काठमाडौं । गृहमन्त्री र उच्च सुरक्षा अधिकारीहरुवीच प्रतिबन्धित नेकपा विप्लव समूहको गतिविधि बारे चर्चा भएको छ । पछिल्लो शान्ति सुरक्षाको अवस्थालाई लिएर गृहमन्त्रालयमा विहिबार साँझ बसेको सुरक्षा समितिको बैठकमा विप्लव समूहको गतिविधिबारे चर्चा भएको हो ।
सुरक्षा अधिकारीहरुले विप्लव समूहको गतिविधि निस्तेज हुँदै गरेको बताइरँहदा फागुन १ गते प्रकासित भएको नेत्रविक्रम चन्दको अन्र्तवार्ताले समेत बैठकमा प्रवेश पाएको स्रोतले जनाएको छ । ‘हामी अझै बलियो भयौ भन्ने भनाई आएका छन् गतिविधिको बारेमा बताउनुस’, बैठकमा गृहमन्त्री थापाले भनेका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका प्रतिनिधिहरु सहभागी सो बैठकमा महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विश्व पोखरेल पनि सहभागी भएका थिए ।
गृहमन्त्री थापाले डिआइजी पोखरेललाई लक्षित गर्दै राजधानीमा कस्तो छ उनीहरुको गतिविधि भनेर प्रश्न गरेका थिए । तर त्यसबारे कुनै सूचना नभएका डिआइजी पोखरलले भ्यालीमा कुनै पनि घट्ना हुन नदिने भन्दै पन्छिएका थिए । प्रहरी प्रधानकार्यालय विशेष व्यूरोको तर्फबाट विप्लव समूहको गतिविधिबारे व्रिफिङ गरिएको थियो भने राष्ट्रिय अनुसन्धान विभागले पनि आफ्नो रिपोर्ट पेश गरिएको थियो । फागुन महिनाभर विप्लव समूहले जनयुद्ध मनाउने नाममा कही न कही विस्फोटक गतिविधि गर्न सक्छन भन्ने उदेश्यका साथ गृहमन्त्रालयले सुरक्षा सर्तकता अपनाउन सुरक्षा निकायलाई निर्देशन दिने उदेश्यले सो बैठक आयोजना गरिएको बताए ।
बैठकमा मन्त्री थापाका अतिरिक्त गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानीरिक्षक ठाकुर ज्ञावाली, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल, अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्व पोखरेलसहित काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी सहभागी थिए । मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव केदारनाथ शर्मा पनि थिए । प्रवक्ता समेत रहेका शर्माले गृहमन्त्रालयका यस प्रकारका बैठक भैरहनुलाई अन्यथा मान्न नहुने बताए । ‘मन्त्रालयमा सुरक्षा निकायसँग बैठक भैरहन्छन तर बैठक के हुन्छ भनेर सबै सार्वजनिक गर्न आवश्यक हुँदैन’, प्रवक्ता शर्माले भने ।
गृहमन्त्री थापाले छलफलका क्रममा सुरक्षा निकायका प्रमुखसँग सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए । त्यसपछि उनले देशैभरका मातहतका कार्यालयलाई सुरक्षा व्यवस्थामा कडाइ गर्न निर्देशन दिएका थिए । गृहमन्त्री थापाले काठमाडौं उपत्यकालगायत देशभरको सुरक्षा व्यवस्था थप मजबुत बनाउन सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका हुन । उनले देशभरनै सुरक्षा व्यवस्था मजबुद बनाउन निर्देशन दिदै विगतमा मन्त्रालयले हासिल गरेको सफलतासँग सुरक्षा निकायको भूमिका रहेकाले यसबर्ष पनि त्यसलाई कायमै राख्न निर्देशन दिएका थिए ।




