काठमाडौं । नेपाल प्रहरीलाई दश वर्ष अघि सुन्तली धामी प्रकरणले निकै सतायो । व्यारेक भित्र रहेकी प्रहरी हवल्दार धामीलाई एकै कार्यालयका प्रहरी हवल्दार र जवानले सामूहिक बलात्कार गरे जस्ले गर्दा उनीहरुलाई सजाय समेत भयो । धामीले आफ्नो मानसिक सन्तुलन नै गुमाइन । यो प्रकरण नेपाल प्रहरीभित्र एउटा गैर व्यवसायिक घट्नाको ज्वलन्त नमूना बन्यो । यसपछि नेपाल प्रहरीमा अधिकृत जवानमा यस्ता घट्नामा कम हुन थाले ।
तर पछिल्ला दुई घट्नाले भने नेपाल प्रहरी संगठनलाई झस्काएको छ । जबरजस्ती करणीको आरोप लागेका नेपाल प्रहरीका एसएसपी सौरभ राणा गत हप्ता सरकारी वकिलको कार्यालयबाट छुटेका छन् । सरकारी वकिल कार्यालय सुनसरीले उनलाई हाजिरी जमानीमा रिहा छाड्यिो । राणाविरुद्धको जाहेरी र मिसिल संलग्न प्रमाणहरुले उनीमाथि मुद्दा चलाउनु पर्ने अवस्था नरहेको भन्दै उनलाई हाजिर जमानीमा छाडेको हो । गृह मन्त्रालयमा इटहरीकी एक महिलाले संघीय प्रहरी इकाइ धरानको प्रमुखको हैसियतमा रहेकै बेला राणाले आफूमाथि यौन दुव्र्यवहार गरेको भन्दै उजुरी दिएपछि उनी निलम्बनमा परेका थिए ।
जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी उपरीक्षक (डिएसपी) राजकुमार खिउजुले यौन काण्डमा आफू मुछिएपछि एक महिनाअघि राजिनामा दिएर सम्पर्कविहिन भएका छन् । डिएसपी खिउजु चापागाउँ प्रहरी वृत्तको प्रमुख हुँदा प्रहरी रिपोर्ट बनाउन आएकी एक किशोरीलाई कार्यकक्षमै यौन दूव्र्यवहार गरेको आरोप लागेको छ । चापागाउँ वृत्तबाट सरुवा भएर जिल्ला प्रहरी कार्यालय मोरङ पुगेका खिउजुलाई सो आरोप लागेपछि उनले जागिरबाटै राजिनामा दिए । हाल उनी विरुद्ध महानगरीय प्रहरी कार्यालय ललितपुरमा उजुरी परेको छ । गत असोज अन्तिममा नेपालगञ्जस्थित प्रदेश प्रहरी तालिम केन्द्रभित्रै युवतीमाथि यौन दूव्र्ययवहार भएको भन्दै उजुरी परेपछि दूव्र्यवहार गर्ने प्रहरी नायव निरीक्षक (सई) बमबहादुर राना पक्राउ मात्रै परेनन उनी जेल नै गए ।
महिला ब्यारेकभित्र पसेर प्रशिक्षार्थीमाथि यौन दूव्र्यवहारको प्रयास भएको प्रहरीमा उजुरी परेपछि सई रानामाथि छानवीन भएको थियो । यति मात्र होइन प्रहरी प्रधानकार्यालयस्थित विधि विज्ञान प्रयोगशालामा कार्यरत एसएसपी राकेश सिंह विरुद्धको उजुरी प्रहरी महानीरिक्षकको सचिवालय अन्र्तगत उजुरी छानवीन शाखामा परेको छ । एक वर्ष अघि नै परेको सो उजुरी अहिलेसम्म अलपत्र परेको प्रहरी स्रोतले जनाएको छ । कञ्चनपुर भीमदत्त नगरपालिका उल्टाखामकी निर्मला पन्ता हत्या प्रकरणमा डिएनए परीक्षण गर्दा गलत रिपोर्ट दिएको आरोप लागेका एससपी सिंहलाई प्रहरी प्रधानकार्यालयले कारवाही गरेको छैन । यी घट्ना प्रतिनधिमात्रै हुन । प्रहरीभित्र ठूलो संख्यमा यौन दूव्र्यवहार हुने गरेको बताइन्छ । तर बाहिर आउन सकेका छैनन । प्रहरीभित्रै र बाहिर पनि यौन दुव्र्यवहार भएको आवाज बेलाबखत नआएका भने होइनन ।
तर छानवीनपछि धेरैलाई उन्मुक्ति दिइने गरिएको छ । यसरी विभिन्न यौन दुव्र्यवहार गतिविधिमै उच्च प्रहरी अधिकारीको संलग्नताले प्रहरी संगठनलाई बद्नाम बनाएको छ । उच्च प्रहरी अधिकारी नै विभिन्न यौन अपराधमा संलग्न भएको घटना एकपछि अर्को गर्दै सतहमा आएपछि प्रहरी संगठन आलोचित मात्रै भएको छैन थप बद्नाम भएको छ । कतिपय प्रहरी अधिकृतहरु बहाल हुँदै बलात्कारजस्तो जघन्य अपराध अनुसन्धानका लागि पक्राउ पर्ने अवस्थामा पुगेका छन् । यसले प्रहरी महलिामैत्री छैन कि भन्ने देखाउछ । घरमा श्रीमती हुँदाहुँदै परस्त्रीसँग यौन सम्पर्कमा रहनु नै अपराधको भागिदार हुनु हो भन्ने तथ्यलाई प्रहरी अधिकारीहरुले विर्सेका हुन किन भन्ने आभाष समेत भएको छ ।
१० बर्ष पहिले सुन्तली धामी प्रकरणबाट प्रहरी नेतृत्व निकै सजग भए पनि अहिले पनि त्यस्ता घट्ना पुनरावृत्त हुन थालेकोतर्फ प्रहरी नेतृत्व सजग हुन थालेको छ । त्यतिबेला प्रहरी हवल्दार सुन्तली धामी जिल्ला प्रहरी कार्यालय अछाममा कार्यरत रहि आइरहेकोमा २०६६ असोज ११ गते राती हबल्दार मेजर वीरेन्द्र बम, प्रहरी हवल्दार करबीर बीरादत्त बडू, दानसिंह भण्डारी,प्रहरी जवान, नरिमान महत्तरा र जगदिश पाण्डेले सामूहिक बलात्कार गरेका थिए । पछि उनीहरु विरुद्ध सबैलाई मुद्धा लागेको थियो ।




