सिजोहरु
१.
पिउँदै जाँदाखेरी बेहोशीमा फसिएछ
उठेर हिँड्न लाग्दा घोप्टोपरी रुवाबासी
इज्जत धूलोमा मिल्दा कालो-निलो भएको ।
२.
नसालु आँखा तिम्रो हेराइमा घुस्यो मन
पिरती साट्नलाई इच्छा जाग्यो आफैबाट
आवाज ननिस्केपछि सकिएन जोडिन ।

३.
हिउँदे न्यानो घाम सबैलाई अति प्यारो
बिहानी आगमन खुसीयाली सबैतिर
सूर्यास्त हुन खोजेको चिसोपन आफैमा ।
४.
जिन्दगी क्षणिकता बाँच्नुपर्छ हासीखुसी
रिसले शत्रु बढ्छ भलो हुन्न कसैलाई
मिलेर बसिबियाँलो आत्मीयता सबैमा ।
५.
संसार चिहाउँदा दुइदिने घामछाया
अडान लिइबस्दा उमेरले नेटो काट्यो
बुझेर जीवनलाई अघि बढ्दा सुगन्ध ।
६.
समाजमा बेतिथिमा अत्याचार बढ्दै गयो
भएन नियन्त्रण डरलाग्दो परिवेश
झस्किन्छु छाया बढेर आफैदेखि डराए ।
७.
बाध्यता भएपछि मौनताले लघारेको
नियति समयको पार्नुपर्छ खाल्डोभित्र
अँध्यारो बज्रिएपछि कालो भुँइ तर्सेछ ।
८.
सम्झिन्छु हृदयमा गुम्सिएका इच्छाहरु
जमेको पोखरीमा थुप्रिएको गन्धहरु
रासले जबरजस्ती थिचेपछि झस्केछ ।
९.
आउँछ आँधिबेरी नदेखिने बहानामा
मनका रहरमा नजिकिँदा लिसोसरि
स्वार्थले लत्याएपछि मर्किएको भरोसा ।
१०.
कमाएको समयमा स्वार्थपूर्ति गरिएन
भएर एकलब्य बन्दै गर्दा सोझो बाटो
ढुकेर बलमिचाइ थेग्रिएछु पिँधमा ।
११.
शङ्कालु सानो मन कुरा धेरै बाटो छेक्ने
सोचाइ आफै जल्छ सल्किएर तातेपछि
पीडाले झाङ्गिएपछि समालिन नसक्ने ।
१२.
आँखाले तान्दाव तान्दै घिसारेर फालिएको
एक्लैले भेटेसम्म वामे सर्दै किनारामा
ब्रह्माण्ड परिवर्तन आधिवेरी पछार्दै ।




