ताजा समाचार

मिठाइ खाँदै ओलीसँग वामदेवको डेढघण्टा एकल भेट, के-के भयो कुराकानी ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार विरामी अवस्थामा रहेकाले सार्वजनिक कार्यक्रम सबै रद्ध गरिएका । अपरान्ह भने विकास परिषदको बैठकमा सहभागी भए । त्यस लगत्तै नेकपाका उपाध्यक्ष वामदेव गौतमसँग भेटघाट गरे । वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपालसँग लामो संवाद गरेका प्रधानमन्त्रीले आइतबार उपाध्यक्ष वामदेव गौतमसँग पनि लामै छलफल गरेको वालुवाटार निकट स्रोतले जनाएको छ । त्यतिबेला प्रधानमन्त्री केपी ओलीले अलिक बढी थकानको महसुस गरेको वालुवाटार स्रोतले जनाएको छ ।
शनिबार राति गरिएको नियमित डायलाइसिस र त्यस अगाडीका केही दिनका दौडधुपले प्रधानमन्त्री ओलीलाई अलिक बढी थकान दिएकोले प्रधानमन्त्री सबै कार्यक्रम स्थगित गरी आराममा बसेको उनको सचिवालयले बताएको थियो । आइतबार नेकपाले पार्टी सचिवालय बैठक बोलाएको थियो । बिहान ११ बजे बोलाइएको सचिवालय बैठकबाट एमसीसी अध्ययन कार्यादलले गरेका अहिलेसम्मका कामको रिपोर्ट लिने, कार्यदलको म्याद थप गर्नेनगर्नेमा निर्णय लिने र पार्टी एकताका अन्य बाकी कामको प्रगति विवरणमाथि छलफल गर्दै थप केही निर्णय लिने तयारी नेकपाको थियो । तर प्रधानमन्त्रीले आफूलाई अलिक अस्वस्थ्य महसुस गरेको बताएपछि बैठक अचानक स्थगित गरिएको थियो ।
तर प्रधानमन्त्री निवासमा आराममा बसेका भनिएका प्रधानमन्त्रीले पार्टी नेताहरुसँगको भेटघाट र एउटा सार्वजनिक कार्यक्रममा भने आफुलाई सरिक गराएका थिए । राष्ट्रिय योजना आयोगको ४७ औं राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई केही बेर सम्बोधन गर्न पुगेका प्रधानमन्त्रीले दिउँसो केहीबेर पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डसँग भलाकुसरी गरेका थिए भने साँझ उपाध्यक्ष बामदेव गौतमसँग लामै छलफल गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । १९ माघमा गौतम पार्टी उपाध्यक्ष चयन भए लगत्तै प्रधानमन्त्री ओलीले उनलाई आफनो निवासमा बोलाएर मिठाई खुवाउँदै बधाई दिएका थिए ।गौतम निवासमै पार्टी शीर्ष नेताहरुको गत पुस २३ को भेलाले प्रधानमन्त्री ओलीलाई पार्टीमा कमजोर बनाएपछि ओली अहिले नेताहरुलाई फकाउने, गलाउने र आफनो पक्षमा मनाउने योजनामा लागिरहेका छन् ।
यही क्रममा उनले वरिष्ठ नेता झलनाथ खनालसँग तीन घण्टा, माधव नेपालसँग पनि चार घण्टा छलफल गरिसकेका छन् भने उपाध्यक्ष गौतमसँग पनि हिजो बेलुकी डेढ घण्टा लामो छलफल गरेका हुन् । संगठन विभागमा प्रमुख समेत रहेका उपाध्यक्ष गौतम पार्टी जिम्मेवारी सम्हालेपछि मधेसको पार्टीको आन्तरिक विवाद मिलाउन जाने भनिएपनि उनी मधेस झरेका छैनन् । प्रदेश २ को पाटी विवाद मिलाउन नेकपा स्थायी समितिले संगठन विभागलाई जिम्मा दिइसकेको छ । २० माघमा बसेको विभागको बैठकले प्रमुख र अर्का एक विभाग सदस्य मधेस जाने र मधेसको पार्टी विवाद समाधान नगरी काठमाडौं नफर्किने गरी निर्णय लिएको थियो । उनले मधेसको पार्टी समस्याका विषयमा आइतबार पनि विभागकै सदस्यद्वय अष्टलक्ष्मी शाक्य र मात्रिका यादव तथा नेता रघुविर महासेठसँग सामुहिक छलफल गरेका थिए । त्यसपछि उनी प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेको गौतम निकट स्रोतले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *