधानमा छ ।’उनले अहिलेको विषयले पार्टी फुट्छ भन्ने हल्ला निराधार भएको बताए । उनले भने– ‘पार्टी भित्रको बहसमा फरक विचार आउनु स्वभाविक हो तर, यसले पार्टी फुट्छ भन्नु हुदैन ।’ उनले कार्यकर्ताले निराश हुनुभन्दा ठिक बेठिक छुट्याएर अघि बढ्नुपर्ने सुझाव दिए ।




