काठमाडौं । बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गा धितो राखेर भूमाफियाले विभिन्न १५ बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका छन् । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, शोभाकान्त ढकाल र रामकुमार सुवेदी तथा उनीहरूका परिवार र आधा दर्जन व्यापारिक घरानाले ललितानिवासको सरकारी जग्गा धितो राखेर १५ बैंक तथा वित्तीय संस्थाबाट दुई अर्ब ३० करोड रुपैयाँभन्दा बढी कर्जा लिएका हुन ।
२०६३ देखि २०७३ सालसम्मको अवधिमा उनीहरूले सरकारी जग्गा धितो राखेर कर्जा लिएका थिए । भूमाफिया र व्यापारीले नेपाल बैंक लिमिटेड, नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड, कैलाश विकास बैंक, लक्ष्मी बैंक, हिमालयन बैंक, युनिक फाइनान्स, बैंक अफ एसिया, नेपाल डेभलपमेन्ट एन्ड इम्प्लोइमेन्ट कमर्सियल प्रमोसन बैंक, आर्यतारा बचत तथा सहकारी संस्था, काष्ठमण्डप डेभलपमेन्ट बैंक, प्राइम कमर्सियल बैंक, किस्ट बैंक, यती डेभलपमेन्ट बैंक र आइएमई फाइनान्सियल इन्टिच्युसनबाट सो कर्जा लिएको देखिन्छ। यसमध्ये पछिल्लोपटक यती र महालक्ष्मी मर्ज भएर महालक्ष्मी विकास बैंक भइसकेको छ। यी बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा भूमाफियाले अन्यत्र जग्गा खरिदमै लगानी गरेका थिए । ‘ललितानिवासका तत्कालीन भोगाधिकारीबाट आफ्नो नाममा जग्गा ल्याएपछि गुरुङ, ढकाल र सुवेदी तथा अन्य व्यापारीले सेटिङमै करिब डेढ दर्जन बैंकबाट दुई अर्ब ३० करोड रुपैयाँ कर्जा लिएका हुन ।
यसमध्ये गुरुङ, ढकाल र सुवेदीका परिवारका नाममा मात्रै चारवटा बैंक तथा वित्तीय संस्थाले ६२ करोड ३७ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन्। बाँकी कर्जा अन्य व्यक्ति तथा संस्थाका नाममा प्रवाह भएको हो। यसैगरी भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङको परिवारले ललितानिवासकै जग्गा धितो राखेर लक्ष्मी बैंकबाट ४६ करोड रुपैयाँ कर्जा लिएका छन्। लक्ष्मी बैंकले मीनबहादुरकी छोरी कामनाका नाममा १४ करोड, छोरा कल्याणका नाममा १८ करोड र बुहारी सरलाका नाममा १४ करोड कर्जा प्रवाह गरेको छ। कामना पूर्वप्रधानसेनापति छत्रमानसिंह गुरुङकी बुहारीसमेत हुन्। यसैगरी हिमालयन बैंक लिमिटेडले संगीता कोठारी राखेचाका नाममा ललितानिवासले चर्चेकै जग्गा धितो राखेर तीन करोड ३१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। अनुसन्धानमा संलग्न अधिकारीका अनुसार अन्य व्यापारी र भूमाफिया गरी दुई दर्जन व्यक्तिका नाममा बाँकी कर्जा प्रवाह भएको छ। २०२१ सालमा सुवर्णशमशेर तथा उनको परिवारका नाममा भएको जग्गा सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको थियो।
यी हुन् कर्जा दिने बैंक :
- नेपाल बैंक लिमिटेड
- नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड
- कैलाश विकास बैंक लक्ष्मी बैंक
- हिमालयन बैंक
- युनिक फाइनान्स
- बैंक अफ एसिया
- नेपाल डेभलपमेन्ट एन्ड इम्प्लोएमेन्ट कमर्सियल प्रमोसन बैंक
- आर्यतारा बचत तथा सहकारी संस्था
- काष्ठमण्डप डेभलपमेन्ट बैंक
- प्राइम कमर्सियल बैंक
- प्रभु बैंक
- यती डेभलपमेन्ट बैंक
- महालक्ष्मी विकास बैंक
- आइएमई फाइनान्सियल इन्स्टिच्युसन तस्वीर : गुगल




