ताजा समाचार

नेकपाको एमसीसी अध्ययन कार्यदल अलपत्र

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे स्पष्ट हुन बनाइएको कार्यदल अलपत्र परेको छ । कार्यदलका संयोजक झलनाथ खनालले पार्टी महासचिव विष्णु पौडेललाई पत्र लेख्दै सरकारले असहयोग गरेको जनाएपछि कर्यदल आफै अलपत्र परेको हो । कार्यदल स्रोतका अनुसार सरकारले असहयोग गरेको भन्दै संयोजक खनालले एमसिसी सम्झौताको सम्पूर्ण प्रतिलिपी उपलब्ध गराइदिन पार्टी महासचिव विष्णु पौडेललाई पत्र लेखेका छन् ।

कार्यदलले पटक पटक सम्झौतासम्बन्धी कागाजात माग्दा परराष्ट्र मन्त्रालय र अर्थमन्त्रालयले उपलब्ध नगराएको सो पत्रमा उल्लेख छ । माघ १५ देखि १९ सम्म बसेको नेकपा केन्द्रीय कमिटीको बैठकमा अधिकांश सदस्यहरु त्यसको विपक्षमा उभिएपछि पार्टीले त्यसबारे स्पष्ट हुन कार्यदल बनाएको थियो । पार्टीले बनाएको कार्यदलले परराष्ट्र मन्त्रालय र अर्थमन्त्रालयसँग सम्झौताको प्रतिलिपी माग गरेको थियो । सो कार्यदलको संयोजकमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्यद्वय भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञावाली रहेका छन् । परराष्ट्रमन्त्री आफै कार्यदलमा हुँदा पनि कार्यदलले सम्झौतको प्रतिलिपी उपलब्ध भएको छैन । प्रदीप ज्ञावाली हाल बंगलादेश भ्रमणमा रहेका छन् । कार्यदलका संयोजक खनालले मन्त्री ज्ञावालीलाई पनि कार्यदलमा पटक पटक त्यसको सम्झौता प्रतिलिपी ल्याइदिन आग्रह गरेका थिए ।

तर उनले प्रतिलिपी ल्याउनको साटो मन्त्रालयले त्यस्तो प्रतिलिपी उपलब्ध गराउन नसक्ने जनाएको स्रोतले बतायो । पछिल्लो पटक पार्टीले कार्यदलको म्याद थप गर्ने वा नगर्ने कुनै जानकारी नपाएपछि कार्यदलका सदस्यहरु प्रतिवेदन लेख्न जुटेपछि सम्झौताको प्रतिलिपी मागेको थियो । कार्यदलका संयोजक तथा नेकपाका वरिष्ठ नेता खनालले १० दिनको समय अपुग भएकाले पुनः १० दिनको समय दिन पार्टी नेतृत्वसँग माग गरेपनि कुनै पनि जवाफ पाएका छैनन । गत माघ १९ गते गठित अध्ययन कार्यदलको १० दिनको समय माघ २९मा सकिएको हो । कार्यदलका संयोजक खनालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर कार्यदलको समय थप गर्न माग गरेका थिए । तर पार्टीले समय पनि दिएको छैन कार्यदलले प्रतिवेदन पनि बुझाएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *