ताजा समाचार

गौतम उपाध्यक्ष भएलगत्तै दुई अध्यक्षसँग निवासमै पुगेर साटे खुशी

काठमाडौं । नेकपाको केन्द्रीय कमिटी बैठकले नेता वामदेव गौतमलाई पार्टी उपाध्यक्ष निर्वाचित गरेपछि एकै साथ दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालसँग भेटघाट गरेका छन् । आइतबार उपाध्यक्षमा निर्वाचित भएका गौतमले ओलीलाई भेट्न सोमबार विहान वालुवाटार पुगेका थिए भने ओलीसँगको भेटघाटपछि दाहाल निवास खुमलटार पुगेका थिए ।

गत असोजमै सचिवालयले उनलाई उपाध्यक्ष बनाउने, अध्यक्षहरुको अनुपस्थितीमा अध्यक्षको अधिकार, कर्तब्यको प्रयोग र पालना गर्ने, अध्यक्षलाई सघाउने र केन्द्रीय कमिटिले तोकेका अन्य कार्य गर्ने गरी केन्द्रीय कमिटीबाट अनुमोदन गर्ने गरी उपाध्यक्ष बनाउने निर्णय गरेको थियो । सचिवालयले गरेको त्यो निर्णय कार्यान्वयनमा आउन गौतमले ४ महिना कुर्नुप¥र्यो । पार्टीभित्र स्थायी समिति र केन्द्रीय कमिटीको बैठक बस्न नसक्दा गौतमलाई उपाध्यक्ष बन्ने बाटोमा तगारो लागिरहेको थियो ।

अन्ततः १५ देखि १९ माघसम्म चलेको केन्द्रीय कमिटी बैठकले केन्द्रमा पार्टी उपाध्यक्षको पद सिर्जना गर्ने गरी विधान संसोधन मात्र गरेन, त्यसमा सचिवालयकै निर्णयका आधारमा गौतमलाई उपाध्यक्ष बनाउने निर्णयलाई पनि सर्वसम्मत रुपमा पारित गरेको थियो । निर्वाचित भएपछि प्रधानमन्त्रीले पार्टी नेता तथा सांसदहरुलाई दिएको रात्री भोज अगाडी र पार्टी वैठक सकिए लगत्तै गौतमलाई बालुवाटारमा दुई अध्यक्षले भेटघाट गरेपनि गौतमले सोमबार विहान पनि दुवै अध्यक्षसँग भेटघाट गरेका थिए ।

अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष प्रचण्डले साँझ ५ बजेदेखि एक घण्टा छुटै भेट गरेका थिए । केन्द्रीय कमिटी बैठकवाट उपाध्यक्षमा सर्वसम्मत चयन भएपछि बैठक हलमै प्रधानमन्त्रीले प्रचण्ड र वामदेवलाई बालुवाटार आईहाल्न निम्तो गरेका थिए । त्यसपछि बैठक सकेलगत्तै प्रचण्ड र गौतम बालुवाटार पुगेका थिए । त्यसपछि भेट भएको थियो, तीन नेताका बीचमा झण्डै एक घण्टाको छलफल । त्यो छलफलमा दुवै अध्यक्षले गौतमलाई उपाध्यक्ष चयन भएकोमा बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *