काठमाडौं । भूमिसुधार तथा व्यवस्था मन्त्रालयको निर्देशनमा डिल्लीबजार मालपोत कार्यालयले ललिता निवासका दुई जग्गाधनीको जग्गा सरकारका नाममा खिचेको छ । चौतर्फी विरोध र प्रश्न उठेपछि सरकारीकरण गरिएका जग्गाहरु नेकपाका महासचिव विष्णु पौडेलका छोरा नवीन र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको नाममा लालपूर्जा जारी गरिएका जग्गा सरकारको नाममा ल्याइएको हो । उनीहरुको हकमा मात्रै जग्गा फिर्ता भएको मालपोत स्रोतले बतायो।
ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको भ्रष्टाचार मुद्दामा यी दुईलाई मुद्दा नचलाइएको भन्दै विरोध भइरहेको छ। उनीहरुलाई अख्तियारका अधिकारीसँग जग्गा सरकारका नाममा गर्ने बताएपछि मुद्दा नचलाइएको अख्तियारले प्रेस विज्ञप्तिमा जनाएको थियो। डिल्ली बजार मालपोत कार्यालयले शुक्रबार उनीहरुको नाममा भएको लालपूर्जा खारेज गरी सरकारी बनाएको हो ।
अदालती प्रक्रियामा प्रवेश भएको विषयमा अदालतबाट टुंगोमा पुग्नुअगाडि नै हतारहतार जग्गा फिर्ता गर्नुले यो प्रकरणमा नेकपाका महासचिव विष्णु पौडेल पुत्र नवीन र न्यायाधीश रेग्मीको संलग्नता र अख्तियारको सफाई दिने निर्णय थप शंकामा परेको छ।अख्तियारको अभियोगपत्र नै अन्तिम हुँदैन। उसले गरेको मागदाबीलाई अदालतले अस्वीकार गरी जग्गा फिर्ता गर्ने सर्तमा प्रतिवादी नबनाएकालाई प्रतिवादी बनाउने आदेश दिन सक्छ। जग्गा नवीन र रेग्मीकै नाममा कायम हुनसक्ने आँकलन गरिएको छ ।




