काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । पाँच दिनसम्म चलेको नेकपा केन्द्रीय कमिटीको बैठक सकिएलगत्तै प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओली र प्रचण्डबीच भेटघाट भएको हो ।
ओली र प्रचण्डबीचको भेटवार्तामा केन्द्रीय कमिटी बैठकको समीक्षा, एमसिसीका बारेमा निर्णय गर्न बनाइएको कार्यदल र पार्टी एकता टुङ्ग्याउने विषयमा छलफल भएको बताइएको छ । एमसीसी कार्यदलले तय गरेको कार्यक्षेत्रको बारेमा समेत छलफल भएको वालुवाटार निकट स्रोतले जनाएको छ । भेटघाटमा तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकता भई नेकपा बनेपनि पार्टीका कतिपय जनवर्गीय संगठनबीच एकता भइसकेको छैन ।
केन्द्रीय कमिटी बैठकको समापनका अवसरमा अध्यक्ष प्रचण्डले १५ दिनभित्र पार्टी एकता टुङ्ग्याइसक्ने बचन केन्द्रीय सदस्यहरुलाई दिइसकेका छन् ।ओली प्रचण्डको यो भेट निमित भएपनि केन्दीय कमिटी बैठकले तय गरेका विभिन्न निर्णयहरुलाई कार्यान्वयन गर्ने सम्बन्धमा पनि छलफल भएको स्रोतले जनाएको छ । त्यसैगरी प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाको बारेमा पनि खछलफल भएको थियो ।




