यथार्थ
सोच्छु जति सोचाई छरिन्छन् मति । मति छरिए पछि हुने त्यही हो -दिमागको खलबली । खलबल अन्तरमाथी थपिन्छ त्यो भन्दा चर्को बाह्यन्तर ह्वायँ…. ह्वायँ थर्कन्छ मुटु । वाइकको कर्कश । दिमाग गर्दछ सोचकै सर्कस । ए बाबा यहाँ छ कि छैन दिने वाचा त छ पक्कै । मिठो बोली झरिरहेछ झरर झरर । अस्तित्वको आभास छ तर सादृश्य छैन । अदृश्यको अवस्था अनि पहिचान के हो ? अथाहमा गाता लगाएर पनि अहँ पाउन सकिने छँदै छैन । सुरक्षा प्रत्याभूतिको घैँटाहरुको ट्याङटुङ ट्याकटुक आवाज सुन्दछु लगतै ढ्याम्म कानको जाली नै फुट्ला जस्तो आवाज बज्रिन्छ । कल्पना तरङ्ग मोडिन्छ । प्रलय भूकम्पका पूर्वालक्षण म मा विजुली चम्के झैँ चम्किन्छ । म भित्रै साम्यक अन्तर कुन्तरमा लुक्न पुग्दछे टाँसिन्छे धमनीभित्र । म सान्त्वना दिँदै साहस गर्न भन्छु उनी भन्छे “तिमी पनि यो दुस्साहस गर्दै नगर स्व अस्तित्वको खयाल छ भने ।

शून्य ?
बस्ती बाक्लै छ । हिँडडुल थुप्रै छन् । कोलाहाल स्वभाविकै छ । तर म सँग म छैन । अरु कोही आफ्नो हुने कुरै भएन । नहुँदामा पनि मौन छायाँहरु ओहोर–दोहोर गरिरहेका छन् । कुरागर्ने कोसँग ? बोल्छु आफैँसँग, आफू पनि मौन । प्रभाव यो के हो ? वातावरणको ? प्रतिविम्वको ? विम्व संकेत यो केको ? सोध्ने कोसँग ? जवाफ दिने कसले ? सम्पूर्णमा शून्य म शून्य । जगत् शून्य । ब्रहृमाण्ड शून्य । शून्यमा आवाजहीन आवाजमा खोजी यौटा सार्थकता वा निरर्थकता प्रश्नै प्रश्न…अनुत्तरित प्रश्न ।




