रुक्मीणी सेढाईं
उपाध्यक्ष, राष्ट्रिय व्यवसायि महासंघ नेपाल
नेपाल राष्ट्रिय व्यवसायी महासंघ कस्तो संस्था हो, यसको विषयमा प्रकास पारिदिनुहोस न ?
नेपाल राष्ट्रिय व्यवसायी महासंघ साना तथा मझौला व्यवसायी संगठनहरुको छाता संगठन हो । मुलुकभर रहेका साना व्यवसायिक संगठन र संगठित रुपमा व्यवसाय गर्दै आएका संगठनहरुको संयोजन र सहकार्यमा यो छाता संठनको रुपमा गठन गरिएको हो । हालसम्म महासंघमा १९ वटा संगठनका करिव ६ सय प्रतिनिधिहरु सहभागी हुनुहुन्छ । झण्डै १० हजार साना व्यवसायी महासंघमा आबद्ध भइसकेका छन् । यो क्रम बढ्दै जाने छ । मुलुकभरका व्यवसायी संगठनहरु हाम्रो महासंघमा आवद्ध हुन सक्नुहुन्छ । हामी सवै व्यवसायी र संगठनलाई समेटेर अगाडि बढ्न लागि परेका छौं ।
महासंघको मुल लक्ष्य र उद्देश्य के हो ?
महासंघको मुख्य लक्ष्य र उद्देश्य भनेकै साना तथा मझौला र विभिन्न देशभरी रहेका साना व्यवसायी संगठनहरु र व्यवसायीहरुलाई एउटै छातामा संगठीत गरेर यि व्यवसायिक क्षेत्रमा देखिएका समस्या र अप्ठेराहरुलाई सम्बोधन गर्नु हो । व्यवसायिक क्षेत्रमा नयाँ—नयाँ सम्भावनाको खोजि गर्नु र व्यवसाय सहज, सुविधायुक्त झनझट मुक्त बनाउन तथा व्यवसायिले भोग्नु परेका विभिन्न समस्याहरुको अध्ययन गरी सवै मिलेर सामुहिक रुपमा समाधान तर्फ अगाडि बढ्ने हो ।
व्यवसायीक हकहित तथा सुरक्षाका साथै कसरी स्वदेशमै उद्यमशिलता विकास र रोजगारी सिर्जना गर्न सकिन्छ भन्नेमा पनि हामी जुटिरहेका छौ । सातवटै प्रदेशमा औधोगिक करिडोर स्थापना गर्नेदेखि लिएर सीप भएकालाई माथि ल्याउने तथा सीपमूलक तालिम केन्द्र स्थापना गर्नेसम्मको योजनामा महासंघके रहेको छ । राजधानीमा सुविधासम्पन्न होलसेल मार्केट नभइरहेको अवस्थामा काठमाडौ महानगरपालिकासँगको सहकार्यमा अत्याधूनिक सुविधासम्पन्न होलसेल मार्केट स्थापना गर्न पनि महासंघको योजना छ । सरकारी क्षेत्रबाट पनि सहज वातावरण निर्माण गराउने जस्ता व्यवसायिका हक हितका सन्दर्भमा काम गर्नु नै मुल लक्ष्य हो ।
महासंघले उद्देश्य पुरा गर्न कस्तो कस्तो कार्य गरिरहेको छ त ?
महासंघले अहिले मुलरुपमा देशभरका व्यवसायीलाई संगठित गर्न अभियान कै रुपमा हामी लागि परेका छौं । किन भने प्राय धेरै जसो व्यवसायिको समस्या मुल्यांकन गर्दा उस्तै खालको छ । सवै समस्याहरुलाई एकत्रित गरेर सरकार र सम्बन्धित पक्षसँग दरिलो ढंगबाट छलफल गरी उचित समाधान खोज्ने दिशातर्फ हामी अहिले अग्रसर भएका छौं । स्थानीय, प्रदेश र पटक पटक केन्द्रीय सरकार समक्ष व्यवसायिले भोगिरहेको दोहोरो करको समस्या, घरबहाल र घरबेटीसँगको झन्झटिलो अवस्था, तथा सडक÷फुटपाथ व्यवसायीमाथि हुने नगरपालिकाको मनोमानी व्यवहार लगायत थुप्रै समस्या समाधानका लागि डेलिगेसन र ध्यानाकर्षण गरिरहेका छौं । महासंघको महाधिवेशनले पारित गरेका मुद्धाहरुको कार्यान्वयन पक्षमा केन्द्रित हुने व्यवसायी र उद्योगीहरुले झेल्दै आएका समस्या समाधान, व्यापार घाटा कसरी कम बनाउन सकिन्छ भन्ने विषय तथा भन्सार सहजिकरण लगायतका विषयमा बृहत छलफल पनि गर्ने योजना छ । यसका अलावा अझै शसक्त रुपमा आवाज उठाउन महासंघ बलियो बनाउनु पर्ने अवस्था छ । यसकारण अहिले देशैभर संगठन विस्तारलाई हामीले जोड दिइरहेका छौं ।
सरकारसँग कस्ता मागहरु राख्नु भएको छ ?
हामीले मुलुभूत रुपमा व्यवसायिहरुले भोगिरहेको मागहरुलाई सरकारले उचित सम्बोधन गरोस् भन्ने चाहिरहेका छौं । किनभने मुलुकको समग्र विकास र आर्थिक उन्नतीको लागि व्यवसायिक क्षेत्रले पनि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । त्यसैले यस क्षेत्रले भोगेको समस्या सरकारको पनि हो भनेर समाधान र उचित विकल्प दिने दायित्व सरकार स्वयंको हुनुपर्छ । सरकार समक्ष हाल हामीले महासंघको तर्फबाट घरबहाल नीति तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने, भन्सारमा सबै व्यवसायीलाई पहुँच र सहजीकरण गर्नुपर्ने, ढुवानीमा भएको सिण्डिकेट प्रथा हटाउनुपर्ने, व्यावसायिक शिक्षा पाठ्यक्रममा समावेश गर्नुपर्नेलगायतका कुरालाई प्रमुख मुद्दाका रूपमा प्रस्तुत गरिरहेका छौं । यसैगरी धुवाँधुलो तथा फोहरमुक्त वातावरण कायम गर्नुपर्ने, लगानी सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने, लगानीमैत्रीय वातावरण निर्माण गर्नुपर्ने, न्यूनतम ब्याजदरमा व्यवसायी ऋण उपलब्ध गराउनुपर्ने, युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्नुपर्ने लगायतका समस्यालाई समेत हामीले जोडतोडका साथ उठाउँदै आएका छौं ।
सरकारले महासंघ र समग्र व्यवसायीलाई कसरी हेरिरहेको छ ?
सरकारले उचित रुपमा व्यवसायीहरुलाई सम्बोधन गरेको छ भन्ने अवस्थामा हामी छेनौं । किनभने हामीले भोगिरहेको तमाम समस्याहरु समाधान गर्न सरकारले लचिलो भएर सोच्नुपर्ने हुन्छ । अहिले देशमा राजनैतिक परिवर्तन भई स्थिर सरकार निर्माण भइसकेको अवस्था हो । तर,साना तथा मझौला उद्यागी व्यवसायीहरुका समस्याहरु समाधानको लागि ठोस कदम ेचालिएको छैन । सरकारले आफैं उचित वातावरण निर्माण गर्नुपर्नेमा हामीले उल्टै माग राखेर आन्दोलन गर्नुपर्ने, विरोध गर्नुपर्ने जस्ता अवस्था छन् । व्यवसायीको काम व्यवसाय गर्नु हो । समस्या उठाएर आन्दोलन गरिरहनु पर्ने अवस्थाले हामी वर्वाद हुनसक्छौं । सरकारको ध्याय पनि व्यवसाय फस्टाओस भन्ने नै छ । व्यवसायी संगठनहरुलाई राजनैतिक तहबाट पनि समस्या समाधान गर्नको लागि आश्वासनमात्र बाँडिने गरिएको छ तर सोही दल सरकारामा भएको बेला हामी त्यही समस्याका लागि विरोधमा उत्रनु पर्छ । हामीले केही स्पष्ट मागहरु अगाडि सारेका छौं । देशको मेरुदण्डको रुपमा रहेको नेपाल–चीन सिमानामा हुने एकात्मक सिण्डिकेटको अन्त्य हुनुपर्ने, दोहोरो करको व्यवस्था हटाउनु पर्ने, पारवहन र ढुवानी सहज र सस्तो बनाइदिनु पर्ने यस्तै व्यवहारिक मागहरुनै हुन् ।
व्यवसाय क्षोत्रमा महिलाहरुको उपस्थिति र अवस्था कस्तो पाउनु हुन्छ ?
