अर्थ

एउटै मन्त्री परिषदका मन्त्री र सचिवलाई मुद्धा तर प्रधानमन्त्री र मूख्य सचिवलाई किन उन्मुक्ति ?

काठमाडौं।चर्चामा रहेको ललिता निवास प्रकरणमा केही व्यक्तिहरुलाई उन्मुक्ति दिएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले सदन र सडक आन्दोलन शुरु गरिरहेको छ । खासगरी नेकपाका नेता पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, सामाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र नेकपाका महासचिव विष्णु पौडेललाई माफी मिनाह दिएको भन्दै कांग्रेसले थालेको आन्दोलन एक प्रकारले हेर्दा सही देखिएको छ ।

एउटै मन्त्री परिषदमा मन्त्री र सचिवलाई मुद्धा तर प्रधानमन्त्री र मूख्यसचिवलाई किन उन्मुक्ति भन्ने प्रश्न यतिबेला कांग्रेसले मात्र होइन जनस्तरबाट पनि उठाइएको छ । पूर्व प्रधानमन्त्री नेपाल र भट्टराइकै पालामा मोहीको नाममा जग्गा गएको भएपनि अख्तियारले मन्त्रिपरिषदको निर्णयलाई हेर्ने अधिकार नभएको भन्दै पन्छिएको छ । त्यही मन्त्रिपरिषदमा रहेका विजयकुमार गच्छेदार र चन्द्रदेव जोशीलाई भने विगोसहित मुद्धा चलाइएको छ ।

पञ्चायतकालमा अधिग्रहण गरेर लिएको जग्गालाई ‘जफत’ गरेको भन्ने अर्थ लगाई डिल्लीबजार मालपोत कार्यालयले २०४९ सालमा दुई चरणमा १ सय १२ रोपनी ४ आना जग्गा राणा परिवारका नाममा फिर्ता गरेको थियो । फिर्ता भएकोमध्ये केही जग्गा ‘बकसपत्र’ गरी राणा परिवारले विभिन्न कार्यालयमा रहेका कर्मचारीको आफन्तका नाममा दिएपछि यसको । सीआईबीको प्रतिवेदनमा बिचौलिया प्रयोग गरी चार पटकमा ललिता निवासको जग्गा व्यक्तिले हत्याएको उल्लेख छ । त्यस क्रममा पटकपटक जग्गा नै घूसका रूपमा ‘बकस’ दिएको भेटिएको हो । ललिता निवास प्रकरणमा सीआईबीले गृह मन्त्रालयमा प्रतिवेदन बुझाइसकेपछि अख्तियारले छानबिन सकाएर विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

सुवर्णशमशेरका सन्तानहरू शैलजा राणा, हाटक र हेमनशमशेरले २०४९ सालमा डिल्लीबजार मालपोत कार्यालयबाट दुई चरणमा १ सय १२ रोपनी हात पारेलगत्तै वैकुण्ठ शर्मा रेग्मीका नाममा ‘हालैको बकसपत्र’ गरी १४ आना जग्गा दिएको भेटिएको थियो । हालैको बकसपत्र गर्नु भनेको आफनो स्वामित्वको जग्गा चाहेको व्यक्तिलाई बिना शुल्क तत्काल हक हस्तान्तरण गर्नु हो । शैलजा सुवर्णशमशेरका माइला छोरा कञ्चनशमशेरकी श्रीमती हुन् भने हाटक र हेमन उनका दुई छोरा हुन । रुक्मशमशेर सुवर्णका कान्छा छोरा हुन । सरकारी जग्गा व्यक्तिका नाममा दर्ता हुँदा राणा परिवारका यी नाम जोडिएका छन । बकसपत्रका नाममा शंकास्पद कारोबारसमेत यिनकै नामबाट भएको छ । करिब ६ कित्ता टुक्राको त्यो जमिन ११ वर्षपछि वैकुण्ठले सरला घले गुरुङलाई बेचेका थिए ।

ललिता निवासको जग्गा अनियमितता हुँदा डिल्लीबजार मालपोत कार्यालयमा प्रेमबहादुर खापुङ शाखा अधिकृत थिए । ११ आना र ५३ आना गरी कुल ६४ आनाको दुई कित्ता जग्गा तीनै राणा परिवारले भुवनकुमारी चापागाईं र उर्मिला शाहका नाममा ‘बकसपत्र’ गरिदिएका थिए । चापागाईं गृह मन्त्रालयका अवकाशप्राप्त सहसचिव गेहनाथ भण्डारीकी पत्नी हुन् भने शाह पूर्वसहसचिव एवं निर्वाचन आयोगका निवर्तमान आयुक्त सुधीर शाहकी पत्नी हुन। १९ नम्बरको कित्ताबाट १० आना जग्गा शैलजा, हाटक र हेमनले उर्मिला शाह र सोदाकुमारी चापागाईंका नाममा गयो । त्यतिबेला भक्तपुरको मालपोत कार्यालयका प्रमुख रहेका सुधीर शाहकी पत्नीका नाममा दोस्रो पटक जग्गा उपहारका रूपमा गएको हो ।

गृहका अधिकारी गेहनाथ भण्डारीले दोस्रो पटक पत्नीका नाममा नभई सासू चापागाईंका नाममा जग्गा राखिदिए । अर्को ३६ नम्बरको कित्ताबाट एक रोपनी जग्गा तीन राणा परिवारबाट उर्मिला शाह र भुवनकुमारी चापागाईंका नाममा गयो । भण्डारीको नाममा अख्तियारले मुद्धा दर्ता गर्यो तर सुधीर शाहलाई भने मुद्धा दर्ता गरेन । सीआईबीको छानबिन प्रतिवेदनले रामकल्याण अधिकारी र रामनाथ घिमिरेलाई बिचौलियाका रूपमा प्रस्तुत गरेको छ । अधिकारीले बकस गरी पाएको करिब ८ आना जग्गा २०६१ फागुनमा मीनबहादुर गुरुङलाई आफूले पाएजसरी नै बकस गरेर दिएका छन् । स्रोतका अनुसार घिमिरेले मोही छुटाइदिने नाममा राणा परिवारबाट थप केही जग्गा हात पारेको खुलेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *