काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली जनयुद्ध दिवसमा सहभागी भएनन् ।नेकपा र उसका भ्रातृ संगठनहरुले बिभिन्न कार्यक्रम गरी मनाउँदै गरेको २५ औं जनयुद्ध दिवसमा ओली सहभागी नभएका हुन् । नेकपा केन्द्रीय कार्यालयको आयोजनामा पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरिएको श्रद्धाञ्जलीसभा कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहभागी छन् ।
यसअघि नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले संयुक्त रुपमा सूचना जारी गरी ओली र प्रचण्ड दुवैको सहभागीतामा कार्यक्रम हुने जानकारी दिएका थिए ।ओली जनयुद्ध दिवसको अवसरमा अघिल्लो वर्ष आयोजना गरिएको कार्यक्रममा पनि सहभागी भएका थिएनन् । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीककरण भएपछि फागुन १ लाई जनआन्दोलन र जनयुद्धमा सहिद भएकाहरूको स्मृतिका रूपमा लिन थालिएको हो। गत वर्ष पार्टी महासचिव विष्णु पौडेलद्वारा जारी पत्रमा दुवै अध्यक्ष उपस्थित हुने भनिए पनि ओली भने सहभागी भएनन्। यो क्रम यसवर्ष पनि दोहोरिएको छ ।