व्यवसायमा महिला वा पुरुष भनिरहनुपर्ने अवस्थामा छैन । किनभने व्यवसायमा महिलाहरुको उल्लेख्य उपस्थिति छ । थुप्रै महिला दिदीवहिनीहरु यस क्षेत्रमा धेरै सफल हुनुहुन्छ । सक्रिय हुनुहुन्छ । यस क्षेत्रमा थुप्रै महिलाहरु रोजगारीमा संलग्न भएर आफ्नो खुट्टामा उभिनु भएको छ । आयात निर्यात देखि व्यवसाय सञ्चालन र व्यवस्थापन मै किन नहोस् महिलाहरुको सक्रियता र क्रियाशीलता हेर्ने हो भने धेरै ठुलो छ । देशको व्यवसायिक क्षेत्रमा महिलाहरुले ठूलो योगदान पु¥याइरहनु भएको छ । अझ मेरो व्यक्तिगत धारणा भन्ने हो भने त यस क्षेत्रमा पुरुष वा महिलाको भेद गरिरहनु पर्ने अवस्था छैन । एकाध अवस्था महिलाहरुको लागि असहज होला । त्यो केही व्यक्तिगत सोचमा परिवर्तन नभएर हो । म आफै पनि सानो व्यवसायबाट यहाँसम्म आइपुगेको हो । अन्य महिलाहरुलाई पनि व्यवसायमा लागेर आफ्नो वृत्ति विकास गर्न म अनुरोध गर्दर्छु । अब हामी समानता तर्फ अगाडि बढीरहेको अवस्थामा पुरुष वा महिला नभनीकन नागरिक र समान नागरिक बन्नेतर्फ अगाडि बढौं । व्यवसायमा महिला सहभागीता उत्साहजनक छ । समग्रमा अवस्था राम्रो छ । महिलालाई व्यवसायमा अझ प्रोत्साहन दिएर अगाडि बढाउनु पर्छ ।
तपाईं समाजिक क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ यस विषयमा केही बताई दिनुहोस् न ?
सामाजिक क्षेत्र भन्नाले म केही सामाजिक संस्थाहरुमा आवद्ध रहेको छु । धार्मिक तथा सेवामुलक तथा वाल आश्रम जस्ता संस्थाहरुमा आवद्ध रहेका आफूुले सक्ने सहयोग र सहकार्य गरिरहेको छु । हामी समाजमा बस्छौं यसकारण समाजका समस्याहरु र सामाजिक कार्यहरुमा सहकार्य गर्नु हाम्रो दायित्व पनि हो । व्यवसाययिक व्यस्तताबाट केही समय निकालेर सामाजिक कार्यक्रमहरुमा पनि सहभागी भइरहेको हुन्छु । विशेषगरी शैक्षिक क्षेत्र र शैक्षिक गतिविधिहरुमा म बढी सहभागी हुने गर्दछु । विशेषगरी ग्रामिण भेगमा रहेका विद्यालयहरुमा गएर पनि सहयोग पु¥याउने कोशिस गरिरहेको छु ।




