ताजा समाचार

कहाँ छन गृहमन्त्रीका भाई प्रहरीलाई नै थाहा छैन

काठमाडौं । संगठित अपराधमा पक्राउ परी धरौटीमा छुटेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशकुमार थापालाई थुनामा राख्न उच्च अदालत पाटनले आदेश दिएपछि उनी फरार भएको प्रहरीले जनाएको छ । उच्च अदालतको आदेश आएपछि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी)ले थापालाई खोजी गरेको भएपनि फेला पर्न सकेनन । सिआइवीले थापा विरुद्ध काठमाडौ जिल्ला अदालतमा संगठित अपराध मुद्दा चलाएको थियो । सो मुद्धामा जिल्ला अदालतले दिएको धरौटीमा राख्ने आदेशलाई पाटन उच्च अदालतले उल्ट्याएको हो ।

उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र श्रीमणकुमार गौतमको संयुक्त इजलासले थापालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले उनलाई गएको असोजमा एक लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । साधारण तारेखमा बस्न पाउँभन्दै थापाले उच्च अदालतमा दिएको निवेदनमा उपरनै न्यायधीशद्धयको इजलाशले धरौटीमा छाड्ने आदेश उल्टाएको हो।

केन्द्रीय कारगारमा रहेका गुण्डा नाइके समीरमानसिंह बस्नेतसँग मिलेर व्यवसायीलाई धम्क्याएर रकम असुलेको आरोपमा थापा पक्राउ परेका थिए । बस्नेत निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्या आरोपमा जेलमा छन् । थापासहितका ६ जनाले थुनामा रहेका विवादास्पद अभियुक्त बस्नेतसँग मिलेर व्यवसायीबाट रकम असुलेको अभियोग कायमै छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचन हत्याका एक अभियुक्त बस्नेतले जेलबाटै चलाएको असुलीसँग जोडेर प्रहरीले पक्राउ गरेको थियो ।

हुलाकी राजमार्ग निर्माणको ठेक्कामा बस्नेत समूहले पैसा असुली गर्न खोजेको थियो । पैसा नपाएपछि गौचनको ०७४ असोज २३ मा नयाँ बानेश्वरको शान्तिनगर ठूलो खरिबोटनजिक दिउँसै हत्या भएको थियो । सोही समूहसँगको मिलेमतो रहेको भन्दै गृहमन्त्री थापाका भाई नरेशसहित ६ पक्राउ गरेको थियो । उनीसँगै पक्राउ परेका पवन खड्का, वीरबल भट्टराई, सुरेन नगरकोटी बलामी, शैलेस प्रजापति र विनोद लामा भने पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । सो आदेशसँगै पाँचै जना आरोपित कारागार चलान भएका छन् भने गृहमन्त्रीका भाई नरेश थापा मात्रै धरौटीमा रिहा भएका हुन । सिआइवी उच्च स्रोतका अनुसार प्रहरीले उनी रहने आसपासमा खोजी गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *