जुत्ता बस्तछ पाउमा ! झिलिमिली जस्तो भए तापनि
टीका बस्छ निधारमा जतिसुकै सस्तो भए तापनि
हुन्नन् स्थापित बाहिरी चमकले औचित्यका दायरा
भान्साभित्र सजिन्न हीरक जडी टल्काइयोस् कोपरा
.
अग्लो आसनमा बसेर शिरमा श्रीपेच लाओस् तर
फुस्केमा सुरुवाल हास्यरसको बन्ने छ ऊ जोकर
खस्केको प्रतिभा लिई लहरमा कुर्लेर के अर्थ छ ?
घण्टामै सकिने निरीह खहरे उर्लेर के अर्थ छ ?
.
बाँझो खेत रसाउँदैन नङले छर्केर थोपाछिटा
आउन्नन् प्रतिभाविना मगजमा सोचाइ सङ्ला मिठा
बाँझो रुग्ण दिमाग उन्नयनको के ल्याउला ओइरो
बिष्ठामा सरि फुर्कँदैन महमा राखेर गोब्रे किरो !
.
औंलाले पहरो फुटाउँछु भनी जो ठान्छ ऊ हार्दछ
पैसाले प्रतिभा कमाउन कतै जो जान्छ ऊ हार्दछ
ऊर्जावान् मिहिनेत कोसिसविना गन्तव्य मिल्थ्यो भने
पैताला नभए भयो उदरले टेकी हिँडिन्थ्यो भने
.
अस्थायी क्रम योग्यता क्रय गरे पाइन्छ होला तर
के कोर्ला किनमेलको जिनिसले भावी दिशा सुन्दर ?
मैलो सञ्चयबाट तोषित बनी फुर्केर के फाइदा ?
काँडा या विषवृक्ष आँगनसँगै हुर्केर के फाइदा ।
.
☆ छन्द :- शार्दूलविक्रीडित




