काठमाडौं । पार्टी एकता भएको दुई वर्ष पुग्न लाग्दा पनि पूर्व माओवादीले मनाएका विविध कार्यक्रममा नेकपाका अध्यक्ष केपी ओली सहभागी भएका थिएनन् । उनलाई पूर्व माओवादीले आयोजना गर्ने कार्यक्रममा जादैन भन्ने आरोप यतिबेलासम्म सत्य भएपनि आउदो फागन १ गते जनयुद्ध दिवससँगै मनाउने भएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जनयुद्ध दिवसको अवसरमा फागुन १ गतेलाई शहिद स्मृति दिवसको रुपमा मनाउने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको सहमतिका आधारमा तल्लो तहका कमिटीलाई जनयुद्ध दिवसलाई सहिद स्मृति दिवसको रुपमा मनाउन निर्देशन दिइएको हो । पार्टी एकिकरण भएपछि फागुन १लाई जनयुद्ध दिवसको स्थानमा शहिद दिवसका रुपमा मनाउने तयारी गरिएको हो ।
नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले अध्यक्षद्वयबीचको सहमतिका आधारमा फागुन १ लाई सहिद स्मृति दिवसको रुपमा मनाउने निर्णय गरिएको जानकारी दिए । उनले भने, फागुन १ लाई जनयुद्ध र जनआन्दोलनका सहिदलाई स्मरण गर्नेगरी सहिद स्मृति दिवसको रुपमा मनाउने सहमति भएको छ ।
त्यसैअनुसार तल्ला तहका सबै कमिटीले सहिद स्मृति दिवसको अवसरमा फागुन १ गते विभिन्न कार्यक्रम आयोजना गर्दैछन् । नेपाल कम्युनिष्ट पार्टी नेकपा बनेपछि तत्कालिन बिद्रोही नेकपा माओवादीले थालेको जनयुद्धलाई हेर्ने दृष्टिकोणमा एकरुपता थिएन् । अब भने जनयुद्ध र जनआन्दोलनका सहिदलाई स्मरण गर्नेगरी सहिद स्मृति दिवसको रुपमा मनाउने तयारी नेकपाले गरेको छ । पूर्वमाओवादीले जनयुद्ध दिवसको रुपमा मनाउने गरेको थियो भने पूर्वएमालेले जनयुद्धलाई भन्दा जनआन्दोलनलाई प्राथमिकता दिएको थियो । अध्यक्षद्वयबीचको सहमतिका आधारमा अब नेकपाले फागुन १ गतेलाई जनयुद्ध र जनआन्दोलनका सहिदको स्मरणगर्नेगरी औपचारिक कार्यक्रम गर्ने भएको छ ।




