कला/साहित्य

नेपाली गुण्डो

हामी ज्यादा पोशाकमा भाउ र भडक राख्नेलाई गुण्डो भन्छौं, बोक्रेपन नै गुण्डोको प्रधान लक्षण हो । उसलाई आफू सिंगारिनुभन्दा सूक्ष्म कला कहीं छैन । दुनियाँका नजरमा छाँटकाँट रङ्गले योग्यतामा दावा राख्दछ । ऊ भौतिकवादी छ बाह्य आर्कषणले आकर्षित हुन्छ र बोक्रे नजरहरूलाई आकर्षण गर्दछ । ‘म’ जस्तो राम्रो उसलाई केही छैन । ऊ दुनियाँमा आफ्नो विज्ञापन जाहेर गर्दछ । ऊ सामुसम्मपनि  आउन सक्तैन । बस्तछ खोलमा नै । धाकी रङ्गहरू उसलाई प्यारा छन् । ऊ मानौं विजेताको छडी घुमाएर सडक नै शासन गर्दछ । मानौं उसको काम आफू सिंगारिनु र दुनियाँको काम उसको तारीफ गर्नु मात्र हो । प्रशंसाले उसको नाक फुल्दछ । पैसाभन्दा उसलाई ठूलो केही छैन । ऊ चार पैसा कमाउँछ तर चार सय खर्च गर्नको रवाफ अपरिचित नजरहरूअगाडि देखाउँछ । ऊ झगडामा पनि उत्तिकै अग्रसर छ र छक्का–पञ्जाका साङ्ग्रा चातुरीहरूलाई जीवन भन्दछ । उसका सुधारलाई संसारै छैन । उसका मुस्कानहरू पछाडि छरिरहेका हुन्छन् । ऊ डरलाग्दो जन्तु हुन्छ । उसलाई स्वार्थभन्दा मीठो ध्यये दुनियाँमा छैन । ऊ खालि छलले कमाउन, बलले मिच्नमा र देखाउनमा छ ।

उसलाई स्त्रीजातिको सतीत्व त्यत्तिको कदर गर्न लायकको छैन । सौन्दर्यलाई आफ्नो भोगका निमित्त सम्झन्छ । उसको सिद्धान्तमा पवित्र दूधको दखल कट्टरको बोक्रेपन हो । ऊ छल हो र छकावतले छोपिएका कुराहरूलाई सत्य मान्दैन । दुनियाँको आँखा छल्न पाए भोलानाथ अन्धा भन्ने उसको सिद्धान्त छ । ऊ मासुको उपासक हो न कि आत्माको चाहनाको समय मात्र उसलाई प्रेमको समय छ । ऊ पाशविक निरुत्तरदायित्वमा खालि आफ्ना मजा खोज्दछ र लहडमा जीवन बिगारिदिन्छ । ऊ खालि भमरो होइन, माखो हो । बिगार्नु र सपार्नु उसका सूक्ष्म कला छन् । ऊ सतीको भयङ्कर परीक्षा हो र मामूली स्त्रीहरूको यमराज हो । उसको सौन्दर्य मासुमा बस्तछ, यस सिद्धान्तलाई विरोध गर्न परमेश्वरले सत्यको मोहनी उडेको मुर्दा मासुलाई कीरा र गलाइको दशा दिएका छन् ।

तर उही दुनियाँको साँढा छ । उसको संसारमा जङ्गलकानूनको शासन हुन्छ । बलियालाई र लडाकालाई जीतबाजी छ र पोथीहरू भालेका बलका परीक्षा लिन जन्मिएका थिए । उसको अन्तः कारण ठीक पशुको कक्षामा छ, जो दुई खुट्टामा हिंडेर मानव नाममा दावा राख्तछ । दुई वा दुईभन्दा ज्यादा साँढे लड्दा जसले अरू भगायो उही चाहिँ पारितोषिकको विजेता हुने नियममा उसको आत्मा काम गर्दछ । तर खालि बल पशुता हो भन्ने उसको ज्ञानकोषमा मिर्मिरे झल्किन्छ र ऊ छलको ज्यादा प्रशंसा गर्दछ । ऊ दुनियाँका कर्मपथमा अँध्यारो गल्तीमा हिंडिरहेछ । सडलपडलमा सोख राख्तछ, झिलिमिली र नाज–नखराको उपासक छ । तर उही दिनको उज्यालो रङिलो सभ्यताको विज्ञापन झैँ दुनियाालाई फेशन सिकाउँछ । साधुहरू उसदेखि डराउँछन्, सुधा उसका आकर्षणमा फस्तछन् र वदमाशहरू नक्कल गर्दछन् ।

वेशयाहरू उसको पैसा धुत्न चाहन्छन् र झूटा नखराले उसका प्रेमी बन्दछन् । त्यहाँ केही दिव्य प्रेमको मिठास छैन, खालि बोक्रेपन छ । तर त्यही बोक्रेपनलाई सच्चा सम्झेर गुण्डो त्यसमा रहने साध्वीहरूको पवित्रा मूर्तिअगाडि पनि त्यही मपाइँ–मोहनीको आकर्षणले पवित्रताको आत बिगारेर आफ्नो अत्याचारको शिकार या हतियार बनाउने आशामा रहन्छ । तर साध्वीका आत्मा घृणापूर्ण दृष्टिले त्यहाँ हेर्दछन् जहाँ गुण्डो आफूलाई मोहनको मोहनी भन्ने सम्झन्छ ।

भौतिक इच्छामा लोभ ज्यादा देखाउनु र त्यो पनि यस्तो परिवर्तनशील संसारमा — कति नीचापनको चिह्न हो , बुझ्नेले बुझ्दछन् । हामी उसका क्षणिक भोगहरूलाई नफरतका नजगरले हेर्दछौं । ऊ महमा लटपटिरहेछ । उसका पखेटा आफ्नै लोभले बाँधा छन् । उसमा मपाइँमोहनीको अहङ्कार बसेर आँखा खोल्न दिदैन । सत्यको स्पर्श पाए ऊ आफूलाई कति घृणा गर्दो होला । ऊ आफ्नो आत्मालाई अन्याय गरिरहेछ । उसका आध्यात्मिक शक्तिहरू संगठित हुन सक्तैनन् ; छरिन्छन् । ऊ साङ्ग्रा ताक र सस्ता नापमा चलिरहेछ । ऊ आफ्नो अन्तदुर्गतिलाई रङिलो मिध्याले छोप्दछ । हामी उसलाई देखेर आँसु झार्दछौँ–किनकि त्यसभन्दा पापी विकार र अहंमानी दीन दुनियाँमा जन्मेको थिएन । जो मानिस दुनियाँमा आफ्नो मोज सम्झन्छ, त्यसमा सत्यको होश रहुन मुश्किल छ । तर ऊ पछि थाहा पाउँछ–घाँटीमा प्राण झुण्डेपछि । अनि यो दुनियाँ के रहेछ उसको मनले बुझ्छ । भौतिकवादका आडम्बरहरू प्राणावसनका अवस्थामा काँपेर उठ्तछन् र ऊ पनि आखिर ‘हे भगवान्’ को पुकारले सत्यको उपासनागर्ने आखिरी प्रतिज्ञा गरेर जान्छ । उसले त्यस बेला थाहा पाउँछ– पोशाक बोक्रो हो; रङ खोक्रो हो । मासु र मूर्ति परिवर्तनशील मिथ्या हुन् र एउटा सत्य भन्ने आत्मा मात्र दुनियाँ सत्य हो ।

 तर कोही–कोही गुण्डाहरू सुधारशलि हुन्छन् । धेरै संसारका प्रमुख प्रतिभाहरू अगाडि गुण्डा रहेका थिए । यही जीवनमै सुध्रिए भने तिनीहरू संसारका पूज्य, उपास्य देवता बन्न जान्छन् — कोही–कोही दृष्टान्तमा ! वैराग्य भनेको त्यसै आउँदैन, परमेश्वरको अनुग्रह चाहिन्छ । अनि सत्यको मोहनी लागेपछि ती सबबोक्रे चातुरीहरू र श्रृङ्गारकला आत्माको सच्चा मोहनीतिर लाग्दछन् । अनि तिनीहरू खोक्रा हुँदैनन्; खँदिला हुन्छन् ।

(लक्ष्मी निवन्ध सङ्ग्रहबाट साभार)

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *