काठमाडौ । आफूलाई ‘लिटिल बुद्ध’ दाबी गर्दै आएका रामबहादुर बम्जनलाई पक्राउ गर्ने प्रहरीको प्रयास अहिलेपनि असफल भएको छ । हत्या र बलात्कारको आरोप लागेका बम्जन सिन्धुलीस्थित आश्रममा रहेको थाह पाएपछि पक्राउ गर्न गएको प्रहरी रित्तै भएको छ । बम्जनलाई पक्राउ गर्न सिन्धुलीको आश्रम गएको प्रहरी टोलीले उनलाई फेला नपारेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता शैलेश थापा क्षेत्रीले बताए ।
‘सिन्धुलीसथ्त आश्रममा उनी भेटिएनन् । अन्य ठाउँको आश्रममा पनि खोजी गर्न काम भइरहेको छ’ क्षेत्रीले भने। बिहीबार जिल्ला अदालत सर्लाहीले बम्जनलाई अनुसन्धानका लागि पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो। सोही अनुसार पक्राउको तयारी गरेको प्रहरीले अहिलेसम्म उनलाई फेला पारेको छैन। बम्जनको आश्रममा गएका अनुयायीहरु बेपत्ता भएको खबर बाहिर आएसँगै प्रहरीले उनीमाथि अनुसन्धान सुरु गरेको थियो। केही अनुयायीले बलात्कारको आरोपसमेत लगाएका छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले बम्जनको सिन्धुपाल्चोक आश्रमस्थलमा पुगेर अनुसन्धान गरे पनि प्रतिवेदन सार्वजनिक गरेको थिएन। हराएका अनुयायीको हत्या गरेर शव गाडेको आशंकामा खोजी गर्दा एक खाल्डोमा नुनको पोका फेला परेको थियो। शव गाडेर चाँडो कुहाउन नुन हालेको प्रहरीको आशंका थियो। तर, कंकाल फेला परेको थिएन। बम्जनविरुद्ध बारा र मकवानपुरमा समेत उजुरी छ । यसअघि पनि प्रहरीले बम्जनको खोजी गरिरहेको थियो तर फेला पार्न सकेको थिए । पक्राउ पूर्जी जारी नभएसम्म प्रहरीलाई पक्राउ गर्न अप्ठ्यरो भएको थियो ।




