काठमाडौं।नेकपाका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख वामदेव गौतम मधेस झर्ने भएका छन् । प्रदेश नम्वर २ मा देखिएको पार्टी विवाद हल गर्नका लागि उपाध्यक्ष गौतम मधेस जान लागेका हुन।
अध्यक्ष प्रचण्डसँगै सिरहाको कार्यक्रममा पहिले पुग्ने र त्यसपछि उपाध्यक्ष गौतम भने प्रदेश २ का पार्टी संगठन भित्र देखा परेको अन्तरविरोध लगायतका विषयमा समस्या समाधानका लागि खटिने निर्णय संगठन विभागले गरेको छ । उपाध्यक्ष चुनिएसँगै उनले आफ्नै निवासमा माघ २० मा राखेको बिस्तारित संगठन विभागको बैठकमा नेता गौतमले आफैं मधेस जाने बताएका हुन् । उनलाई विभागले मधेसबाट प्रतिनिधित्व गर्ने संगठनको सदस्य बाहेक अर्को एक जना विभागका नेतालाई साथमा लिएर विवाद समाधानमा जान अधिकार दिएको थियो । त्यही अधिकार सहित गौतम अब मधेस झर्ने तयारीमा लागेका हुन् ।
गौतम त्यहाँको पार्टी विवाद समाधान गरेर मात्र अब काठमाडौं फर्किने योजनामा मधेस झर्ने तयारीमा लागेका हुन् । मधेसमा रहदा उनले आठ वटै जिल्लाका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव देखि प्रदेश पदाधिकारी, असन्तुष्ट नेता कार्यकर्ता सबैसँग सम्वाद गरी ठोस योजना बनाएर आउनेछन् । उनले अहिले चार दिनको कार्यक्रम मधेसमै रहने गरी बनाएका छन् ।मधेसमा नेकपाभित्र भाँडभैलो छ ।
अध्यक्ष केपी ओली र प्रदेश अध्यक्ष प्रभु शाहको समुह एकातिर र वरिष्ठ नेता माधव नेपाल र मात्रिका यादवको समुह अर्कोतिर रहेर अहिले मधेसमा पार्टी विभाजित भईरहेको छ । जसकाकारण एक पक्षले अर्को पक्षका निर्णय नमान्ने, एक अर्कोलाई कारवाहीको माग गदै केन्द्रमा उजुरी दर्ता गर्ने गर्दै आईरहेका छन् ।
प्रदेश अध्यक्ष प्रभु शाहले प्रदेशमा विवाद नभएपनि शीर्ष नेताहरुले नक्कली विवाद झिकेर काम गर्न असहज बनाईरहेको आरोप पार्टी बैठकमा लगाएका थिए । त्यो उनको वरिष्ठ नेता माधव नेपालप्रतिको आरोप थियो । वरिष्ठ नेता नेपालले पनि सार्वजनिक रुपमै प्रदेश २ को सन्र्दभमा अध्यक्ष प्रचण्डले दिएको निचोडमा असन्तुष्टि जनाईसकेका छन् । यही समस्याका बीच मधेस झर्न लागेका उपाध्यक्ष गौतमले कसरी काम गर्नेछन्, अहिले नेकपाभित्र चासोको विषय बनेको छ ।




