काठमाडौं।नेकपा अध्यक्ष पुष्पकमल दहालले दिएको विवादास्पद अभिव्यक्तिप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ती जारी गरेर प्रचण्डको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । प्रवक्ता शर्माले चार बुँदे विज्ञप्तीमार्फत प्रचण्डलाई जिम्मेवार रुपमा प्रस्तुत हुन सजग समेत गराएका छन ।
माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहको शान्तिपूर्ण अवतरण गराउन निर्णायक पहल गर्नुहुने शान्तिका नायक स्व.गिरिजाप्रसाद कोइरालाको जिम्मेवार र परिपक्व भूमिकालाई अर्थहीन ढंगले विवादित बनाउने प्रयत्न अराजनीतिक त छ नै आपत्तिजनक समेत भएको कांग्रेसको ठहर छ ।

फौजी आक्रमण अलि बढाइदिनुपर्यो र सदरमुकाम हान्नु पर्यो भनेर गिरिजाप्रसाद कोइरालाले दहाललाई यदि साच्चै भन्नुभएको हुंदो हो त त्यो संवादको कुरा कोइराला जीवित छंदैनै दहालले पक्कै सार्वजनिक पर्थो तर उहाँको निधन भएको यतिका बर्षपछि ऐतिहासिक तथ्यलाई तोडमरोड गर्ने ढंगले एक जिम्मेवार नेताबाट गैह्र जिम्मेवार अभिव्यक्ति आउनु दुखद भएको प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
ऐतिहासिक तथ्य यो हो कि माओवादीको हिंसात्मक आक्रमणबाट मुलुकलाई मुक्त गर्न कोइरालाले सहमति, सहकार्य र एकताको राजनीति अघि सार्नु भएको थियो । हिंसाको राजनीतिलाई सुरक्षीत अवतरण गराउन सफल ढंगले संयोजन र नेतृत्व गर्नुभएको नेताले नै हिंसात्मक आक्रमणका लागि प्रेरित गर्नुभयो भन्नू आफैमा विरोधाभासपूर्ण भएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । जिम्मेवार ढंगले कार्य गर्न कोइरालाले कुनै बेला दहाललाई दिनुभएको सुझाव सार्वजनिक रुपले स्मरण गराउंदै जिम्मेवार अभिव्यक्तिका लागी पनि कांग्रेसले प्रचण्डलाई सजग गराएको छ ।




