कला/साहित्य

हाम्रा प्रेमगीतहरु

वर्षौवर्ष अघि मैले

मनलाई मैन बनाएँ

र, लेखेँ त्यसमाथि तिम्रो नाम

मैन न हो, पग्लियो

र, मेटियो तिम्रो नाम ।

 

त्यसपछि मैले मनलाई पत्थर बनाएँ

र, कुँदेँ त्यसमाथि तिम्रो नाम

वर्षौ भो, कविको कविता जस्तै

जस्ताको तस्तै छ तिम्रो नाम ।

 

शायद यसैकारण टिक्दैनन्

हाम्रा प्रेमगीतहरु

जसलाई हामी मैनका अक्षरले लेख्छौँ

र, ती छुट्टै आँसु बनेर पग्लिन्छन् ।

           (बिराटनगर, मोरङ)

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *