ताजा समाचार

प्रधानसेनापति थापाको अभिव्यक्तिले प्रधानमन्त्री कार्यालय र रक्षा मन्त्रालयमा खैलाबैला

काठमाडौं।प्रधानसेनापति पूर्ण चन्द्र थापाले दिएको एउटा अभिव्यक्तिले अहिले रक्षा मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा बहसको विषय बनेको छ । गत साता काठमाडौ बाहिर राष्ट्रिय एकता र पहिचना संकटमा पर्दे गएको बताएका थिए ।

प्रधानसेनापति थापाले यस्तो विषय आफ्नो मुखबाट किन अभिव्यक्त गरेका हुने भन्ने बारेमा सर्वत्र कौतुहता जन्मेको मात्र होइन रक्षा मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा यो विषयले बहस पाएको छ । बलियो सरकार भएको बेला थापाले यसो भन्नुका पछाडिको कारण के हो भन्दै खैलाबैला मच्चिएको छ । 

तेघरी ब्यारेक कैलालीमा आयोजित सुदूरपश्चिम क्षेत्रका पूर्वसैनिकहरूको सम्मेलनमा प्रधानसेनापति थापाले सेनाले राष्ट्रिय एकता कायम राख्ने संवैधानिक कर्तव्य पूरा गर्नेसमेत उल्लेख गरेका थिए । पछिल्लो परिस्थितिको विश्लेषण गर्ने क्रममा प्रधानसेनापतिले संकट कहाँबाट उत्पन्न भएको र कसले निम्त्याएको भन्नेबारे कसैको नाम लिएनन् । बरु थापाले नेपाली सेनालाई नेपाली राष्ट्रियताको प्रतीकका रूपमा व्याख्या गरे र एकता कायम गर्न संवैधानिक कर्तव्य निर्वाह गर्नेसमेत उल्लेख गरे । ‘नेपाली सेना राष्ट्रिय एकताको प्रतीक हो । पृथ्वीनारायण शाहको नेतृत्वमा एकीकृत नेपालीहरूको इतिहास हाम्रो राष्ट्रिय पहिचान हो । अहिले एकता पहिचानका बिषय ओझेलमा परेका छन्,’ प्रधानसेनापति थापाले भने, ‘एकता र पहिचान संकटमा पर्नु भनेको राष्ट्रिय सुरक्षा र विकासको बाधक हो । राष्ट्रिय एकता कायम राख्नु सेनाको संवैधानिक कर्तव्य हो ।’

थापले राजा पृथ्वीनारायण शाहलाई सेनाको संस्थापकका रूपमा पटकपटक उल्लेख गर्दै यतिवेला विखण्डनको विचारलाई परास्त गर्ने देशभक्ति विकास गर्न सेना सक्रिय रहेको बताए । ‘सेनाले इतिहासको सम्मान गर्न, विखण्डन परास्त गर्न र पर्यटनमार्फत देशको अर्थतन्त्र विकास गर्न एकीकरण पदमार्ग तयार गरिरहेका छौँ,’ प्रधानसेनापतिले भने, ‘नेपालको एकीकरणका सम्बन्धमा ऐतिहासिक पुस्तकको तयारीमा छौँ । यसका लागि इतिहासविद् र प्राध्यापकहरूको टिमले काम गरिरहेको छ ।’

सेनाले यसअघि पनि पटकपटक नेपाली सेनाको इतिहास प्रकाशित गर्दै आएको छ । सेनाले फागुन पहिलो साता पृतनापति सम्मेलन पनि आयोजना गर्दै छ । हरेक वर्ष शिवरात्रि (सेना दिवस) का अवसरमा आयोजना हुने सम्मेलनमा समसामयिक रणनीतिक परिस्थितिबारे पृतनापतिहरूले प्रस्तुतीकरण गर्नेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *