काठमाडौं।भारतीय जनता पार्टीका नेता विजय जोली हल्ला नगरीकन नेपाल आइपुगेका छन् । सुटुक्क नेपाल आएका उनले नेपालका राजनीतिज्ञहरुलाई गुपचुप रुपमा भेटिरहेका भएपनि मिडिया भने उनी आएका छैनन ।
नेपालको गुप्तचर विभागका अधिकारीहरुले उनलाई पछ्याइरहका छन। प्रधानमन्त्री केपी ओलीदेखि प्रतिपक्षी दलका नेता शेरबहादुर देउवासम्मलाई उनले भेटेको रिपोर्ट गुप्तचर विभागका अधिकारीहरुले पेश गरिसकेका छन् । उनले ब्यापारी चन्द्र ढकालको छोरीको विवाहमा सहभागी भई त्यही भोजको बहानामा नेकपाका अध्यक्ष प्रचण्ड, उपाध्यक्ष वामदेव गौतम लगायत नेताहरुसँग पनि भेटघाट गरेका छन् । उनी तीन दिन अगाडी काठामाडौं आएका हुन् ।
दुई वर्ष अगाडी पनि चैत तिरै उनको नेपाल भ्रमण भएको थियो । त्यसबेला एमाले माओवादीका बीचमा पार्टी एकता भईसकेको थिएन् । कुनै सार्वजनिक कार्यक्रम नबनाई काठमाडौं आएका जोलीले यहाँ राजनीतिक नेतृत्वहरुसँग गरेको भेटघाटलाई निक्कै अर्थपूर्ण रुपमा हेरिएको छ । भारतीय सत्तारुढ दलका नेताले गुपचुप काठमाडौंमा नेपालका नेताहरुसँग गरिरहेको भेटघाट र नेपाल भारतका बीचमा कालापानी, लिपुलेक र लिम्पियाधुरासम्मको सीमा विवाद चर्किएरहेका बेला जोलीको नेपाल भ्रमण चर्चामा छ ।
चन्द्रागिरी हिल्सका सञ्चालक समेत रहेका ब्यवसायी ढकालले आफ्नो छोरीको विवाहमा जोलीलाई निम्तो पठाएको बुझिएको छ । त्यही निम्तो मान्न आउने बहानामा उनले गुपचुप नेपाल आएर यहाँका राजनीतिक दलका नेताहरुसँग भेटघाट गरेको खुलेको छ । जोलीले मंगलबार प्रधानमन्त्री ओली र नेकपाका वरिष्ठ नेता माधव नेपालसँग भेटवार्ता गरेका थिए । आगामी फागुनमा सीमा विवादका सवालमा नेपाल र भारतका सचिव स्तरमा वार्ता हुन लागिरहेको छ ।
भारतले जारी गरेको राजनीतिक नक्सालाई नेपालले अस्वीकार गरिसकेको छ भने पहिलो पटक कुटनीतिक पत्र पठाएर लिम्पियाधुरासम्मको भू–भाग नेपालको भएको दाबी गरेको छ । त्यतिमात्र होइन, नेपालमा सरकारको नेतृत्व गरिरहेको दल नेकपाको १९ माघमा सकिएको पार्टी केन्द्रीय समिति बैठकले समेत सरकारलाई लिम्पियाधुरासम्मको भू–भाग समेटेर आफ्नो देशको नक्सा सार्वजनिक गर्न निर्देशन दिएको छ । पार्टीको निर्देशन अनुसार अहिले भूमि सुधार मन्त्रालय नयाँ नक्सा बनाउने क्रममा जुटिरहेको छ ।




