काठमाडौं । गायिका सरु गौतमले सांगीतिक क्षेत्रमा एक दशक बिताइसकेकी छन् । तर पनि चर्चाको केन्द्रबिन्दुमा रहन असफल छिन् उनी । त्यसको एउटै कारण हो उनी चाकडी चाप्लुसी जाँन्दिन् ।‘यहाँ काममात्र राम्रो गरेर पुग्दैन’ उनले भनिन् ‘चर्चाका लागि मिडियालगायतको धेरैको चाकडी जरुरी छ । तर म त्यो गर्न जान्दिन ।’२०६२, ०६३ को ऐतिहासिक जनआन्दोलनपछि लगातार गायनमै छिन् उनी । नाच्न र अभिनय गर्न भनेपछि हुरुक्कै हुने काभ्रेपलाञ्चोककी सरुलाई गायिका बनाउने काम ऐतिहासिक जनआन्दोलनले गरेको हो ।
‘लोकतान्त्रिक जनआन्दोलनता मैले गाएको एउटै गीतले गायिका बन्न प्रेरित गर्यो’ उनले थपिन् ‘जनआन्दोलनको लहर उर्लेको बेला जनजागृति गीत गाएपछि गायिका बनेकी हुँ ।’ सो समय उनले ‘सबै आए गाउँवेसी उठेर’ बोलको गीत गाएकी थिइन् । उक्त गीतमा सर्वसाधारण नाचेका देख्दा उनलाई गायनमा लाग्न हौसला बढ्यो ।
त्यतिबेला आफ्नो गीतमा सर्वसाधारण नाचेको अहिले पनि याद छ उनलाई । ‘सो समय गीत गाएर चर्चा नपाएको भए, म सायद फिल्मकी ‘हिरोइन’ हुन्थिकी’ उनले अनुमान लगाइन् । त्यो समयदेखि अहिलेसम्म सरुले करिब ८ दर्जन गीतमा गाइसकेकी छन् ।गीतसंगीत अहिले उनको नसा बनेको छ । अहिले उनलाई गीतसंगीत विना बाँच्नै सक्दिनँ जस्तो लाग्छ रे । किनभने यो क्षेत्रमा उनले १० वर्ष विताइसकेकी छन् । ‘जीवन संगीतप्रति समर्पित गरिसकेकी छु । सायद यो बिना बाच्न सक्दिन होला’ उनले भनिन् ।
गायनमा होमिएपछि उनले संगीत पनि सिकेकी छन् । सुरुमा ललितकला क्याम्पसमा संगीतसम्बन्धी अध्यायन गरेकी उनले त्यसपछि साधना कला केन्द्र र पछिल्लो समय गुरुकुल संगीत विद्यालयमा गुरु गुरुदेव कामदसँग संगीत सिकिन् ।‘संगीत जति सिकेपनि पूरा नहुने रहेछ । अझै सिकारु जस्तै छु’ उनी भन्छिन् ।सबै प्रकारका गीत गाउने उनलाई धेरै मनपर्ने गीत सेन्टिमेन्टल हो । तर बिभिन्न कार्यक्रम जानुपर्ने भएकोले डान्सिङ गीत केही बढी गाएकी छन् ।
‘जाउन माया भागेर’ बोलको उनको पछिल्लो हिट गीत हो । यो गीत केही समयअघि मात्र बाहिर आएको हो । दीपक शर्माको संगीत र कुमार कटुवालको शब्द रहेको गीतमा माया प्रेमका कुरा समेटिएको छ ।गीत मायाप्रेममा गाउने उनलाई ‘रियल लाइफ’मा मायाप्रेमको प्रस्ताव कतिदो होला ? प्रश्न राख्न नपाउदै उनले जिज्ञासा मेटाइन् ‘आउँछ नि । गायिका भएकाले पनि विभिन्न खाले मायाका प्रस्तावहरु आउँछ । तर, अहिलेसम्म कसैको प्रस्ताव स्वीकारेकी छैन ।’
सरु सानैदेखि नाच्न, गाउन र अभिनय गर्न पनि रुचाउथिइन् । त्यसैले पनि उनको सानैदेखि फिल्मको हिरोइन बन्ने इच्छा मनमा थियो । तर गायनमा लागेको कारण उनले सो इच्छा मारेकी हुन् ।
त्यसो त फिल्म अभिनयको अफर पनि नआएको होइन उनलाई । ‘फिल्म अभिनय प्रस्ताव त आएको हो । र आउने गरेको पनि छ । तर, अब गर्दिन’ उनले भनिन् ‘एउटा मान्छेले एउटै क्षेत्रमा मात्र लाग्नुपर्छ । त्यसैले पनि मैले फिल्मी अभिनय तिर मन मारे ।’ फिल्म अभिनयलाई पर सारेकी उनले अभिनयलाई भने मन मार्न सकेकी छैनन् । त्यसका लागि उनी म्युजिक भिडियो अभिनय गर्ने गर्दछिन् । उनले आफ्नै गीतको भिडियोमा मोडलिङ गर्ने गरेकी छन् । राम्रो राम्रो गीतको म्युजिक भिडियो अभिनय रुची हुने उनी सुनाउछिन् ।
गायिका र मोडलको अलवा उनी व्यवसायी पनि हुन् । उनी पस्मिना एक्सपोर्टरइम्पोर्टको काम पनि गर्दछिन् । गीतसंगीतले नाम र ब्यवसायले माम दिने उनको तर्क रहेको छ ।




