काठमाडौं।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुकमा अन्योलता निम्त्याएको आरोप लगाएका छन् ।सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाको सुनखानीमा नेपाली कांग्रेस सुनकोशी गाउँ इकाईले आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्दै पूर्वमन्त्री बस्नेतले संमृद्धिको नारा घन्काउने प्रधानमन्त्रीले दुई वर्षमा जनतालाई निराशा बहेक केही दिन नसकेको बताए ।

नेता बस्नेतले प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै भने गाउँ गाउँको अधिकार सिंहदरवारमा थुपारेर कसरी मुलुकमा संमृद्धि आउँछ ? एउटै ठेक्कामा छ अर्व भ्रष्टाचार गरेर संमृद्धि हुदा समेत आँखा चिम्लेर बस्नेत प्रधानमन्त्रीबाट संमृद्धिको आश गर्न नसकिने पूर्वमन्त्री बस्नेतले दाबी गरे । नेता बस्नेतले भने प्रधामन्त्री ओलीको औसधी उपचारमा मै राज्य कोषको अरबौ रकम खर्च गरेर मुलुकमा संमृद्धि आउछ ? प्रधानमन्त्री ओलीले संमृद्धिको सपना बाढेर मुलुकमा लुटतन्त्र मच्चाएको नेता बस्नेतको आरोप थियो ।

ललितानिवास जग्गा प्रकरणमा राजनीतिक पुर्वाग्रह साध्ने दाउमा सरकार लागेको भन्दै नेता बस्नेले आक्रोश पोखे । पूर्वमन्त्री बस्नेतले भने सरकार निर्देशित अख्तियारले राजनीतिक पुर्वाग्रहका आधारमा निर्णय गर्ने प्रधानमन्त्रीलाइ जोगाएर फाइल उठाउनेलाई मन्त्रीलाई मुद्धा दायर गरेकोमा आपत्ति प्रकट गरे । पूर्वमन्त्री बस्नेतले जनताको करबाट तलब खाएर कम्युनिष्टको हैन जनताको काम गर्न कर्मचरीलाई सुझाब दिए । कांग्रेसले राजनीतिक आस्थाका आधारमा सेवा प्रवाहमा विभेद गर्ने कर्मचारीको लेखाजोखा राख्ने नेता बस्नेतले बताए ।

दुई तिहाइ नजिकको जनमत पाएको कम्युनिष्ट सरकार ठूला कुरामा मात्र सीमित भएकोले अर्को चुनावमा बढारिने नेता बस्नेतले दाबी गरे । बृहत आमसभामा प्रमुख अतिथि रहेका नेता बस्नेतले अर्न्तघातीलाई कारवाही नगरे पार्टी सुदृढ नहुने दाबी गरे । नेता बस्नेतले भ्रष्टाचार विरुद्ध लड्न गाउँगाउँमा तयारी अवस्थामा रहन कार्यकतालाई निर्देशन समेत दिए । कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई कम्युनिष्टको जस्तो भ्रष्टाचार नगर्न पनि नेता बस्नेतले सुझाव दिए । नेता बस्नेतले पदमा रहे पनि नरहे पनि आफू सधै जनताको हितमा समर्पित रहेने बताए ।

सुनकोशी गाउँपालिकाको वडा नम्बर ५ सुनखानीमा आयोजित आमसभामा नेपाली कांग्रेसका महासमिति सदस्य हरिशरण श्रेष्ठ,प्रेमध्वज लामा लागयतका जिल्ला नेताहरुले मन्तव्य राखेका थिए । सुनकोशी गाउँपालिकाका अध्यक्ष एवं नेपाली कांग्रेस सुनकोशी गाउँ इकाई समितिका अध्यक्ष विनोद जीसीको अध्यक्षतामा भएको आमसभामा करीब पाचँ सय जना नेकपा र राप्रपाका कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । प्रमुख अतिथि बस्नेतले योग्यता र क्षमताका आधारमा जिम्मेवारी दिने भन्दै नवप्रवेशीलाई आस्वस्थ बनाएका थिए ।
नेता बस्नेतले ३२ कारोड लागतमा आफ्नै पहलमा निर्माण सम्पन्न भएको नौकिलो पाखरखोला रतनकोट जोड्ने पाखरखोला पुलको समेत उद्घाटन गरेका थिए ।
तस्वीर : निराेज चाैलागाई




