ताजा समाचार

उत्साही केन्द्रीय सदस्यका लागि काम दिन राष्ट्रिय अभियान शुरु गरिने, यस्ताे छ तालिका

काठमाडौं। सत्तारुढ नेकपाले एकताको महाधिवेशन २०७७ साल चैत अन्तिम हप्ता गर्ने प्रस्ताव गरेसँगै नेकपाका केन्द्रीय सदस्यहरु उत्साही बनेका छन् । । बुधबारदेखि बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा २०७७ साल चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरेपछि केन्द्रीय सदस्यहरु त्यही मितिलाई सदर गर्ने पक्षमा देखिएका छन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रले २०७५ जेठ ३ गते एकता घोषणा गरेका थिए । अध्यक्षको राजनीतिक प्रतिवेदनमा ७७ चैत अन्तिममा महाधिवेन गर्ने प्रस्ताव गरिएको छ । एकताको दुई वर्षभित्र महाधिवेशन गर्ने भनिए पनि अध्यक्ष दाहालले अर्को वर्षको अन्तिममा महाधिवेशन गर्ने प्रस्ताव गरका हुन् । बुधबार सुरु भएको केन्द्रीय समिति बैठक आइतबारसम्म चल्नेछ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि २०७७ साल फागुन ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ । अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको ३५ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा महाधिवेशनको आधार तय गर्न आगामी फागुन १ गतेसम्म पार्टी एकता सुदृढिकरण, विकास तथा समृद्धिका लागि राष्ट्रिय अभियान गर्ने प्रस्तावसमेत गरिएको छ।

आगामी वर्ष फागुन १ देखि १५ गतेसम्म प्रदेश जिल्ला र स्थानीय कमिटी अधिवेशन सम्पन्न गर्ने, फागुन मसान्तसम्म जनवर्गीय संगठनको केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहमा कार्यकर्ता भेला र अभिमुखीकरण कार्यक्रम सम्पन्न गर्ने, चैतदेखि २०७७ वैशाखसम्म सदस्यता नविकरण गर्ने, जेठ मसान्तभित्र घरदैलो अभियान, पदयात्रा,कोणसभा लगायत कार्यक्रम सम्पन्न गर्ने कार्यतालिका प्रस्ताव गरिएको छ। यस्तै साउनको पहिलो सातासम्म गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगर तहका कमिटीले अभियानको समिक्षा गर्दै प्रतिवेदन तयार पारेर जिल्ला कमिटीमा पठाउने कार्यतालिका पनि प्रस्ताव गरिएको छ। साउनको दोस्रो सातासम्म जिल्ला कमिटीले प्रदेश कमिटीलाई र तेस्रो सातासम्म प्रदेशले केन्द्रीय कमिटीलाई प्रतिवेदन तयार पारेर पठाउने कार्यतालिका प्रस्ताव गरिएको छ। साउन महिनाको चौथो सातामा केन्द्रीय कमिटीले समग्र अभियानको समिक्षा गर्ने र प्रतिवेदन पारित गर्ने कार्यतालिका प्रस्ताव गरिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *