काठमाडाैं।सेक्युरिटी प्रेस मेसिन खरिद प्रक्रियामा कमिसन मागेको अडियाे सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका गोकुल बाँस्कोटाको कार्यकक्षबाट अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कागजातहरू नियन्त्रणमा लिएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट अख्तियाको टोलीले सेक्युरिटी प्रेस खरिद प्रक्रियासम्बन्धी कागजात लिएर गएको हो। यसअघि सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा कमिसन मागेको आरोप लागेका बाँस्कोटाले बिहीबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा पत्र बुझाएका थिए।
त्यसअघि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा स्वीस कम्पनीका विचौलियासँग लेनदेनका विषयमा भएको सम्बाद सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त गरी अनुसन्धान अगाडि बढाउन माग गर्दै संसद अवरोध गरेको थियाे ।




