ताजा समाचार

गृहमन्त्रीका भाई नरेशलाई पक्राउ गर्ने बाटो खुला

काठमाडौं । उच्च अदालत पाटनले गृहमन्त्री रामबहादुर थापाका भाई नरेशकुमार थापालाई थुनामा राख्न आदेश दिएको छ । थापाविरुद्धको ‘आपराधिक लाभ र संगठित अपराध’ मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेश उल्टाउँदै उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र श्रीमणकुमार गौतमको संयुक्त इजलासले थापालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको हो ।

यो आदेशसँगै प्रहरीले उनलाई पक्राउ गर्ने तयारी गरेको छ । ‘फिरौती’ उठाउने गिरोहसँगको मिलिभगतमा व्यवसायीलाई धम्क्याएर रकम असुलेको अभियोगसहित थापालगायत व्यक्ति पक्राउ गरी मुद्दा चलाइएको थियो । काठमाडौं अदालतका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले उनलाई गत असोज १ मा १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । थापासहितका ६ जनाले थुनामा रहेका विवादास्पद अभियुक्त समीरमानसिंह बस्नेतसँग मिलेर व्यवसायीबाट रकम असुलेको अभियोग थियो ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका एक अभियुक्त समीरमानसिंहले जेलबाटै चलाएको असुलीसँग जोडेर प्रहरीले पक्राउ गरेको थियो । गौचनको ०७४ असोज २३ मा नयाँ बानेश्वरको शान्तिनगर ठूलो खरिबोटनजिक दिउँसै हत्या भएको थियो । थापाले जेलमा गएर समीरमान बस्नेतसँग भेटघाट गरेको र उनीसँग मिलेर फिरौती रकम लिएको भन्दै प्रहरीले पत्राउ गरी जिल्ला अदालतमा पेश गरेको थियो । काठमाडौ जिल्ला आदालतले उनलाई धरौटीमा रिहा गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *