ताजा समाचार

एकिरणपछि नेकपाले आजबाट सातै प्रदेशमा सभा गर्दै

काठमाडौं।पार्टी एकिकरणको दुई वर्षपछि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आजबाट सातै प्रदेशमा सभा र बैठक आयोजना गर्दैछ । फागुन ४ गतेदेखि २१गते सम्म सातै प्रदेशमा सभा र बैठक गर्ने कार्यतालिका पार्टी केन्द्रीय कार्यालय पठाइसकेकाले आज बुटवलबाट सभाको शुरुवात गर्ने भएको हो ।

दुई दिन अघि जारी गरेको अन्तरपार्टी निर्देशिका (अपानी)मा सभा र बैठक गर्ने जानकारी गराइएको थियो । त्यस लगत्तै पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालको सहमतिमा महासचिव विष्णु पौडेलले सबै प्रदेशलाई कार्यतालिका सहितको निर्देशन पठाएका थिए । पार्टी अभियानको लागि नेकपाले प्रमुख नेताहरुलाई जिम्मेवारी तोकेको छ । पार्टी केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार सातै प्रदेशका भेलामा दुबै अध्यक्ष आउने गरी प्रदेशलाई सूचित गरिएको छ । प्रधानमन्त्री रहेका अध्यक्ष केपी ओली स्वास्थ्यका कारण सबै कार्यक्रममा जान सम्भव नभए पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने सबै कार्यक्रममा सहभागी हुने तयारी गरिएको छ ।

केन्द्रीय कार्यालयका सचिव इश्वरी रिजालका अनुसार बरिष्ठ नेता माधवकुमार नेपाल प्रदेश दुई र बागमती, अर्का बरिष्ठ नेता झलनाथ खनाल गण्डकी र कर्णाली, उपाध्यक्ष वामदेव गौतम प्रदेश दुई र सुदूरपश्चिम, प्रवक्ता नारायणकाजी श्रेष्ठ गण्डकी र कर्णाली, सचिवालय सदस्य ईश्वर पोखरेल प्रदेश दुई र वागमती, सचिवालय सदस्य रामबहादुर थापा प्रदेश एक र पाँच तथा महासचिव विष्णु पौडेल प्रदेश एक र पाँचमा प्रमुख वक्ताका रुपमा सहभागी हुने सचिवालयले जानकारी दिएको छ । ४ फागुनमा प्रदेश ५ को बुटवलबाट सुरु हुने सभा २१ फागुनमा प्रदेश १ को विराटनगरमा समापन हुनेछ । उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय विशेष कमिटीको पनि छुट्टै भेला गर्ने नेकपाको तयारी छ । नेकपाले फागुन ४ र ५ गते प्रदेश पाँच, फागुन ६ र ७ गते कर्णाली, फागुन ९ र १० गते प्रदेश दुई, फागुन १२ र १३ गते गण्डकी र फागुन १५ र १६ गते वागमती, फागुन १८ र १९ गते सुदूरपश्चिम र फागुन २० र २१ गते प्रदेश एकमा प्रदेश कमिटीका बैठक तथा भेलाहरु आयोजना गर्दैछ ।

पार्टी एकतापछि केन्द्रीय योजना अनुसार बृहत् कार्यकर्ता भेला र प्रशिक्षण हुन लागेको पहिलो पटक हो । केन्द्रीय कमिटीको बैठकले सरकार पार्टीको सम्बन्ध सुमधुर बनाउन विशेष अभियान शुरु गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार फागुन ४ गतेबाट अभियानको शुरुवात गर्न लागेको केन्द्रीय कार्यालय सचिव रिजालले जानकारी दिए । उनका अनुसार यो अभियानभित्रै नेकपाले दुई पार्टीका सदस्यहरुको सदस्यता नविजकरण, बैठक, भेला, सम्पर्कमञ्च गठन जस्ता कार्यलाई पनि सँगै अघि बढाउनेछ । अभियान सकिएपछि जेठ असारमा समीक्षा बैठक आयोजना गर्ने र त्यसअघि स्थायी कमिटीको बैठक गर्ने योजना बनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *