ताजा समाचार

नेपाल प्रहरीले सोमबार नयाँ आइजीपी पाउदै, मंगलबार खनालको विदाई हुँदै

काठमाडौं । ३० बर्षे सेवा अवधि हटाएर प्रहरीमा ३२ वर्षे बनाउने खेल सकिएको छ । सोमबार बस्ने मन्त्रिपरिषदको बैठकबाट प्रहरी महानीरिक्षक तय गर्ने कार्यतालिका तय भएको छ । त्यसै अनुसार प्रहरी प्रधानकार्यालयले विदाई र स्वागतको कार्यतालिका पनि तय गरिसकेको छ । यो वीचमा आइजीपीको कार्यवधि थप्ने हल्ला हल्लामै सिमित भएको छ । २९ माघबाट आइजीपी सर्वेन्द्र खनाल अवकाश पाउँदा उनका ब्याची तीन एआइजीपी र १८ डिआइजी घर जाँदैछन् । ३२ वर्ष बनाएर भएपनि आइजीपी बन्ने पुष्कर कार्कीको उद्देश्य पूरा हुन सकेन । खनालले थप छ महिना आइजीपी बनेर प्रहरी नेतृत्व लिने इच्छा राखेपनि प्रधानमन्त्री केपी शर्मा ओली तयार नभएपछि अन्नत उनीहरु विदा हुने भए ।

आइजीपीको कार्यकाल पाँच महिनामात्र भएको र दुईजना मात्र प्रतिष्पर्धी भएकाले खासै चासो भइरहेको छैन। डिआइजी वरियतामा आफ्नो ब्याचीमा अग्रपंक्तिमा रहेका ठाकुर ज्ञवाली आइजीपी हुने पक्का भएको छ । उनलाई सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले आइजीपी नियुक्त गर्ने तयारी अगाडि बढिसकेको छ । ज्ञवालीको ब्याचीपछि आइजीपी बन्नेले झण्डै दुई वर्ष नेपाल प्रहरीको कमान्ड गर्नेछ । जसमा शैलेश थापा क्षेत्री र हरि पाल मुख्य प्रतिष्पर्धी छन् । यी दुईमध्ये जसले एआइजीपी बन्ने मौका पाउँछ उही भावी आइजीपीको दौडमा अगाडि भइहाल्छ । त्यसैले पनि अहिले देखि नै थापा र पालबीच दौड चलेको छ । यस्तै अवस्था रहेमा थापा आइजीपी बन्ने निश्चितप्रायः भइसकेको छ । अख्तियारबाट गृहमन्त्रालयमा महेश्वर न्यौपानेको सरुवाले शैलेश थापा क्षेत्रीलाई लाभ पुगेको छ । दुवैको गृहजिल्ला भक्तपुर हो । तर, पाल नेपाल प्रहरीमा निकै खेल्न सक्ने उच्च प्रहरी अधिकृतका रुपमा परिचित छन् । उनले धेरै प्रतिष्पर्धीलाई उछिन्दै दुई नम्बर वरियतामा डिआइजी बढुवा हुन सकेका थिए । यसकारण पनि पाललाई पछाडि पार्न शैलेश थापा क्षेत्रीलाई ठूलो चुनौती छ ।

थापा र पालका ब्याचीका निरज शाही र प्रधुम्न कार्की पनि प्रतिष्पर्धीमध्येका हुन् । तर, कार्की डिआइजी बढुवामा पछि परिसकेका कारण उनी एआइजीमै सीमित हुनसक्छन्। पछिल्लो ब्याचका विश्वराज पोखरेल निकै चलाख प्रहरी अधिकृत मानिन्छन् । आफूभन्दा माथिल्लो ब्याचीलाई समेत पछि पार्दै पोखरेल डिआइजी बनेका थिए । उनी यही नियमावली अनुसार भविष्यमा छोटो समयका लागि आइजीपी बन्नेछन् । तर, पाँच महिनापछि नै आइजीपी बन्ने दौडमा पोखरेल लागिसकेका छन् । शैलेश थापा क्षेत्री र हरि पालको ब्याचीसँगै आफूपनि आइजीपीको प्रतिष्पर्धीका रुपमा उभ्याएका छन् ।

वर्तमान आइजीपी खनालले शैलेश थापालाई बढी रुचाएको देखिएकै हो । थापा आइजीपीको सचिवालयमा बसेर दुईपटक प्रवक्ता भए । विश्वराज पोखरेल पनि आइजीपी नजिक रहेर काम गरे । हरि पाल एक्सनमा जानसक्ने प्रहरी भएकाले आइजीपीले रुचाएकामा पर्छन् । तर, उनलाई धेरै नजिक राखेर काम गरेनन् । आफ्नो स्वभाव अनुसार आइजीपी खनालले सरल स्वभावकालाई नजिक राखेर काम गरे । खरो स्वभावकालाई भने टाढा पारेको विषय प्रहरीमा चर्चाको विषय बन्ने गरेको छ । यसैगरी, आइजीपी खनालले सेवानिवृत्त हुनुअघि कसैलाई नचिढ्याउने नीति बनाए । उनी सरुवा बढुवामा सक्रिय भएका छैनन् । सरुवा संशोधन मात्र गरे । खाली रहेको डिआइजी, एसएसपी र एसपी बढुवामा संलग्न रहेनन् । अब हुने आइजीपीले नै यसको टुंगो लगाउने गरी छाडिदिने बुझिएको छ । उनी यतिबेला देश दौडाहमा रहेका छन् । दशभर बन्न लागेका भवनको शिलन्यास गर्दै हिड्न थालेका छन् । सोमबार मात्रै काठमाडौमा आउनेछन् । मंगलबार प्रहरी प्रधानकार्यालयले उनको विदाई कार्यक्रम राखेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *